Comments Add Comment

सद्भावना दूत सु फेवातालमा तैरिइन्, आकाशमा उडिन्…

३ कात्तिक, पोखरा । पोखराको फेवाताल किनारमा रहेको फिस्टेल लजबाट आइतबार बिहान एउटा चिनियाँ टोली डुंगासहित निस्किन्छ र सीधै लाग्छ – तालबीचमै रहेको बाराही मन्दिरमा ।

चिनियाँ टोलीलाई देख्दा मन्दिर दर्शनका लागि आएका नेपाली तथा अन्य बाह्य पर्यटक उति वास्ता गर्दैनन् । तर, त्यहाँ अर्को पनि चिनियाँ टोली हुन्छ जसले भर्खर आएको नयाँ टोलीका सदस्यलाई चिनिहाल्छन् र मोबाइलको क्यामेरा तेर्स्याउन थालिहाल्छन् ।

टोलीमा थिइन्, चीनकै चर्चित अभिनेत्री सु छिङ । दुई दिने पोखरा भ्रमणमा रहेकी अभिनेत्री छिङलाई चिनियाँ पर्यटकले उनलाई सजिलै चिने र पछिसम्मै पछ्याइराखे । जसका कारण उनलाई हतारमै होटल फर्किनु परेको थियो । सात सदस्यीय टोलीसहित शनिबार पोखरा आएकी उनले आइतबार बिहान तालबाराही दर्शन गरेकी हुन् ।

अभिनेत्री छिङलाई शनिबारमात्रै पर्यटनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त गरेका हुन् । शनिबार साँझै उनको टोली पोखरा भ्रमणमा निस्किएको हो । आइतबार फेवातालमा छिङ डुंगामा रमाइन्, प्याराग्लाइडिङबाट उडान भरिन् । ‘पोखरा साँच्चै राम्रो छ । चिनियाँलाई नेपाल घुम्न म प्रोत्साहन गर्नेछु,’ उनले प्रतिक्रिया दिइन् ।

पहिलो पटक टर्कीमा प्याराग्लाइडिङ गरेको सुनाएकी छिङले पोखरामा जीवनमै दोस्रो पटक प्याराग्लाडिङको मजा लिइन् । तर, मौसमको खराबीका कारण टोलीले घन्टौं पर्खिनु परेको थियो । ‘मौसम खराबीका कारण उडान केही ढिलो भयो र साइटसिनको मजा लिन पाउनु भएन,’ हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका शैलेन्द्र रावतले भने, ‘दिनभरी कुरेरै भएपनि उहाँहरु उड्नु भयो ।’ टोलीमा भएका अधिकांशले पहिलो पटक प्याराग्लाइडिङको मजा लिएका थिए ।

तोरीपानीबाट टेकअप भएको टोलीको उडान चंखपुरमा ल्यान्ड गरेको थियो । प्याराग्लाइडिङका लागि नेपाल आर्मीले सघाएको थियो । नेपाल आर्मीको प्याराग्लाइडिङ टोलीले ‘भिजिट नेपाल २०२०’ अंकित झन्डासहित छिङको टिमलाई तोरीपानीमा स्वागत गरेको थियो । नेपाल आर्मीको टोली छिङको सम्मानका लागि एकल उडान गर्ने भनिएपनि मौसमको खराबी कारण सफल हुन सकेन ।

छिङको टोलीले सोमबार अन्नपूर्ण बेस क्याम्पमा ‘हेली भिजिट’ गर्नेछ । त्यसका लागि एअर डाइनेस्टी र प्रभू एअरले हेलिकप्टर उपलब्ध गराएको नर्थ नेपाल ट्राभलका मोहनराज भण्डारीले जानकारी दिए । ‘एबिसीमा सिङको फोटो र भिडियो सुट हुनेछ । त्यसपछि उहाँहरु काठमाडौं फर्किनुहुन्छ,’ उनले भने, ‘उहाँहरुको मंगलबार स्वदेश फर्किने र आगामी क्रिसमसमा पुनः नेपाल आउने कार्यक्रम छ ।’

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी अभिनेत्री छिङ चिनियाँ सामाजिक सञ्जाल वैबोमा चर्चित मानिन्छिन् । उनलाई २०१५ मा रिलिज भएको ‘मिस्टर सिक्स’ नामक फिल्मबाट बढी स्मरण गरिन्छ । उनले सो फिल्मबाट आधा दर्जनभन्दा बढी उत्कृष्ट अभिनेत्रीको एवार्डसमेत जितेकी थिइन् । उनी चिनियाँमात्रै नभई हलिउडसहित दर्जन बढी फिल्म, टेलिशृंखला आदिमा सशक्त अभिनय गरिसकेकी छिन् । उनले १३ औं एसियन फिल्म फेस्टिभलमा हिडन म्यान फिल्मबाट उत्कृष्ट सहायक कलाकार लगायत दर्जनबढी अवार्ड हात पारिसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment