३ कात्तिक, काठमाडौं । क्याट क्वीन्स काठमाडौं महिला च्याम्पियन्स लिग क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।
टियु क्रिकेट मैदानमा आज भएको खेलमा क्याट क्वीन्स काठमाडौंले ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै प्लेअफमा प्रवेश गरेको हो । १०६ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको काठमाडौंले १७.२ ओभरमा मात्र दुई विकेटको क्षतिमा लक्ष्य भेटायो ।
काठमाडौंको जितमा कप्तान रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाइन् । उनले ४९ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ५७ रनमा अविजित रहिन् । त्यस्तै, रोमा थापाले १८ रन बनाइन् ।
लिग चरणको आफ्नो पूरै चार खेल खेलेको काठमाडौंले तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक बनाएर प्लेअफमा स्थान बनाएको हो ।
ललितपुरको लगातार तेस्रो हार
काठमाडौं प्लेअफमा पुग्दा ललितपुर फाल्कोन्स भने प्रतियोगिताबाटै बाहिरिएको छ ।
यसअघि ललितपुरले आफ्नो पहिलो खेलमा विराटनगर टाइटन्ससँग चार विकेटले पराजित भएको थियो । त्यस्तै, आफ्नो दोस्रो खेलमा चितवन राइनोजसँग ८९ रनले पराजित भएको ललितपुर आजको खेलमा पनि पराजित भएपछि प्रतियोगिताबाटै बाहिरिएको हो ।
प्रतियोगितामा आफ्नो यात्रालाई जारी नै राख्नका लागि आजको खेल जित्नै पर्ने दबाब थियो । तर टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १०५ रन बनाएको थियो । ललितपुरका लागि रोशनी बोहराले २९ र कप्तान नेरी थापाले २२ रन बनाएका थिए ।
प्रतिक्रिया 4