Comments Add Comment

बुबाको मृत्युको दोष लगाउँदै छिमेकीको हत्या, दुई वर्षपछि युवक पक्राउ

६ कात्तिक, विराटनगर । बुबाको मृत्यु भएपछि मोरङ रंगेलीका एक युवकले छिमेकी वृद्धको हत्या गरेको प्रहरीले दाबी गरेको छ । २०७४ असार ११ गते रंगेली नगरपालिका–९ दर्बेशाका ६५ वर्षका पहाडचन्द राजवंशीको हत्या भएको थियो ।

दुई वर्षपछि हत्या आरोपमा पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दै प्रहरीले आफ्नो बुबाको मृत्युको रिसइबीमा पहाडचन्दको हत्या भएको निश्कर्ष निकालेको हो ।

पहाडचन्दको हत्या आरोपमा प्रहरीले रंगेली ९ दर्बेशाका १९ वर्षका भरतलाल राजवंशी पक्राउ परेका छन् । उनले आफ्नो बुबा हरिको ३६ वर्षको उमेरमा मृत्यु भएपछि छिमेकी पहाडचन्दको घाँटी र टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका राजवंशीले घटनामा संलग्नता स्वीकार पनि गरेका छन् । गाउँमा बोक्सो आरोप लागेका पहाडचन्दले तन्त्रमन्त्र गरेका कारण बुबाको मृत्यु भएको अन्धविश्वासका आधारमा भरतले धारिलो हतियार प्रहार गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

भरतलालले बुबाको मृत्यूको एक महिनापछि बाटो ढुकेर पहाडचन्दलाई खुकुरी प्रहार गरेको प्रहरीको दाबी छ ।

घटनापछि राजवंशी भागेर भारत पुगेका थिए । केही दिनअघि घर आएका उनलाई मंगलबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए ।

अन्धविश्वासका कारण हत्या

पहाडचन्द गाँउका धामी थिए । बेला बेला झारफुक गर्ने उनलाई गाउँलेले बोक्सोको आरोप लगाउँदै आएका थिए । गाउँमा कसैको मृत्यु भए उनीमाथि नै आरोप आउँथ्यो । गाउँकै व्यक्तिको मृत्यु भएपछि स्थानीयले २०६९ साल असोज १३ गते पहाडचन्दलाई कुटपिट गरी मलमूत्र खुवाएका थिए ।

मलमूत्र खुवाएको आरोपमा प्रहरीले नौ जनालाई पक्राउ गरेर मुद्दा चलायो । जिल्ला अदालतले दुई जना महिलालाई साधारण तारेख र सात जना पुरुषलाई जनही दुई हजार धरौटीमा छाड्ने आदेश दियो ।

प्रहरीका अनुसार कुटपिट गरी मलमूत्र खुवाएको आरोपमा पक्राउ पर्ने नौं मध्ये एक भरतका बुबा हरि पनि थिए । तर २०७४ सालमा उनको मृत्यु भएपछि गाँउमा पुनः पहाडचन्दमाथि तन्त्रमन्त्र गरेको आरोप लाग्यो । भरतले बाटो ढुकेर वृद्ध पहाडचन्दलाई खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक दाहालले बताए ।

घटनालगत्तै प्रदेश प्रहरी कार्यालय विराटनगरबाट अनुसन्धान टोली गठन भएको थियो । तत्कालिन समयमा प्रदेशबाट गएको अनुसन्धान टोलीको नेतृत्व दाहालले गरेका थिए । २० दिनपछि अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाएका दाहालले घटनामा भरतको संलग्नता खुलेको बताएका थिए ।

तीन महिनाअघि प्रदेश प्रहरीबाट इलाका प्रहरी कार्यालय रंगेली पुगेका दाहालले आफैले अनुसन्धान गरेको पुरानो घटनाका आरोपी पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ अनुसार कारवाही प्रक्रिया अघि बढाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment