Comments Add Comment

काष्ठमण्डप पुनर्निर्माणको आधा काम सकियो

५ कात्तिक, काठमाडौं । काष्ठमण्डप पुनर्निर्माणको काम करिब आधा सकिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिले सोमबार सार्वजनिक सुनुवाई गरी पुनर्निर्माणको काम आधा सकिएको जानकारी दिएको हो । उपभोक्ता समितिका अध्यक्ष राजेश शाक्यले पुनर्निर्माणका लागि रकम अभाव नभएको बताए ।

काठमाडौं महानगरपालिकाले दिने भनेको साढे ५ करोड रुपैयाँमध्ये ३ करोडमात्र खर्च भएको शाक्यले जानकारी दिए ।

२ बर्षभित्र काम सक्ने गरी काम भइरहेकामा काठ अभावले समस्या परेको उपभोक्ता समितिले बताएको छ । हालसम्म ४ हजार क्युफिट काठ उपयोग भइसकेको र अझै १२ हजार क्युफिट काठ चाहिएको समेत बताए ।

उनले भने ‘यसअघि मन्दिरलाई चाहिने काठ प्रदेश २ बाट ल्याइएको थियो भने अब चाहिने काठ प्रदेश १ बाट ल्याउने तयारी भइरेहको छ ।’

सातौं शताब्दीमा निर्माण भएको मानिएको काष्ठमण्डप २०७२ को भूकम्पले क्षति पुगेपछि यस वर्षदेखि उपभोक्ता समितिमार्फत पुनर्निर्माणको काम भइरहेको छ ।

सम्पदा विज्ञ डा. सुर्दशन तिवारीले मन्दिर पुनर्निर्माण गर्दा पराम्परागत प्रविधिको प्रयोग गरी मन्दिरको पुनर्निर्माण भइरहेको बताए । उनले भने ‘इँटा बोक्ने, काठ ठड्याउने लगायतको काम पनि परम्परागत तरिकाबाट भएको हो ।’

यसैगरी हनुमान ढोका हेरचाह अड्डाका प्रमुख अरुणा नकर्मीले हाल प्रयोग भइरहेको परम्परागत प्रविधि गलत नभएको बताइन् । उनले परम्परागत प्रविधिले मन्दिरलाई नमुनाको रुपमा जिउँदो राख्न सकेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment