+
+

थकाली खाना : ब्रान्ड बेच्ने कि स्वाद ?

थाकखोलाबाट यसरी विश्वको फुड मेनुमा लोकप्रिय भयो 

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १६:२८

शहरको कुनै कुनामा उभिएर आँखा डुलाउनुहोस्, ‘थकाली खाना’ अंकित बोर्ड देख्नुहुनेछ । ‘जहाँ पनि, जहिले पनि’ भनेजस्तै यो थकाली खाना सर्वव्यापी भएको छ । तर, जसै तपाईं थकाली खानाका लागि यी भोजनालयहरु चाहर्नुहुनेछ, स्वादमा एकरुपपता पाउनुहुने छैन । यतिबेला तपाईंलाई द्विविधा हुनसक्छ, खासमा थकाली खानाको असली स्वाद कस्तो होला ?

बरमाझियाको ‘पेडा’ झै शहरका असली ‘थकाली खाना’ पहिचान गर्न गाह्रो छ । किनभने ‘थकाली खाना’ भनेर तपाईंको थालीमा आइपुग्ने परिकारले असली तलतल नमेट्न सक्छ । केवल ‘थकाली खाना’को ब्रान्ड बेच्ने होडमा अहिले दाल-भातको बजार फिँजाइएको छ । त्यसो भए असली थकाली खानाको स्वाद कस्तो हुन्छ ? थकाली खानामा के कस्ता परिकार समावेश हुन्छ ?

थकाली खानाको असली स्वाद 

थाक खोलाको चिसो पठारमा फलेको फापरको ढिँडो, फापरकै सागबाट बनेको ढाप्रा, फापरबाटै बनाइएको ‘पेटरा’ । फापरले नै परिकारमा एक किसिमको पूर्णता दिएको छ । सिमीको दालबाट बनेको ‘फारो’सँगै तिम्जुको सुकेको साग, सुकुटी र आलुमा जिम्बु राखेको तरकारी हुँदै ढुङ खाँदासम्म जो कोहीले पनि भोक बिर्सिसकेका हुन्छन् । बजारमा छ्याप्छ्याप्ती देखिने नक्कली ब्राण्डको कुरा नगर्ने हो भने निलगिरि र धौलागिरि हिमालमा उत्पादन भएको नेपाली खानाले विश्वभर आफ्नो स्वाद प्रसार गरिसकेको छ ।

माथि उल्लेख गरिएको खानाको मेनु नेपालको सीमामा मात्रै नभएर विश्वमा फस्टाउँदै गएको थकाली खानाको हो । यतिबेला थकाली खाना मुस्ताङको थाक खोलामा मात्रै सीमित छैन । निलगिरि फेदीको थकाली खानाले न्यूयोर्कको ज्याक्सन हाईटमा परेठ खेल्दा, गुन्द्रुकको अचारको अगाडि बेलायती रोष्टले आत्मसमर्पण गर्दा, थकाली आमाको स्नेहको अघि अमेरिकी कुकको व्यवसायिकताले घुँडा टेक्दा थकाली खाना मात्रै होईन, सिंगो राष्ट्रियता मुस्काउने गर्दछ । त्यही उत्साहले सगरमाथाले चिनाएको देशको अर्काे पहिचान बढाउँदै गएको थकाली खानाबाट पूर्ण सन्तुष्टिले पुलकित भएको विदेशीले भन्ने गर्छ ‘वाह ! भेरी अमेजिङ नेपाली फुड !’

अन्यत्रको फापर र आलुले वास्तविक थकाली खानाको ब्राण्ड बोक्न सक्दैन । यो ब्राण्ड आफैंमा थाक खोलाको परिकारसँग सम्बन्धित छ । विशेषगरी थकाली खानाको ब्राण्ड सरसफाई र खानाको परिकार निर्माणको परिश्रमसँग सम्बन्धित छ । यही परिश्रमको फल होला, मुस्ताङमा हिमालसँग स्पर्श गरेर बनाएको थकाली खानाले मरुभूमिमा समेत आफ्नो स्वाद चखाइसकेको छ ।

इराकको तेलले मुस्ताङमा बत्ति बल्नु अघि नै थाक खोलाको फापरको ढिँडोले अरबीहरुको जिब्रोलाई सन्तुष्टि दिइसकेको थियो । जापानी प्रविधिको सवारीले आफ्नो छातीमा टेक्नुपूर्व मुस्ताङले गुन्द्रुकको अचारबाट जापानीहरुको जिब्रो लोभ्याई सकेको थियो । वातावरणको प्रतिकूलताका कारण धानको धेरै उत्पादन हुन सकेन र त के भो ? दक्षिण भारतले उत्तरलाई बिर्यानी बनाउन सिकाउनु अघि नै मुस्ताङले आलुको अचारको स्वाद दक्षिण भारतमा पुर्‍याईसकेको थियो ।

अहिले मुस्ताङको यो परिकार नेपालको सीमाभित्र मात्रै खुम्चिएर बस्नु परेको छैन । ४० वर्षअघिसम्म एउटा दोबाटोमा भकारीले बेरेर भट्टी पसल जसरी व्यवसायिक भएको थकाली खानाको ब्राण्ड यतिबेला विश्वको आधा दर्जन मुलुकमा बिस्तार भइसकेको छ ।

लगभग नेपालको सबै मुख्य शहरहरुमा यसको विशेष माग हुने गर्दछ । यसलाई कसले व्यवसायिक गरायो भन्ने कुनै निश्चित छैन । तर, समयले उनीहरुलाई व्यवस्थित गराएको कुरा भने सन्देहबिना नै हामी ठोकुवा गर्न सक्छौं । जुन समयमा राजधानीमै पनि भरिया लगाएर गाडी बोक्नुपर्ने अवस्था थियो । त्यतिबेला मुस्ताङ जानेहरुलाई कम्मर कसेर हिँड्नुको विकल्प थिएन ।

बेनीघाटबाट उकालो लागेपछि झण्डै डेढ दिनको दूरीसम्म मानिसको अनुहारसमेत देख्न नसक्ने अवस्थामा थोरै व्यवसायिकता र धेरै सेवा भावले दोबाटोमा बसेर सुरु गरिएको थियो थकाली खानाको विश्वव्यापीकरणको पहिलो खुड्किलो ।

पुख्र्याैली हिसाबले नै थकाली खानाको ब्राण्ड बिस्तारमा सक्रिय रहेका एवं पोखरामा थकाली भान्सा घर समेत सञ्चालनमा ल्याएका वीरेन्द्र शेरचन थाक खोलाकै फापर र आलु नभएर चिसो ठाउँमा पाउने आलु वा फापरको परिकारसँग यो ब्राण्ड सम्बन्धित रहेको बताउँछन् । शेरचन भन्छन् ‘फापर तराईमा पनि पाइन्छ । हिमालमा पनि पाइन्छ । तर, यसको स्वादमा आकाश जमिनको भिन्नता हुन्छ । न्युयोर्कमा खुलेको थकाली खानाका लागि थाक खोलाको आलु र फापर उपलब्ध नभएपनि त्यहाँ पनि चिसो भेगमा पाईने अन्नको प्रयोग गर्ने गरिन्छ ।’

थाक खोलाबाट निस्किएको थकाली ब्राण्ड

जतिबेला मुस्ताङे आमाहरु मुस्ताङ छाडेर त्रिशुली र मस्र्यांदीको दोभान (मुग्लिन) झरे । त्यही समयदेखि नै थकाली खानाले वैश्विक खाना बन्ने रफ्तारलाई तीब्रता दिएको थियो । यसमा खानाको स्वाद र पौष्टिकता मात्रै जिम्मेवार होइन । मुस्ताङे चेलीहरुको हातको सिप र आत्मीय व्यवहार पनि मुख्य कारण हो ।

जतिबेला धौलागिरि हिमालले विश्वमा आफूलाई चिनाउँदै थियो । त्यतिबेलादेखि नै थकाली खानाले धौलागिरि र निलगिरिका पाहुनाहरुलाई स्वागत गर्न सुरु गरेको हो । त्यसैले व्यवसायिक थकाली खानाको छुट्टै इतिहास खोज्नको लागि टाउको दुखाईरहनु पर्दैन । समयसँगै यसले पनि आफ्नो प्रसारलाई तीब्रता दिँदै गयो । दोबाटोमा भकारीले बेरेर भट्टी पसल जसरी दिएको सेवालाई कसैले पनि भट्टीलाई जस्तो हेय भावले हेरेनन् । न त यो ब्राण्ड भट्टी पसल जसरी खुम्चिएर नै बस्यो ।

थाक सात सय क्षेत्रको सीमा विभाजन

सुदूर उत्तरी जिल्ला मुस्ताङको दक्षिणी भेगमा कालीगण्डकीको किनारमा एकातर्फ निलगिरि र अर्काेतर्फ धौलागिरिको पर्खालले सुरक्षित छ थाक सातसय क्षेत्र । पौराणिक सीमा विभाजन अनुसार छैरो मुनिउचरदेखि दक्षिण कालीगण्डकीले बनाएको खोचै खोच घाँसासम्मको बाटोलाई थाक खोला या थाक भन्ने गरिन्छ । यही थाक खोलामा बस्नेहरु थकाली हुन् । उनीहरुको खाना थकाली खाना हो ।

मिठो बोली, सरल र आत्मीय व्यवहार, सफा सुग्घर महागुरू नरिझ्योवका शिष्यहरुले दुनियाँलाई सिकाएको पाठ हो । घिउ हालेर पकाएको चामल वा फापरको ढिँडोको सुगन्ध, साँधेको गुन्द्रुकको मिठास, स्थानीय आलुको अचार, मुस्ताङी सिरेटोले हानेर रसिलो बनाएको सागसँग जिम्बुले झानेको मुस्ताङ्गी कालो दाल । त्यसैमाथि जिब्रोलाई फड्कार्न बाध्य पार्ने गोलभेँडाको अचारले शाकाहारी होस् या मांसाहारी आगन्तुकहरुलाई मन लोभ्याउँदै गयो । धौलागिरिलाई भेट्न जानेहरुले त्यो भकारीले छोपेको भट्टी पसललाई बिर्सन सकेनन् । शाकाहारीहरुभन्दा मांसाहारीहरुले धेरै परिकार पाउन थाले । उनीहरुलाई तिख्खर  कुखुराको मासु अनि खसी वा च्यांग्राको मासु पनि खुवाउने गरिन्थ्यो ।

थाक खोलाको पठारले सिकाएको हाम्रो मेहनती पाककलालाई वसन्तकालीन मुस्ताङी हावाले उडाएर विश्वभरी पुर्‍याइसकेको छ । कालीगण्डकीको बेगसँगै पर्यटकहरुलाई आमन्त्रण गर्नको लागि फरिको भित्र पकाएको खानाले मुग्लिन टेक्दासम्म त्यो केवल थाकखोलाको विशेष खाना थियो । मुग्लिनको पाइलासँगै यसले राष्टि्रय परिकारको पगरी गुथ्यो । पोखराका व्यवसायी मानव गौचन थकाली महिलाको पाककलाकै कारण थकाली खानाको मौलिक ब्रान्ड जन्मिएको दाबी गर्छन् । पोखराको न्युरोड र लेकसाइडमा मन्त्र नामक थकाली खानाको रेस्टुराँसँग आबद्ध मानवका थकाली रेस्टुराँको सबै काम महिलाले नै सम्हाल्छन् । कुन तरकारी कसरी पकाउने, कति नुन र मसला हाल्ने भन्नेमा विशेष ध्यान दिन्छन् र हात चाट्न बाध्य पार्ने स्वाद निकाल्छन् ।

कालीगण्डकीको किनारामा हुर्किएका मुस्ताङी आमाहरुको टोली त्रिशुली र मस्र्याङ्दीको किनारामा रहेको मुग्लिन नै किन रोज्यो ? त्यसको बारेमा उनीहरु नै जानकार होलान् । तर, थकाली खानाको यो आरोहमा प्रत्यक्ष वा परोक्ष रुपमा मुग्लिन बजारको पनि महत्वपूर्ण भूमिकालाई भने नजरअन्दाज गर्न सकिँदैन ।

थकाली ब्राण्ड बिस्तार गर्न मुग्लिन झरेका आमाहरु

पोखरामा दुई ठाउँमा र काठमाडौंमा समेत थकाली भान्सा घर सञ्चालन गरिरहेका ताक्लुङ गाउँका शेरचन ४५ वर्षका भए । उनले बुझ्ने हुँदासम्म उनकी फुपू लक्ष्मी भट्टचन थकाली भान्सा खानाको प्रचारका लागि गाउँ छाडिसकेकी थिईन् । त्यतिबेला केवल लक्ष्मीले मात्रै गाउँ छाडेका होइनन् । शेरचनलाई याद भएसम्म त्यतिबेला एक दर्जन थकाली आमाहरु आफ्नो खानाको ब्राण्ड खोज्दै गाउँ छाडेका थिए ।

कुरा विसं २०३६ तिरको हो । त्यतिबेला मुग्लिन-नारायणगढ सडक खण्डको निर्माण पनि सम्पन्न हुने तरखरमा थियो । सञ्चालनमा आउने त निश्चित नै भइसकेको थियो । त्योभन्दा पहिले नै पृथ्वी राजमार्ग सञ्चालनमा थियो । त्यतिबेला उनीहरुले त्यही दोबाटोमा १०/१५ वटा पसल थापेर आफ्नो ब्राण्ड र व्यापारको बिस्तार सुरु गरेका थिए ।

वीरेन्द्र सम्झन्छन् फुपूहरु मुग्लिन तिरै बस्नुभयो । अहिले त मुग्लिनको खाना खाने जक्सनमा अरुको बाहुल्यता छ । थकालीहरु त छैनन् नै भनेपनि हुन्छ । तर, त्यो उनकै फुपू लगायत थकाली पुस्ताहरुले चलाएको हो । तर, बिस्तारै सम्पन्नशाली बन्दै गएपछि थकालीहरुले मुग्लिनमा खाना बेचेर बस्न चाहेनन् । तिनै लक्ष्मी र उनका सँगीहरुले देखाएको बाटो हुँदै यतिबेला थकाली खानाले मुलुकको सीमाना नाघिसकेको छ ।

थकालीको इतिहास

थकाली खानाको ऐतिहासिकता खोज्न सजिलो छैन । थकाली खानाको ऐतिहासिकता खोज्न थकालीको इतिहास खोज्नुपर्छ । जुन पाँचौं शताब्दीसम्म जोडिएको छ । थाक खोलाको इतिहास खोज्ने हो भने त्यहाँको चार वटा ‘चन’हरुका भिन्दाभिन्दै पुर्खा भेटिन्छन् । गौचनका पुर्खा अलानी, तुलाचनका पुर्खा च्योसम, भट्टचनका पूर्खा पाउकुती र शेरचनका पूर्खा ढाक्पाघलेचनसम्म पुग्न सकिन्छ । जुम्लाबाट आएका थकालीहरुले लामो इतिहास यही रमणीय भूमिमा लेखे ।

थकालीको मूल थाकखोला

काली वडाको शिरमा धोनुक्य खोलालाई छेउ पारेर चिमखोलाको धुरीमा अडेस लगाएर सुतेको छ थाक खोला । उत्तरी छिमेकी चीनले सिकाएको ममको परिकार होस् या त दक्षिण भारतले सिकाएको बिर्यानीको स्वादसामु आज प्रतिस्पर्धा गर्दैछ थकाली खाना । बख्खु र पाङ्देनमा सजिएकी आमाहरुले खाम्से र साम्सारेको साथमा टोपी लगाउने बाहरुलाई साक्षी राखेर घर गाउँको रक्षार्थ मूल ढोकामा राखेको याकको टाउकोबाट सुरक्षित घर भित्र पकाइन्थ्यो थकाली खानाको परिकार ।

अहिले बजारमा पाइने थकाली खानामा केही आधुनिकता छाएको छ । कसौंडीको प्रयोग हराएको छ । केही खानेकुरा मेनुबाट हटाइएको छ । केही अरुको खानालाई पनि समेटिएको छ । तर, वास्तवमै भन्ने हो भने स्वाद र सन्तुष्टि मात्रै होइन । मौसम अनुकूल पौष्टिकता युक्त पनि छन् यी परिकारहरु ।

थाक खोलामा पनि खान्छन् त यस्तै खाना ?

बाहिर रेस्टुरेन्टमा देखाएजस्तो मेनु थाक खोलामा बस्ने थकालीहरुले भने खाँदैनन् । अहिले पर्यटनको विकाससँगै थकालीहरु जनजातिमध्ये अरुभन्दा धेरै समृद्ध छन् । जसका कारण पनि पहिलेको जस्तो जीवनशैली अहिले छैन । तर, वीरेन्द्र आफू बुझ्ने हुँदासम्म थाक खोलाका थकालीहरु नियमित तरकारी र ढिँडोमात्रै खाने गर्थे । उनीहरु बिहान आलुङ (गाजर मुलाहरु सबै मिसाएर फापरको पिठो र सागहरु घिउसँग मिसाएर खाने परिकार) खान्छन् ।

यस्तो हुँदा दिनभरी काम गर्न आलस्य लाग्दैन । थाक खोलामा सबैको खाना यही हो । त्यहाँ धान धेरै उत्पादन हुँदैन । त्यसैले उनीहरु चामलको खासै प्रयोग गर्दैनन् । फापरको रोटीलाई भोकेन भनिन्छ । यो अरु रोटीभन्दा बाक्लो हुन्छ । भोकेन र आलुङको साथमा कसैले कन्टेम्बा (फापरको पिठोको परिकार), फोप्पोक (फापरको पिठोको ठल्लो बनाएर उमाल्ने), लारजी जस्ता परिकारहरु लोप हुने क्रममा छन् । यो थाकखोलामा कतैकतै खाने भएपनि रेस्टुरेन्टहरुमा प्रायः पाईँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?