Comments Add Comment

सबैका प्रिय कप्तानले लिएको अप्रिय निर्णय

२८ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले फुकुवा गरेपछि खुशी भएका नेपाली क्रिकेटप्रेमीहरु भोलिपल्टै चिन्तामा परेका छन् । चिन्ताको कारण हो, राष्ट्रिय क्रिकेट टिमको कप्तानी त्याग्ने पारस खड्काको अप्रत्याशित निर्णय

आईसीसीले सुखद निर्णय लिएको भोलिपल्टै सबैलाई आश्चर्यमा पार्नेगरी पारसको अप्रिय निर्णय आएको छ । उनले यसअगाडि कप्तानी छाड्ने कुनै संकेत गरेका थिएनन् ।

नेपाली खेल क्षेत्रले पारस खड्का जति लोकप्रिय र सदाबहार खेलाडी यसअघि सायदै अर्को कोही पाएको थियो । एक दशकभन्दा बढि समयदेखि अनवरत उनी नेपाली क्रिकेटप्रेमीको ढुकढुकीमा राज गरिरहेका छन् । नेपाली क्रिकेटका धेरै कीर्तिमान उनको नाममा छन् । ब्याटिङमा त उनी नेपालको मेरुदण्ड नै हुन् । नेपालको क्रिकेटलाई डिभिजन ५ देखि एक दिवसीय स्टाटससम्मको यात्रामा उनकै सबैभन्दा ठूलो भूमिका छ ।

पारसको नाम अगाडि कप्तान झुण्डिन थालेको १० वर्ष भयो । यसबीचमा नेपाली क्रिकेटले अनेकन आरोह–अवरोह व्यहोर्‍यो । हार–जीतका श्रृंखलाहरु आए । तर, पारसको कप्तानीमा कहिल्यै कसैले प्रश्न उठाएन । उनी कहिल्यै कुनै विवादमा मुछिएनन् । नेपालमा यस्ता पात्रहरु निकै दुर्लभ छन् ।

एउटा ‘लिडर’ मा हुनुपर्ने धेरै गुण पारससँग छन् । छिटो निर्णय लिनसक्ने, तनावको बेला संयमित बस्न सक्ने, संकटको क्षणमा आफैं अगाडि सर्ने, आफ्नो खेलबाट अन्य खेलाडीलाई प्रेरणा दिनसक्ने, मिडियासँग स्पष्ट र तार्किक कुरा गर्ने आदि । यी यावत् गुणहरुले गर्दा नेपाली क्रिकेटले पारसको विकल्पमा अर्को नाम सोच्दै सोचेन । आखिर उनीसँग क्रिकेट खेल्ने उमेर अझै केही वर्ष बाँकी नै छ ।

पारसको स्वभाव के छ भने एकपटक निर्णय लिएपछि त्यसबाट पछि हट्दैनन् । त्यसैले पारसलाई घोषणा फिर्ता लिन क्रिकेट समर्थकदेखि क्यानका पदाधिकारीसम्मबाट दबाव त पर्न सक्छ, तर उनी निर्णयबाट ब्याक हुन मुश्किल छ ।

यो पनि पढ्नुहोस पारसले भने – कप्तानी छाड्ने उपयुक्त समय यही हो

पारसले किन एकाएक कप्तानी त्याग्ने निर्णय लिए भन्ने प्रष्ट भइसकेको छैन । यद्यपि, क्यानको नवनिर्वाचित नेतृत्वसँग उनी सन्तुष्ट नरहेको अनुमान गरिएको छ । एकथरीले चाहिँ उनी क्रिकेट संघकै नेतृत्वमा आउन इच्छुक रहेकाले सोचिविचारी रणनीतिक पाइला चालेको दावी गरेका छन् ।

त्यसो त आफ्नो संक्षिप्त विज्ञप्तिमा उनले नेपाल क्रिकेट संघको निलम्बन फुकुवासँग आफ्नो निर्णयलाई जोडेका छन् । अब नेपाली क्रिकेटलाई नयाँ तरिकाले सुरु गर्नुपर्ने उनको आशय छ । तर, यति मात्र तर्क दिएर पारसले आफ्नो निर्णयको औचित्य सावित गर्न सक्दैनन् । ठीक छ, नेपाली क्रिकेटलाई अब नयाँ तरिकाले सुरु गर्नुपर्छ, तर त्यसमा उनको कप्तानी कसरी बाधक बन्थ्यो ? नयाँ सुरुवातको नेतृत्व उनले नै लिनुपर्थ्यो

नेपाली क्रिकेटलाई यो स्तरमा उठाएको सबैभन्दा बढी जस समर्थकहरुले पारसलाई दिने गरेका छन् । नेपालभित्र मात्र नभएर अन्तर्राष्ट्रिय क्रिकेट जगतले नै सम्मान गर्ने क्रिकेटर हुन् उनी । एसोसिएट्स देशका कप्तानहरुमध्ये उत्कृष्ट मानिन्छन् । उनको नेतृत्व अझै केही समय नेपाली क्रिकेटलाई आवश्यक थियो ।

कप्तानी त्याग्ने घोषणा गरेका पारसले खेलाडीका रुपमा पनि केही समय विश्राम लिने बताएका छन् । यसले अझै संशय बढाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा उनले केही समय विश्राम लिने र त्यसपछि ‘टिममा परे’ फर्किन सक्ने बताए । उनको विश्राम लम्बिएर कतै सन्यासमा परिणत हुने त होइन भन्ने चिन्ता पनि बढेको छ । अहिले ३१ वर्षमा हिँडिरहेका पारससँग अझै पनि कम्तीमा ५–६ वर्ष खेल्ने समय छ । त्यसैले नेपाली क्रिकेटले यति चाँडै उनलाई टिमबाट बिदा गर्न सक्दैन । साथै, नयाँ बन्ने कप्तानलाई मैदानभित्र र बाहिर उनको मार्गदर्शन आवश्यक छ । पारसले कप्तानी छोड्नसाथ नेपाली क्रिकेट धराशायी हुने अवस्था नआउला तर खेलाडी पारस पनि टिममा भएनन् भने चाहिँ ठूलै क्षति पुग्ने छ ।

पारसको स्वभाव के छ भने तपाईं क्रिकेटका विषयमा उनीसँग लामो गफ गर्न सक्नुहुन्छ । कुनै पनि प्रश्नको खुलेर जवाफ दिनेछन् । तर, व्यक्तिगत विषयमा कुनै पनि सवाल सोध्नुभयो भने तुरुन्तै मौन भइदिन्छन् । सिधै भन्छन्, ‘प्लीज, नो पर्सनल क्वेसन ।’

यही स्वभावले उनका निजी जीवनका धेरै कुरा मिडियाले मात्र होइन, उनकै साथीभाईले पनि थाहा पाउँदैनन् । मैदानमा कठिन निर्णय लिनुपर्दा सँधै टिमका साथीहरुसँग सल्लाह लिने पारसले कप्तानी छोड्ने निर्णय लिँदा पनि कसैलाई सुईंकोसम्म दिएनन् । धेरै खेलाडीले त मिडियामा समाचार आएपछि मात्र थाहा पाए ।

त्यसो त पारसको पदत्यागमा कुनै सकारात्मक कोण नै खोज्न नसकिने चाहिँ होइन । यसलाई एउटा पाठका रुपमा ग्रहण गर्न सक्छ, खासगरी नेपालको राजनीतिक क्षेत्रले । अनेकन विवाद र आलोचनाहरुले घेरिँदा, स्वास्थ्य र उमेरले साथ छोड्दा पनि आफ्नो कुर्सीमा लिसोझैं टाँसिएर बस्ने नेताहरुलाई उनले गतिलो सन्देश दिएका छन् । यति सहजै पनि पद छोड्न सकिँदो रहेछ देखाएका छन् । आखिर राष्ट्रिय क्रिकेट टिमको कप्तान हुनुमा पनि आकर्षण त थियो ।

बिँडो सम्हाल्ने कसले ?

पारसको पदत्यागपछि तत्काल नेपाली क्रिकेटको नयाँ टिम खोज्नुपर्ने भएको छ । यसअघि उपकप्तानको जिम्मेवारी सम्हाल्दै आएका ज्ञानेन्द्र मल्ल सबैभन्दा पहिलो दावेदार र सहज विकल्प हुन् । पारसको अनुपस्थितिमा केही म्याच उनले कप्तानी सम्हालेको अनुभव उनीसित छ । खेलाडीको रुपमा पनि उनी पारसपछि दोस्रो उत्कृष्ट मानिन्छन् ।

पारसबाट ज्ञानेन्द्रमा नेतृत्व सर्नु कुनै पुस्तान्तरण भने होइन । किनकी उनीहरु दुवै एउटै पुस्ताका हुन् । उनीहरुको उमेरमा दुई वर्षको मात्र फरक छ । त्यसैले ज्ञानेन्द्रभन्दा पनि युवा खेलाडीलाई जिम्मेवारी दिनुपर्ने मत पनि कतिपयको पाइन्छ ।

युवा खेलाडीको कुरा गर्दा सबैभन्दा चर्चित सन्दिप लामिछाने हुन् । अन्तर्राष्ट्रिय स्तरमा उनको चर्चा पारसको भन्दा पनि धेरै छ । तर, सन्दीपलाई तत्काल कप्तानी सुम्पिने अवस्था यसकारण देखिँदैन कि मैदानबाहिर उनी अझै परिपक्व भइसकेका छैनन् । पारस खड्कालाई इन्स्टाग्राममा अनफलो गर्नुले पनि उनको केटौले घमण्ड झल्किन्छ ।

अन्य युवा खेलाडीहरुमा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, रोहित पौडेललगायत छन् । उनीहरुलाई भविष्यका लागि तयार पार्न सकिन्छ, तर, वर्तमानमा भने भर गरिहाल्न गाह्रो छ ।

नयाँ कप्तानमा जोसुकै आए पनि मुख्य कुरा भनेको नेपाली टिमको एकता भत्किनु भएन । खेलाडीहरुको उत्साह घट्नु भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment