Comments Add Comment

पर्यटन प्रवर्द्धनका लागि गोरखामा मिनी चिडियाखाना बन्दै

६ कात्तिक, गोरखा । पर्यटन प्रवर्द्धनका लागि गोरखा नगरपालिका–५ पश्चिमकालीमा मिनी चिडियाखाना सञ्चालनको तयारी गरिएको छ । सो क्षेत्रमा रहेको ठूलो सामुदायिक वनको जग्गामा चिडियाखाना सञ्चालन गर्न लागिएको हो ।

‘जनावर राख्ने घर निर्माण गरिसकेका छौं,’ वन उपभोक्ता समितिका अध्यक्ष दिपक भट्टराईले भने, ‘वरपर क्यारी निर्माण हुँदैछ ।’ संरचना निर्माणका लागि वन बिभागबाट दश लाख रकम प्राप्त भएको उनले बताए । डिभिजन वन कार्यालयले पनि पाँच लाख रकम उपलब्ध गराएको छ । सामुदायिक वनको पर्यापर्यटन प्रवर्द्धन कार्यक्रम अन्तरगत रकम दिइएको कार्यालयले जनाएको छ ।

भट्टराइले भने, ‘पश्चिमकाली धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र हो, यहाँ चिडियाखाना सञ्चालन गरेपछि बाह्य र आन्तरिक पर्यटन बढ्छन् भन्ने अपेक्षा गरेका छौं ।’ स्थानीय स्तरमा पाइने बिभिन्न जातका जनावर र चराचुरुङ्गी चिडियाखानामा राखिने उनले जानकारी दिए ।

चिडियाघरमा वन कुखुरा, कालिज र मृग राख्ने तयारी भइरहेको उनले बताए ।  नीलगाईका लागि पोखरामा र मयुरका लागि चितवन राष्ट्रिय निकुञ्जमा सम्पर्क भइसकेको उनले बताए । संरचनाहरु तयार भइनसकेकाले अहिले जनावर राख्न सक्ने अवस्था नरहेको उनले बताए ।

‘अझै धेरै काम बाँकी छ, थप रकम सहयोगका लागि वन बिभागको महानिर्देशकलाई प्रपोजल बुझाएका छौ,’ भट्टराइले भने । खुल्ला चिडियाखानाको अवधारणा अनुसार मिनी चिडियाखाना सञ्चालन गर्न लागिएको उनको भनाइ छ । ‘दुइ हेक्टर क्षेत्रफलको जमिनलाई तारवारले घेर्ने र जनावर बाहिर खुल्ला चर्न सक्ने गरी भौतिक पूर्वधारहरु निर्माण गरिने उनले बताए । उड्ने चराचुरुङ्गीलाई भने चिडिया घरभित्र राख्ने गरी भौतिक संरचना निर्माण गरिने उनले बताए । साँझपख बास बस्नका लागि खोर पनि निर्माण हुने उनले बताए । गोरखासँगै छिमेकी जिल्लामा उद्धार गरिएका वन्यजन्तुलाई राख्नका लागि पनि चिडियाखानाले सहयोग पुग्ने डिभिजनल वन अधिकृत तोयानाथ पौड्याल बताउछन् । संरक्षण र हेरचाहका लागि व्यक्ति राख्ने तयारी भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment