Comments Add Comment

पद्मश्रीबाट महेश र रमेश सम्मानित, अर्को वर्षबाट पुरस्कार राशि ३ लाख

२७ असोज, काठमाडौं । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साधना सम्मान–२०७५ र पद्मश्री पुरस्कार वितरण गरेको छ ।

प्रतिष्ठानद्वारा कोजाग्रत पूर्णिमाको अवसर पारेर असोज २६ मा काठमाडौंमा आयोजित कार्यक्रममा पद्मश्री साधना सम्मान वरिष्ठ अध्येता एवं इतिहासकार डा. महेशराज पन्तलाई प्रदान गरियो । ६२ वर्षअघि संस्कृत वाङ्मयका सामग्री सङ्कलन सुरु गरेर आफ्नो खोज अध्ययनमा रुचि देखाएका पन्तले भाषा, साहित्य र इतिहाससम्बन्धी दर्जनौं पुस्तक लेखेका छन् । उनी नेपाली इतिहासको आधिकारिक पत्रिका मानिने त्रैमासिक पूर्णिमाका सम्पादक हुन् ।

पद्यश्री साहित्य पुरस्कार–२०७५ रमेश शायनको संस्मरणात्मक निबन्ध ‘छुटेको अनुहार’लाई प्रदान गरिएको छ । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले नेपाली वाङमयका साधक डा. महेश र युवा पुस्ताका प्रतिनिधि शायनलाई पुरस्कृत गरेर दुवै पुस्ताको संयोजन गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा दुवै पुस्ताका दर्जनौं लेखक, समीक्षक र पत्रकारहरू उपस्थित थिए । दुवै सर्जकलाई अभिनन्दनसहित प्रमाणपत्र र दुई/दुई लाख रुपैयाँ नगद पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा लामिछानेले अर्को वर्षदेखि लागू हुनेगरी पुरस्कारको राशि तीन लाख पुर्‍याइएको जानकारी पनि दिए । यो जानकारीले मदन पुरस्कार गुठीले पुरस्कारको राशि दुई लाखबाट बढाएर चार लाख पुर्‍याएपछि त्यस्तै प्रकृतिको पुरस्कार र सम्मान दिँदै आएको पद्मश्रीलाई पुरस्कारको राशि बढाउने दबाव परेको ठानिएको छ ।

पद्यश्री साहित्य पुरस्कार ०६३ मा मोफसलका उत्कृष्ट साहित्य सर्जकको कृतिलाई पुरस्कृत गर्नेगरी स्थापना गरिएको थियो । तर, ०६६ मा आफ्नो क्षेत्र विस्तार गर्दै यसल नेपाली भाषामा लेखिएका विश्वभरिका कृतिलाई समेट्दै आइरहेको छ ।

गत वर्ष डा. तारानाथ शर्मा र नयनराज पाण्डेले यो पुरस्कार प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment