Comments Add Comment

१३ कात्तिकबाट अनशन बस्ने डा. केसीको चेतावनी

२७ असोज, काठमाडौं । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेबाट अनशन बस्ने बताएका छन् । उनले माग पूरा गर्न कात्तिक ८ गतेसम्म (११ दिने)अल्टिमेटम दिएका छन् ।

सोमबार टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी डा. केसीले आफूसँग सरकारले विगतमा गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने बताए । उनले भने, ‘सम्झौता धेरै भए, तर कार्यान्वयन भएन ।’

डा. केसीले चिकित्सा क्षेत्रमा सुधार, नियुक्ति प्रणालीमा दलीय भागबण्डा अन्त्य हुनुपर्ने, विभिन्न आयोगले दोषी ठहर्‍याएकालाई कारवाही हुनुपर्ने, अबैध शुल्क लिने निजी मेडिकल कलेजका सञ्चालकलाई कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् ।

त्रिवि शिक्षण अस्पतालको सेवाबाट अवकासप्राप्त उनले अब कहाँ अनशन बस्छन् भन्नेबारे खुलाएका छैनन् । आफू नेपाली नागरिक भएकाले नेपालको जुनसुकै कुनाकाप्चामा पुगेर पनि अनशन बस्नसक्ने उनको भनाइ छ । सिंगो नेपालीको स्वास्थ्य र शिक्षाको लागि लडेकाले जहाँ गए पनि जनताले सहयोग गर्ने उनले बताए ।

‘नेपाली नागरिक भएकाले देशको जुनसुकै कुनाकाप्चामा पुगेर अनशन बस्न सक्छु’, केसीले अगाडि थपे, ‘नेपालीको स्वास्थ्य र शिक्षाका लागि लडेकाले जहाँ गए पनि जनताको सहयोग मलाई हुन्छ ।’

‘प्रधानमन्त्रीको उपचार माफियाको खर्चमा’

डा. केसीले सरकारले तोकिदिएको भन्दा बढी शुल्क असुल्ने मेडिकल कलेजहरुलाई फौजदारी मुद्दा लगाएर कारबाही गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार खर्च पारदर्शी हुनुपर्ने बताए । माफियाको खर्चमा प्रधानमन्त्री ओलीले आफ्नो उपचार गराइरहेको डा. केसीले आरोप लगाए ।

डा. केसीले भने- उनको (केपी शर्मा ओलीको) उपचार खर्चमा भएको लेनदेन पारदर्शी हुनुपर्छ । उनलाई जनताले चन्दा उठाएर उपचार खर्च जुटाउँथे, तर उनी माफियाको खर्चमा उपचार गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment