Comments Add Comment

गुल्मी-काठमाडौं डिलक्स बस सेवा सुचारु

३ कात्तिक, गुल्मी । गुल्मीबाट पहिलो पटक काठमाडौंका लागि आरम्दायिक सुबिधा सम्पन्न बस सेवा सुचारु भएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिद्धारा सञ्चालित डिलक्स सेवा सहितको बस आइतबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो ।

प्रालिले गुल्मीबाट काठमाडौंका लागि नयाँ बस सेवा थप गरेको हो । सदरमुकाम तम्घासबाट काठमाडौंका लागि छुट्ने लु.२ ख. ४२३० नम्बरको बसको रेसुङ्गा नगरपालिका गुल्मीका प्रमुख डिल्लीराज भुसालले रिबन काटेर उद्घाटन गरेको हुन् ।

विभिन्न व्यवसायी यात्रुहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नगरप्रमुख भुसालले चालक, सहचालक र गाडी धनीलाई सम्मान गरेर सुरक्षित यात्राको शुभकामना दिएर शुभारम्भ गरेका थिए । बस सेवाको शुभारम्भ गर्दै नगरप्रमुख भुसालले नेपाल भ्रमण वर्षलाई मध्यनजर राखेर सुबिधायुक्त बस सेवा थपिनु जिल्लाबासीको निम्ति सुखद् पक्ष रहेको बताए ।

डिलक्स बस सेवा सुचारुसँगै जिल्लामा आउने जाने यात्रु एवं पर्यटकहरुलाई सुबिधायुक्त सेवा प्रदान गर्ने नगरप्रमुख भुसालले बताए । जिल्लाबाट छुट्ने डिलक्स बसलाई सुरक्षित यात्रा गराएर यात्रुहरुलाई अधिकतम सेवा दिन नगरप्रमख भुसालले आग्रह गरे ।

नेपाल भ्रमण वर्षलाई मध्य नजरराखेर पश्चिम नेपाल बस व्यवसायी प्रालिलाई आग्रह गरेर गुल्मीबाट सेवा थपिएको भुसालको भनाइ छ । फोल्डीङ्ग सिट, एसी, सिसीटिभी, वाइफाईसहितको सुबिधा सम्पन्न डिलक्स बस गुल्मीबाट प्रत्येक दिन दिउँसो ३ बजे काठमाडौंका लागि छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाका भरत काउछाले बताए ।

काठमाडौंबाट तम्घास गुल्मीको लागि भने बेलुकी ५ बजे छुट्ने व्यवस्था मिलाइएको पश्चिम नेपाल बस व्यवसायी प्रालिले जनाएको छ । डिलक्स बसबाट काठमाडौं पुग्न प्रतिव्यक्ति ११५० रुपैयाँ लाग्ने काउछाले बताए ।

त्यस्तै डिलक्स बस हप्ताको ३ दिन तम्घासबाट सिधै भारतको नयाँदिल्लीका लागि छुट्ने भएको छ । प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार बिहान साढे सातबजे भारतको नयाँदिल्ली छुट्ने भएको हो ।

नेपालबाट भारतको नयाँदिल्ली पुग्न प्रतिव्यक्ति ३२ सय रुपैयाँ लाग्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि गुल्मी शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment