
४ कात्तिक, जनकपुरधाम । प्रदेश २ को नामाकरण गर्ने सन्दर्भमा प्रदेश सरकारले केही महिनाअघि प्रक्रिया अगाडि बढाए पनि अहिले सिथिल देखिएको छ । ५ भदौमा दलहरुले आ–आफ्नो अनुकुलको नाम प्रदेशसभामा पेश गरिसकेका छन् । तर, यसमा सहमति जुट्न सकेको छैन ।
प्रदेश दुईका सत्तासीन पार्टी समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) ले यस प्रदेशका लागि ‘मधेस’ नाम प्रस्ताव गरेका छन् । विपक्षी दल नेकपाले जानकी नाम प्रस्ताव गरेको छ ।
त्यसैगरी कांग्रेसले प्रदेश २ को नाम मिथिला–भोजपुर राखिनुपर्ने प्रस्ताव गरेको छ । मुख्य तीनवटा नाम प्रदेशका लागि आएपछि यसमा बहस र विवाद चलिरहेको छ ।
झण्डै डेढ महिनादेखि प्रदेशसभाको बैठक बस्न सकेको छैन । दलहरुले विभिन्न प्रस्ताव पेश गरे पनि निर्णयका लाग चाहिने दुई तिहाई कसैसँग छैन । यसले गर्दा तत्कालै सहमति जुट्ने सम्भावना नदेखिएको विश्लेषक बताउँछन् ।
सत्तासीन दलहरुले प्रदेशको नाम मधेस राख्न प्रस्ताव गरेपछि मिथिलाका समर्थकहरुले यसलाई एउटा सभ्यताको नष्ट गर्न खोजिएको अर्थमा व्याख्या गरेका छन् ।
नेकपासँग निकट रहेका मैथिली साहित्यकार, लेखक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ रमेश रञ्जन मिथिलाको पाँच हजार बर्ष पुरानो सभ्यताको हत्या गरेर ‘मधेस’ शब्द थोपर्नु ठीक नहुने बताउँछन् ।
साहित्यकार रञ्जन भन्छन्, ‘दलहरुको तर्क आफ्नो ठाउँमा होला तर, यहाँको यथार्थ र इतिहासलाई पनि बिर्सनुभएन’, मधेस शब्द राजनीतिकतवरबाट स्थापित भए पनि मिथिलाको परम्परा, यहाँको संस्कृति र सभ्यता पाँच हजार बर्ष पुरानो छ । योभन्दा पुरानो कुनै सभ्यता छैन नेपालमा ।’
मिथिला सभ्यतापछि नै शाक्य सभ्यता, उपत्यकाको गोपाल वंश, महेश वंश सभ्यताहरु आएको बताउँदै रञ्जन संसारभरिका हिन्दू धर्मका ६ वटा पूर्वीय दर्शनहरुमध्ये चारवटा दर्शनहरु जनककालमा यहीँ जनकपुरले निर्माण गरेकाले यहाँ ठूलो विद्वत परम्परा रहेको बताउँछन् ।
मिथिला क्षेत्रमा परापूर्वकालदेखि नै सांस्कृतिक धरोहरहरु रहेको बताउँदै नी भन्छन्, ‘कुनै पनि ठाउँको नामाकरणलाई पहिचानले स्थापित गर्छ, यो परिचय मधेसले कसरी दिन सक्छ ? मधेस शब्दमा यो शक्ति नै छैन, जसले परिचय दिन सकोस् ।’
मधेस शब्द राजनीतिक तवरले स्थापित भएको र तराईको पूरा भू–भागलाई समेटेर मधेस शब्द बनेको उनको धारणा छ । ‘८ वटा जिल्ला जुन मिथिला क्षेत्र हो, यसलाई मधेस बनाइदिने कुनै तबरले तार्किक देखिँदैन’ उनी भन्छन्, ‘एउटा सभ्यताको हत्या गरेर एउटा शब्दको उत्पति गरी स्थापित गरिए कुनै हिसावले ठीक हुँदैन ।’
मिथिला ब्राण्ड हो, मधेस हुन सकेको छैन
प्रदेश २ का ८ जिल्लामा जनसंख्याको हिसावले पनि मिथिलाभाषी बढी देखिन्छन् । भाषाका आधारमा पनि मैथिली देखिने गरेको उनको भनाइ छ । ‘यसैभित्र भोजपुरी भाषी पनि छन् । सिम्रौनगढ विशुद्व मिथिलाको क्षेत्र हो । त्यस हिसावले मिथिलाको परिचयमा सबैलाई आनन्द छ’ उनी भन्छन्, ‘मिथिलाको सभ्यता बनेपछि संसारभरि परिचय बन्छ । पर्यटकीय क्षेत्र नै बन्छ । संसारभरिका व्यक्ति यहाँको संस्कृति अध्ययन गर्न आउन सक्छन् ।’
मिथिला ब्राण्डलाई पुँजीकृत गर्ने आधारहरु पहिलादेखि नै तयार रहेको बताउँदै उनी मधेस यहाँको ब्राण्ड हुन नसकेको तर्क गर्छन् । रञ्जन भन्छन्, ‘सीमादेखि पाँच किलोमिटरयता मधेस भइहाल्यो, अनि ५ किलोमिटर उता मधेस छैन । ऊ किन मिथिला भयो ?’
भारतको आर्यवर्त खण्डको नक्शा अध्ययन गरेमा यो क्षेत्र मधेस कहिल्यै पनि नदेखिएको रञ्जनको भनाइ छ । ‘मधेस शब्दलाई हामीले घृणा गर्न खोजेका होइनौं, तर, मिथिलालाई मारेर मिथिलाको छातिमा मधेशको पिल्लर गाडिए कसरी स्वीकार गर्ने ?’ उनी भन्छन्, ‘यो नैतिकता होइन ।’
तर, राजनीतिक विशुद्व सम्झौताको खेल हुने तर्क राख्छन् रञ्जन । राजनीतिले जनमतको सन्तुलन गर्ने गरेको बताउँदै उनी आवेग र यथार्थ एउटा कुरा भए पनि जनमत अर्काे कुरा भएको बताउँछन् ।
‘यहाँ मधेस पक्षको पनि जनमत छ । मिथिला पक्षको पनि जनमत छ । यी दुबैका बीचको जनमत पनि छ, उनी भन्छन्, ‘त्यसैले अब प्रदेश २ को नामाकरणका लागि एउटामात्रै विकल्प छ – तीनवटा शक्तिबीच सम्झौता ।’
इमान्दारीपूर्वक स्वीकार गरिए मिथिला नै उचित
मिथिला नामांकरणका लागि चाहिने आधार भएकाले आवश्यक प्रकृयालाई सांसदहरुले इमान्दारीपूर्वक स्वीकार गरे मिथिला प्रदेश नै उचित हुने धारणा उनको छ । यद्यपि प्रदेशसभामा कसैसँग दुई तिहाई नभएकाले यो कार्यकालमा नामांकरण नै हुँदैन कि भन्ने चिन्ता लागिरहेको सञ्जन बताउँछन् ।
यस बिषयमा राजनीतिक नभई बौद्विक रुपले बहस गर्नुपर्नेमा उनी जोड दिन्छन् । ‘मधेस आन्दोलनबाट आएकाहरु पनि मिथिला बिरोधी छन् भन्ने मलाई लाग्दैन’ उनी भन्छन्, ‘उहाँहरु पनि पौराणिक कुराहरुलाई स्वीकार गर्नुहुन्छ ।’
प्रतिक्रिया 4