Comments Add Comment

चित्लाङमा सञ्चालित ७ सय बर्ष पुरानो नाच सम्पन्न

२९ असोज, हेटौंडा । जिल्लाको एकमात्र पर्यटकीय गाउँ चित्लाङमा तीन दिनदेखि चल्दै आएको कृष्णलिलासहितको कात्तिके नाच राँगाको बलिदिएर सकिएको छ । चित्लाङ माझगाउँको डबलीमा सोमबार बेलुकादेखि सुरु भएको नाच बुधबार विहान करिब ९ बजे राँगाको भोगसँगै सकिएको हो ।

जात्रा भर्न आएका हजारौंको माझमा भैरवको मुखुण्डो लगाएका कालभैरवले राँगाको घाँटी रेटेर तनतन रगत पिएका थिए । उनले मात्र होइन, गणेश, वराही, महालक्ष्मी र  कुमारीको मुखुण्डो लगाएका ‘देवता’ हरुले भुँईमा लडेको राँगाको घाँटीमा मुख लगाएर रगत पिएका थिए । कृष्णले कंशलाई मारेको खुशीमा उनीहरुले राँगाको बलिदिएका हुन् । बलिदिएको राँगाको मासु प्रसादको रुपमा नेवार समुदायमा बाँड्ने गरिन्छ ।

पाटन र कीर्तिपुरबाट स्थानान्तरण भएर आएका चित्लाङका नेवार समुदायले करिब ७ सय वर्षदेखि यो जात्रा दशैंको कोजाग्रत पुर्णिमादेखि तीन दिनसम्म सञ्चालन गर्ने गर्छन् । तत्कालिन समयमा पाटनबाट एक दिनको लागि सापटी ल्याएको नाच दुई दिन थप गरी तीन दिनसम्म देखाउने गरिएको स्थानीय बुद्धरत्न मानन्धरले बताए । जात्रामा बनिया र बाठो नाच पनि प्रदर्शन गर्छन् । बनिया नाच चित्लाङको मौलिक नाच हो ।

चित्लाङका नेवार समुदायमात्र होइन, बज्रबराही, मार्खु, कुलेखानीलगायतका क्षेत्रका बासिन्दाहरु रातभर जात्रामा बसेका थिए । वृद्धदेखि बालकसम्म जात्रामा सहभागी थिए  । पुरुषको भन्दा महिलाहरुको संख्या अधिक  थियो ।  मानन्धरका अनुसार कृष्णलिला र कात्तिके नाच ७ सय वर्षदेखि यहाँ सञ्चालन भइरहेको छ । कृष्णलिलामा नेवारी, हिन्दी र नेपाली भाषा प्रयोग गर्ने गरिएको छ । तीन दिने जात्रा हेर्न पाटन र कीर्तिपुरबासी आउने गरेको बताइएको छ ।

जात्रा हरेक वर्ष चित्लाङको माझगाउँमा सञ्चालन गर्ने गरिएको छ । बलामीहरुको बाक्लो बसोबास रहेको माझगाउँमा त्यस क्षेत्रका तामाङ समुदायको पनि सहभागिता रहने गरेको छ । संस्कृती र परम्परा धान्नका लागि सहयोग संकलन गरिरहेको थाहानगरपलिका-९ का अध्यक्ष पर्शुराम श्रेष्ठले बताए । संस्कृती संरक्षणका लागि यस वर्षबाट वडा कार्यालयले पनि सहयोग गरेको छ भने गाउँबाट पनि प्रतिघर २ हजार रुपियाँ संकलन गरेको उनले जानकारी दिए ।

स्थानीयका अनुसार निरन्तर रुपमा वर्षेनी संचालन गर्दै अएको जात्रा बीचमा एक, दुई वर्ष रोकिँदा गाउँमा रोग व्याधीले सतायो त्यसैले मेलालाई निरन्तरता दिइरहेको छ । दशैंमा घर आएकाहरु अधिकांशहरु यो मेला सम्पन्न नभएसम्म फर्कंदैनन् । सांस्कृतिक र धार्मिक स्थलको रुपमा पहिचान बोकेको थाहाननगरपालिका–९ मा रहेको चित्लाङ  मकवानपुर जिल्लाको एकमात्र ऐतिहासिक थलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment