Comments Add Comment

भगिनी सम्बन्ध स्थापना भएको भोलिपल्टै चिनियाँ टोली बुटवलमा

२७ असोज, बुटवल । बुटवलसंग मैत्री सम्बन्ध कायम भएको मित्रराष्ट्र चीनको प्रमुख सहर सिआन सिटीको टोलीले बुटवलको अवलोकन भ्रमण गर्दै सहकार्यलाई उन्नत स्तरमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

सिआन नगर सरकारका विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वका त्यहाँको रेल–वे विश्वविद्यालय, सिआन विश्वविद्यालय, नगरको जनसरकार, संस्कृति तथा पर्यटकीय सरकारी कम्पनीका अधिकारीहरुको विशेष टोली बुटवलमा आएको छ ।

रेल, संस्कृति एवम् पर्यटनका बारेमा जानकार विशेषज्ञ तथा इन्जिनियरसहितको छ जनाको विशेष टोलीलाई सोमबार बुटवल उपमहानगरपालिकाले स्वागत गरेको थियो ।
टोलीलाई उपमहानगरपालिकामा स्वागत गर्दै प्रमुख शिवराज सुवेदीले बुद्धबलीको बुटवलको समग्र विकासका लागि आफुहरुले आवधिक र दीर्घकालीन महत्वका योजनाहरु बनाएको उल्लेख गरे ।

उनले चिनिया राष्ट्रपति सी को गृहनगरसंग बुटवलको भगिनी सम्बन्ध कायम गर्न पाउँदा समस्त बुटवलबासी नै उत्साहित भएको भन्दै सम्बन्धलाई समृद्धिको सारथीको रुपमा लिइने र बुटवल–सिआनको सांस्कृतिक आदान–प्रदान हुने बताए ।

सिआन नगर सरकारका मुख्य नेता तथा विदेश विभाग प्रमुख छ्याङ सङको नेतृत्वमा बुटवल भ्रमणमा आएको चिनिया उक्त टोलीमा सिआन विश्वविद्यालयका उपकुलपति थाओ होङ, सिआन नगर सरकारका नगर पार्टी को–अर्डिनेशन कमिटी अध्यक्ष टाइपाइफे, सिआन जनसरकारका विदेश विभागका आधिकारिक अनुवादक लुछ्यान तथा सिआनस्थित संस्कृति तथा पर्यकीय सरकारी कम्पनीका व्यवस्थापक तथा इन्जिनियर चाङ्पो र सिआन रेल–वे विश्वविद्यालयका उपकुलपति आङसेऊ सहभागी थिए ।

बुटवल भ्रमणमा आएको यो टोलीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, नेपाल–चीन सम्बन्धका जानकार तथा विज्ञ डा. सागर न्यौपाने र मोहनलाल भण्डारीले सहजिकरण गर्दै लुम्बिनी, बुद्धबली र बुटवलको सम्बन्ध तथा यहाको पर्यटकीय विकासका सम्भावनाका बारेमा तयार बुटवलका तर्फबाट जानकारी गराए ।

समझदारीमा हस्ताक्षर भएको भोलिपल्टै निरीक्षण

ऐतिहासिक बुटवल नगरी र मित्रराष्ट्र चीनको ऐतिहासिक सहर सिआन नगरीका बीचमा आइतबार काठमाडौंमा भगिनी सम्बन्ध स्थापना भएको थियो ।

यो सम्बन्ध बुटवलको विकास र समृद्धिका लागि महत्वपूर्ण खुड्किलो हुने विश्वास गरिएको छ । चीनको ऐतिहासिक नगरी सिआन सिटी त्यहाँका राष्ट्रपति सी को गृहनगर हो । मित्रराष्ट्र चीनका महामहिम राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणकै अवसरमा बुटवलका लागि यो ऐतिहासिक अवसर जुटेको थियो ।

समझदारीपत्र हस्ताक्षर भएको भोलिपल्टै सियान सहरका विशेष अधिकारीहरु बुटवलको अवलोकन भ्रमणमा आएका हुन् । उनीहरुले बुटवलको जितगढी सम्पदा स्थल, हिलपार्कको अवलोकन गरेका थिए । हिलपार्कमा बुटवलले बुद्धपार्क बनाउने तयारी गरिरहेको छ ।

बुद्धपार्कको अवधारणाका बारेमा बुटवलले उक्त टोलीलाई वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठलगायतका प्राविधिकहरुले चिनिया टोलीलाई प्रारम्भिक खाका समेत प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment