Comments Add Comment

लिखु तल्लो आयोजनाको ६० प्रतिशत काम सकियो

२५ असोज, रामेछाप । रामेछापको लिखु तामाकोसी गाउँपालिकामा निर्माणाधीन तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण करिव ६० प्रतिशत पूरा भएको छ ।

२८.१ मेगावाट क्षमताको सो आयोजना स्वेतगंगा हाइड्रो पावर एण्ड कन्स्ट्रक्सन कम्पनीले विभिन्न वित्तीय संस्थाहरुको लगानीमा निर्माण भइरहेको छ ।

आयोजनाका प्रतिनिधि वसन्त पौडेलका अनुसार अहिले लिखु खोला किनासरको ढाँडेस्थित ड्याम साइटमा वाँध, फिल्टर गर्ने स्थान तथा टनेल निर्माणको काम भइरहेको छ । ५ किलोमिटर सुरुङ खनी सैपु ढाँडेबाट बिजुलीकोटको रातमाटामुनि पानी खसालेर विद्युत निकाल्ने तयारी छ ।

पाँच किलोमिटर सुरुङ मार्गमध्ये २ हजार ७ सय मिटरभन्दा बढी सुरुङ खन्ने काम पूरा भइसकेको पौडेलले बताए । विभिन्न ६ स्थानबाट सुरुङ निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

२०७२ सालमा निर्माण सुरु भई २०७८ को मंसिर महिनामा विद्युत उत्पादन गर्ने लक्ष्य लिएको यो आयोजना निर्धारित समयमा नै सम्पन्न हुने निर्माण कम्पनीको दावी छ ।

आयोजना निर्माणको लागि लक्ष्मी बैकले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभू बैंकले ४० करोड र जलविद्युत् लगानी तथा विकास कम्पनीले ८० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । बैंक तथा वित्तीय संस्थाले गर्न लागेको ऋण लगानी कुल लागतको ७५ प्रतिशत हो ।

५ अर्ब ५९ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा १ अर्ब ४० करोड रुपैयाँ कम्पनी आफैंले लगानी गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment