Comments Add Comment

आर्यघाटमा आन्दोलन, शवदाह बन्द गर्ने घोषणा

६ कात्तिक, काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने घोषणा गरेका छन् । शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले अनलाइनखबरसँग भने, ‘समस्या समाधानको लागि हामी अहिले वार्तामा छौं ।’

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो ।

यो पनि पढ्नुहोस घाट, काठ र खाटको कनेक्सनः कफिनमाथि सुत्छन् शहरका करोडपति

पशुपति आर्यघाटमा दैनिक झण्डै एक सय वटा शव जल्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. ढकालले कर्मचारीको आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताए । उनले भने, ‘हामीसँग विद्युतीय शवदाह गृह पनि छ । त्यसबाट पनि काम हुन्छ ।’

हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।

घाट सेवाकेन्द्रमा शव जलाउने कार्यमा ४९ कर्मचारी छन् । उनीहरुले एक जलाएबापत १ हजार ६० रुपैयाँ पाउँछन् । यो शुल्क कम भएकाले त्यसलाई बढाएर १ हजार ५ सयदेखि २ हजारसम्म बनाउनुपर्ने उनीहरुको माग छ ।

अहिले पशुपति क्षेत्र विकास कोषले ६० वर्ष पुगेका कर्मचारीलाई १ लाख ५० हजार उपदानसहित बिदा दिने निर्णय पनि गरेको छ । तर आन्दोलनरत कर्मचारीहरू यसको विरोधमा छन् । काम गर्न सक्ने कर्मचारीलाई काम गर्न दिइरहने र उपदान १० लाख बनाउनु पर्ने माग उनीहरुकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment