Comments Add Comment

फिटनेसको लागि कस्तो खानपान ?

आजको व्यस्त समयमा आफ्नो र परिवारका सदस्यहरुको फिटनेसको लागि हामी धेरै चिन्तित हुन्छौं । समयको अभावमा हामीहरु सधैं शरीरलाई मात्रै ख्याल गर्न पनि भ्याउँदैनौं । त्यसका कारण आफ्नो पेशाको आधारमा कस्तो अभ्यास गर्ने भन्ने जान्नु जरुरी हुन्छ । समय नहुँदा नहुँदै लामो समय अभ्यास गर्ने र खानामा ध्यान नदिने हो भने पनि यसले शरीरमा तात्विक भिन्नता ल्याउन सक्दैन । त्यसैले समयको अभाव भएको अवस्थामा थोरै अभ्यास गरेपनि खानामा ख्याल राखेर शरीर फिट राख्न सकिन्छ ।

अर्काेतर्फ, एक गृहिणी महिलाले जीवनमा कैयौं भूमिका निभाउने गर्छिन् । जस्तो एक माता, पत्नी, बुहारी, घरको रेखदेख गर्ने महिला, छोरी आदिको भूमिका निभाउनुपर्छ । त्यस्तै, एउटा छोराले पनि बाबु, छोरा, ज्वाईं, साथी, कामदार जस्तो अनेक किसिमको भूमिका निर्वाह गर्नुपर्छ । यी सबै जिम्मेवारीहरु पूरा गरेर अभ्यासकै लागि धेरै समय निकाल्न पनि कठिन हुने गर्दछ । आफ्नो भूमिका निर्वाह गर्दागर्दै हामीलाई शरीरको बारेमा ख्याल गर्ने समय नै मिल्दैन । त्यसको लागि हामीहरु आफ्नो पेशा अनुसारको व्यवहार गर्नुपर्ने हुन्छ ।

आफ्नो फिटनेस र सुन्दरताको लागि के गर्ने ?

फिटनेसको लागि समय निकाल्नु हाम्रोलागि एकदमै कठिन कुरा हो । कामका कारण हामीहरु खास रुपमा जिम जान र वर्क आउटको गर्नु हाम्रोलागि सम्भव छैन । यसको लागि हामीले एउटा नियमित संक्षिप्त अभ्यास तालिकाको विकास गर्न सक्छौं ।

जस्तो नित्य बिहान उठ्ने बित्तिकै ५ मिनेट ध्यान, त्यसपछि १० मिनेट वार्मअप र २/४ पटक सूर्य नमस्कार र केही समय एरोबिक्स गरेर हामी बाहिर निस्कन सक्छौं । हामीले आफ्नो स्वास्थ्यको लागि नियमित रुपमा मुस्किलले १५ मिनेट खर्च गर्‍यौं भने त्यो हाम्रोे फिट शरीर बनाई राख्नको लागि सहायक सिद्ध हुने गर्दछ । यो १५ मिनेटले हामीलाई दिनभरी नै स्फुर्ती बढाउने गर्दछ । हाम्रो दिमाग पनि दबाब मुक्त हुनेगर्छ । त्यसकारण बिहान चिया खाने समयमा पनि हामीले आफ्नो शरीरलाई फिट राख्नको लागि यो सामान्य शारीरिक अध्यास र खानामा पनि ध्यान दिनुपर्ने हुन्छ । खानाको लागि हामीले राति भिजाएर राखेको बदामलाई बिहान अभ्यास गरे लगत्तै खान सक्छौं ।

फिटनेसका लागि बदाम र खाने समय

शरीरलाई फिट राख्नको लागि बदाम सबैभन्दा उपयुक्त खानेकुरा हो । बेलुका भिजाएको बदाम बिहान खाँदा पूरै दिन यसले शरीरमा शक्ति प्रदान गर्ने गर्दछ । यसबाट हामीहरु पूरै दिन आरामसँग भागदौड गर्नसक्छौं । बदाम खाने सही समय भनेको बिहानको खाजा खानुभन्दा पहिलेको समय हो । यसलाई बिहान खानको लागि समय मिलेन भने झोलामा राखेर कुनैपनि बेला खान सकिन्छ ।

त्यस्तै, रातभरी पानीमा भिजाएर खाँदा झनै फाइदा हुनेगर्छ । भिजाएर खाँदा यसमा नरमता पैदा हुन्छ र यसमा रहेको छिल्का सजिलैसँग यसबाट बाहिर आउँछ । जसका कारण यसलाई बच्चाहरु वा बुढाहरुले पनि सजिलैसँग खान सक्छन् । यसलाई चपाउन सहज हुने गर्दछ ।

पूर्ख्यौली गुण

सन्तानहरुको अनुहारको स्वरुप र स्वभाव या आमा जस्तो या त बाबु जस्तो हुने गर्दछ । यो आमाबाबुको जिनको कारणले हुने गर्दछ । त्यस्तै फिटनेसमा पनि आमाबाबुको प्रभाव छोराछोरीमा पर्नेगर्छ । कहिलै पनि आफ्नो स्वास्थ्यसँग सम्झौता नगरेका आमाबाबुको सन्तानमा पनि त्यसको प्रभाव देखिने एक अध्ययनले जनाएको छ ।

खानाको प्रभाव बढी अभ्यासको कम

फिटनेसको लागि खानामा ध्यानदिनु महत्वपूर्ण छ भने अभ्यासमा खानाको तुलनामा कम ध्यानदिनु आवश्यक हुन्छ । खानाको सवालमा हामी यो ध्यान दिनुपर्छ कि हामी कहिले खाँदैछौं र के खाँदैछौं ? खानेको समय मिलेको खण्डमा पनि धेरै हदसम्म शरीरलाई सन्तुलनमा राख्न सकिन्छ । खानामा गुलियो र चिल्लो बस्तुहरु कम खानुपर्छ । त्यसपछि अभ्यासको सवालमा पनि हामी कम समय गरेपनि नित्य अभ्यास गर्नुपर्छ । एउटै समयमा हरेक दिन नबिराई अभ्यास गर्नाले पनि शरीर फिट राख्न सहज हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment