Comments Add Comment

मलेसिया राेजगारी रोकिँदाको प्रभाव : घट्याे रेमिट्यान्स

६ कात्तिक, काठमाडौं । नेपालको प्रमुख आयस्रोतका रुपमा रहेको रेमिट्यान्स आप्रवाह २ वर्षपछि पहिलोपटक ओरालो लागेको छ । रेमिट्यान्समा अत्यधिक निर्भर अर्थतन्त्रका लागि यो चिन्ताको विषय हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो दुई महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै रेमिट्यान्स घटेको जानकारी दिएको छ । राष्ट्र बैंकको आँकडाअनुसार अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा विप्रेषण आप्रवाह ०.३ प्रतिशतले कमी आई १ खर्ब ५३ अर्ब ७३ करोड रुपैयाँ भित्रिएको छ ।

अघिल्लो वर्षको साउन र भदौमा १ खर्ब ५४ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो । यस हिसाबले करिब ५० करोड रुपैयाँ रेमिट्यान्स घटेको छ ।

मध्यपूर्वी क्षेत्रबाट रेमिट्यान्स उल्लेख्य घटेको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बताए । असोज मसान्तसम्मको तथ्यांकमा भने रेमिट्यान्स बढ्ने उनको दावी छ ।

‘दशैंको बेला धेरै रेमिट्यान्स भित्रने सिजन हो,’ डेपुटी गभर्नर श्रेष्ठले भने, ‘पहिलो २ महिनामा थोरै घटेको छ, अब दशैंको तथ्यांक आए पछि पक्कै बढ्छ ।’

तर, अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो ।  राष्ट्र बैंकको विदेशी विनिमय विभागकी कार्यकारी निर्देशक सरिता भट्टले रेमिट्यान्स घट्नुको कारण मलेसिया राेजगारी हुनसक्ने उनले बताइन् ।

अब भने मलेसिया रोजगारी खुलिसकेको र दशैंका बेला रेमिट्यान्स धेरै भित्रने भएका कारण असोज महिनामा भने वृद्धि हुने कार्यकारी निर्देशक भट्टले बताइन् ।

मलेसिया रोजगारीको असर

मलेसियामा रोजगारी  एक वर्षभन्दा बढी समय बन्द भएर गत महिनाबाट खुलेको छ । त्यसको असरले रेमिट्यान्स घट्ने अर्थविद्हरुको विश्लेषण थियो । तर रेमिट्यान्सको वृद्धिदर ओरालो लाग्न थाले पनि परिमाण घटेको भने थिएन ।

गत आर्थिक वर्षदेखि नै रेमिट्यान्स आप्रवाहको वृद्धिदर खुम्चिदै आएको थियो । गत वर्षदेखि नै घटिरहेको वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्यामा भने भदौ मसान्तमा झिनो वृद्धि देखिएको छ ।

यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.२ प्रतिशतले बढेको राष्ट्र बैंकले बताएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो ।

गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या घट्नुको प्रतिफल यतिबेला रेमिट्यान्समा देखिएको प्रष्ट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment