Comments Add Comment

प्रधानमन्त्रीसँग काठमाडौंका सांसदको माग : कात्तिक १३ गते विदा चाहियो

३ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायका सांसदले किजापूजा (भाइटीका) का लागि कात्तिक १३ मा पनि विदा दिन माग गरेको छ ।

काठमाडौं उपत्यकाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद र प्रदेश सांसदको एक टोलीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरी कात्तिक १३ गते पनि विदा दिन माग गरेका हुन् । यस वर्षको तिहारमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र विदा दिने निर्णय गरेको छ ।

तर नेवार समुदायका सांसदले आफूहरुको किजा पूजा कात्तिक १३ गते पर्ने भएकाले विदा दिन माग गरेका हुन् । संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर तीनका सांसदहरु डा. अजयक्रान्ति शाक्य, राजेश शाक्य, काठमाडौँ महानगरपालिका २२ का अध्यक्ष चिनिकाजी महर्जनलगायतको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर उक्त माग गरेका हुन् ।

आफूहरुको मागप्रति प्रधानमन्त्री ओली सकरात्मक देखिएको सांसद श्रेष्ठले बताए ।

‘वडादशैं, दिपावली जस्ता महान पर्वको आ–आफ्नै खालको संस्कृति र परम्परा रहिआएको छ,’ प्रधानमन्त्री ओलीसँग भेट गरेर फर्किएका सांसद श्रेष्ठले भने, ‘हामीले आज प्रधानमन्त्रीज्युलाई पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाईटीकालगायतका चाडपर्वको साईत निकाल्दा नेवाः समूदायको मौलिक संस्कृति र परम्परालाई असर गर्ने गरेको जानकारी गरायौं । उहाँ सकारात्मक हुनुभयो ।’

प्रधानमन्त्री ओलीले सरकारी क्यालेण्डरअनुसार कात्तिक १३ गते विदा उल्लेख नभएकाले यसलाई मन्त्रिपरिषद्बाटै निर्णय गर्ने आश्वासन दिएको श्रेष्ठले जानकारी दिए ।

सांसद शाक्यले पाञ्चाङ्ग समितिको निर्णयलाई आधार मान्ने हो भने चतुर्दशीमा लक्ष्मीपूजा गर्नुपर्ने बाध्यता आइपर्ने बताए । ‘पाञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औंसी र १२ गते ७ बजेर ५१ मिनेटसम्म प्रतिप्रदा तिथि भनेको छ । त्यसपछि १२ गते नै भाईटीका भनेको छ,’ उनले भने, ‘पञ्चाङ समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै हराउँछ ।’

शाक्यका अनुसार नेवाः समूदायको परम्पराअनुसार नेपाल सम्वतको नयाँ वर्ष ११४० कात्तिक १२ गते सूर्योदयसँगै मनाउने र बेलुका म्हपुजा गर्ने चलन छ । ‘नेवाः समूदायको परम्परा अनुसार नेपाल सम्वत नयाँ वर्ष ११४० कात्तिक १२ मा छ । त्यो दिन नेवाः समूदायले दिनभरी धुमधामसँग नेपाल सम्वत मनाउँछन र बेलुका म्हपूजा गर्छन् । तर, पाञ्चाङ्ग समिति विहान म्हपूजा गर भन्छ । नेवाः समूदायले विहान म्हपुजा नै गर्दैनन् । नेवाः समूदायले भाईटीका पनि बेलुका नै लगाउने चलन छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment