Comments Add Comment

छापामा आज : उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण

संलग्न एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला

३० असोज, काठमाडौं । मृगौला तस्करी, उपचारका नाममा गुम्बामा लगेर हुने यौनशोषण, सांसदविरुद्ध पक्राउ पुर्जी जारीलगायत विषय आजका दैनिक पत्रिकाहरूको प्राथमिकतामा परेको छ ।

कान्तिपुरले ‘उपचार भन्दै यौनशोषण’ शीर्षक दिएर गुम्बाभित्र हुने यौनदुर्व्यवहारको तथ्य उजागर गरेको छ । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौनशोषण गर्ने गरिएको र यही आरोपमा उच्च अदालत पाटनले एक लामालाई ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको समाचारमा उल्लेख छ । निर्दोष गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले धर्मगुरूसहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।

कान्तिपुरका अनुसार, दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलेका रिम्पोछे छोल्टिम दोर्जे यान्तान योन्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई डर, त्रास, धाक, देखाइ, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो ।

मृगौला तस्करीमा संलग्नको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृतसहित ललितपुरको पुल्चोकस्थित निदाान अस्पतालका कानून अधिकृत, चिकित्सक र मृगौला लिने व्यक्ति गरी ५ जना पक्राउ परेकोलाई पनि कान्तिपुरले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा कभरेज गरेको छ ।

सर्वोच्च शिखर सगरमाथाको चित्ताकर्षक तस्वीर मुखपृष्ठमा छापेको अन्नपूर्णले मृगौला तस्करी, उपत्यकाभित्रको अव्यवस्थित तार, सांसद्विरुद्ध पक्राउ पुर्जी जारी गरिएकोलगायत विषयलाई महत्त्वका साथ छापेको छ ।

नागरिकले गरिबी निवारणका नाममा भएका लगानीको उपलब्धिबारे खोतलेको छ । नागरिकको रिपोर्टअनुसार गरिबी निवारणका लागि अर्बौं लगानी गरिए पनि एक चौथाइ नागरिक अझै विपन्नको रेखामा छन् । लक्षित वर्गको पहिचान अभाव, कार्यक्रमको दोहोरोपना, पटकेहिसाबले सञ्चचालनजस्ता कारण यो कार्यक्रम प्रभावकारी हुन नसकेको नागरिकको ठहर छ ।

सरकारी कार्यालयमा अझै भनसुन र घुस लिने प्रवृत्ति यथावत् रहँदा संघीयतालाई नै चुनौती थपिएको राजधानी लेखेको छ भने कारोबारले बैंकबाट कर्जा लिनेको संख्या १४ लाख पुगेको हिसाब प्रस्तुत गरेको छ ।

हेरौं आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment