Comments Add Comment

नेपाल बंगलादेश वैठकमा क्षेत्रीय उडान विस्तारबारे छलफल

५ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीच दुईदेशीय व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा शुरु भएको छ । बुधबारसम्म चल्ने बैठकको एक एजेण्डा नेपालका दुई क्षेत्रिय बिमानस्थल बिराटनगर र भद्रपुरबाट बंगलादेशको आन्तरिक विमानस्थलसम्म उडान विस्तार गर्ने हो ।

प्राबिधिक समितिको बैठकमा नेपालले उठाउने एजेण्डामध्ये यी दुई विमानस्थलबाट बंगलादेशको साइदपुर विमानस्थल रंगपुरमा उडान बिस्तार गर्ने रहेको छ । सम्भव हुने गन्तब्यमा क्षेत्रीय उडान बिस्तार गर्ने सन्दर्भमा छलफल चलिरहेको छ ।

त्यसो त सन् २०१८ मा नेपालमा सम्पन्न नेपाल र वंगलादेशबीच वाणिज्य सचिवस्तरीय बैठकमै दुई मुलुक यस रुटमा हवाई सञ्जाल बिस्तार गर्न सहमत भइसकेका छन् । त्यसका लागि आवश्यक तयारी गर्ने तथा पूर्वाधार निर्माण गर्ने सम्बन्धमा पनि त्यसबेला सहमति भएको थियो ।

‘क्षेत्रिय उडान सम्भव हुने विमानस्थललाई सकेसम्म धेरै गन्तब्यसँग जोड्ने नेपालको नीति अनुसार नै छलफल चलिरहेको छ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने ।

सचिवस्तरीय बैठकमा सम्भावित एयर रुटबारे सम्बन्धित मुलुकका नागरिक उड्डयन प्राधिकरणमार्फत अध्ययन गर्ने सहमति भएको थियो । उक्त विषयमा अहिलेसम्म दुबै देशका तर्फबाट भएको प्रगतिका सम्बन्धमा जारी वैठकमा छलफल हुने बताइएको छ ।

सूचना अधिकृत पौडेलका अनुसार विराटनगर तथा भद्रपुर दुबै विमानस्थल क्षेत्रीय उडान विस्तारका लागि योग्य छन् । दुबै देशबीच उडान संचालन गर्ने सहमति जुटे कतिपय पूर्वाधार थप गरेरै भए पनि विमानस्थल बिस्तार गर्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment