Comments Add Comment

चिनियाँ राष्ट्रपति सी काठमाडौं उत्रँदा देखिने ७ नयाँ दृश्य

२५ असोज, काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि काठमाडौंमा धेरै तयारी गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि जिनपिङ बस्ने सोल्टी होटलसम्म सडक कालोपत्रे गरेर चिल्लो पारिएको छ । सडकको दुई छेउमा रहेका बिजुलीका पोलहरुमा राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सीको फोटो झुण्ड्याइएको छ ।

चिनियाँ पाहुनालाई स्वागत गर्न ठाउँ–ठाउँमा स्वागतद्वार बनाइएको छ । सडकपेटीहरु रंगाइएको छ । सडक छेउमा फूल तथा बिरुवा रोपिएका छन् । यस्ता कार्य/गतिविधि विदेशी पाहुनालाई स्वागत गर्ने परम्परागत अभ्यास अन्तर्गत नै पर्छन् । तर यो पटक थप केही नयाँ दृश्यहरु पनि देखिनेछन् ।

१. स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं विमानस्थलमा

सी जिनपिङको स्वागतका लागि राष्ट्रपति विद्यादेवी भण्डारी आफैं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित हुनेछिन् । यसअघि १७ कात्तिक २०७३ मा भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल आउँदा उनलाई स्वागत गर्न पनि राष्ट्रपति भण्डारी विमानस्थल पुगेकी थिइन् ।

सीको स्वागतमा विमानस्थलमा प्रधानमन्त्री एवं मन्त्रिपरिषदका सदस्यहरु पनि उपस्थित हुनेछन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री र मन्त्रीहरुको परिचय गराउने छिन् ।

सीसँग विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का पोलिटब्युरो सदस्य तथा सीका सहयोगी दिङ सुइसियाङ, सिपिसीका विदेश मामला आयोगका निर्देशक याङ जेइची, सिपिसीका तिब्बत क्षेत्र हेर्ने सचिव यु यिङ जी लगायत नेपाल भ्रमणमा आउँदैछन् ।

२. विमानस्थलमै गार्ड अफ अनर

राष्ट्रपति सी लाई त्रिभुवन विमानस्थलमै नेपाली सेनाले गार्ड अफ अनर दिनेछ । यसअघि विदेशी राष्ट्रप्रमुख/सरकार प्रमुख आउँदा टुँडिखेलमा गार्ड अफ अनर (सम्मान गारत) दिने गरिन्थ्यो । तर, सुरक्षाका कारण सीलाई विमानस्थलमै गार्ड अफ अनर दिन लागिएको जनाइएको छ । सीको सम्मानमा २१ तोपको सलामी दिइनेछ ।

३. आकाश र सडक खाली

राष्ट्रपति सी शनिबार अपरान्ह भारतको चेन्नईबाट एयर चाइनाको बोइङ ७४७ बाट काठमाडौं उत्रनेछन् । सीको भ्रमण दलमा दुईवटा बोइङको प्रयोग हुनेछ । काठमाडौं उत्रने बेलामा शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्म विमानस्थलमा व्यवसायिक उडानहरु ठप्प हुनेछन् । आइतबार दिउँसो सी स्वदेश फर्कने बेलामा पनि केहीबेर उडान अवरुद्ध हुनेछ ।

सी काठमाडौं उत्रने बेलामा र स्वदेश फर्कने बेलामा काठमाडौं उपत्यकाका सडक पनि खाली हुनेछन् । ट्राफिक प्रहरीले चक्रपथभित्र ‘हेभी’ सवारीसाधनलाई प्रवेश निषेध गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले सर्वसाधारणलाई शनिबार र आइतबार जरुरी भए मात्रै निस्कन भनेका छन् । ट्राफिक महाशाखाले सर्वसाधारणसमक्ष ७ बुँदे अपिल जारी गरेको छ । जसमा पुराना, विग्रिएका र ढिलो चल्ने सवारीसाधान नचलाइदिन आग्रह गरिएको छ ।

सीको सवारीका क्रममा सर्वसाधारणका सवारीलाई पनि निषेध गरिएको छ । काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ भने सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।

४. सडक किनारामा निजामती कर्मचारी

सीको स्वागत र विदाइका लागि निजामती कर्मचारीहरुलाई राष्ट्रिय पोशाकमा सडकको किनारामा उभिन सम्बन्धित मन्त्रालयले निर्देशन दिएको छ । कर्मचारीहरुलाई माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सडकका दुबै किनारामा राष्ट्रिय पोशाक लगाएर उभिन भनिएको छ । यसका लागि शनिबार अपरान्ह ३ः४५ बजे र आइतबार ११ः१५ बजेको समय छुट्याइएको छ ।

शनिबार सार्वजनिक विदा । आइतबार पनि सी को स्वागतमा सार्वजनिक विदा दिइएको छ । सार्वजनिक विदा दिइए पनि निजामती कर्मचारीले सरकारको उर्दी मानेर सीको स्वागत र विदाइमा सडक किनारामा उभिनुपर्नेछ ।

५. सोल्टी होटल खाली

राष्ट्रपति सी जिनपिङको स्वागतका लागि सरकारले तीन दिन सोल्टी होटल बुक गरेको छ । सुरक्षाका कारण सर्वसाधारणलाई बस्न नदिने गरी शुक्रबारदेखि आइतबारसम्म होटलका सबै कोठा बुक गरिएको हो ।

सी शनिबार ५ बजेभित्र त्रिभुवन विमानस्थलमा ओर्लनेछन् । त्यहाँ गार्ड अफ अनर लिएपछि तीनकुने, नयाँ बानेश्वरको बाटो हुँदै सोल्टी होटेलमा पुगेर केहीबेर आराम गर्नेछन् । त्यसपछि साढे ६ बजे शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् र सोल्टी होटलमै फर्केर राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रीभोजमा सहभागी हुनेछन् ।

विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्ता, द्वीपक्षीय छलफल र विभिन्न सम्झौतापत्रहरुमा हस्ताक्षर हुनेछ । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष प्रचण्ड लगायतसँग भेटघाट गरेपछि दिउँसो १२ बजे चीन फर्कने कार्यतालिका छ ।

६.सीको सुरक्षामा चिनियाँ जनमुक्ति सेना

सीको भ्रमणलाई मध्यनजर गरी शनिबार बिहानैदेखि नेपाली सेना गस्तीमा खटिएको छ । फरक–फरक टोली बनाई सडकको विभिन्न भागमा सेनाका जवानले गस्ती गरिरहेका छन् ।

चिनियाँ राष्ट्रपतिको सुरक्षाका लागि चार तहको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र प्रहरी बल र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहनेछन् । सीको सुरक्षाका लागि चिनियाँ जनमुक्ति सेना समेत खटिनेछन् । उनीहरुसँग नेपाली सेनाले संयोजन गर्नेछ । सी को भ्रमण अबधिभर रहनेगरी चीनबाट ५० चिनियाँ जनमुक्ति सेना काठमाडौँमा छन् ।

७. तीनकुनेमा सेल्फी पार्क

त्रिभुवन विमानस्थलबाट सी बस्ने होटल सोल्टी जाने बाटोमा पर्ने तीनकुनेमा पार्क बनाइएको छ । सडकतर्फ माटोको अग्लो ढिस्को बनाएर भित्री क्षेत्र छेकिने गरी बनाइएको पार्कमा दुबो र बोटविरुवा सारिएका छन् । जहाँ केही पम्प्लेटहरु राखिएका छन् र लेखिएको छ, ‘सेल्फीको लागि स्वागत छ । तर, बिरुवाको होस् गर्नुहोला । तीनकुने ।’

सरकारले घर, टहरा र बसपार्क हटाएर पार्क बनाउनका लागि काठमाडौंको तीनकुने खाली गरेको दुई दशक नाघ्यो । तर, पार्क बन्न सकेको थिएन । सी आउने भएपछि रातारात पार्क बनाइएको छ । तर, यसपटक अत्याधुनिक पार्क नभएर अस्थाई प्रकृतिको पार्क बनाइएको हो ।

सी भ्रमणका मुख्य एजेण्डा

नेपालमा चिनियाँ राष्ट्रप्रमुखस्तरको भ्रमण २३ वर्षपछि हुन लागेको छ । पछिल्लो केही बर्षदेखि नेपालमा चीनबारे छलफल हुँदा सीको भ्रमण र चिनियाँ रेलको विषय प्रमुखताका साथ उठ्ने गरेको छ । सीको भ्रमण हुने निश्चित भएसँगै उनको भ्रमणमा रेलको विषयमा के होला भन्ने बिषयमा धेरैको चासो छ ।

केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन भइसकेको छ । यसको मोडालिटी तयार भइसकेको छ । चीनले दिने अनुदानको प्रतिशत के हुने भन्ने टुङ्गिन बाँकी छ । सीको भ्रमणमा नेपालले चिनसँग ५० प्रतिशत अनुदान माग्न लागेको जस्ता विषय पनि प्रचारमा छन् । जे होस् यो विषय सी भ्रमणको मुख्य एजेण्डा हो ।

यस्तै, काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तार तथा तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र आदान–प्रदान गर्न अर्को एजेण्डा छ । चीनले नै मदन भण्डारी प्राविधिक विश्वविद्याय बनाइदिने सहमति भइसकेको छ ।

चीनले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय बनाइदिने बिषयमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको चीन भ्रमणमा छलफल भएको थियो । गल्छी–केरुङ जलविद्युत प्रसारण लाइन निर्माणसम्बन्धी समझदारीको तयारी छ ।

कृषि र पर्यटनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेलगायतका तयारी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment