Comments Add Comment

आर्यघाटमा शव जलाउनेहरुको सेवा सुविधा बढ्यो, आन्दोलन फिर्ता

Photo Credit : चन्द्र आले/अनलाइनखबर

६ कात्तिक, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउनेलगायतका कार्यमा संलग्न घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेको छ । सेवा केन्द्रका कर्मचारीहरुले सेवा सुविधा वृद्धिको माग गर्दै बुधबार बिहानबाट शव दाहलगायतका सबै काम बन्द गर्ने घोषणा गरेका थिए ।

उनीहरुको आन्दोलनबाट शव दाह नै रोकिनसक्ने भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र घाट सेवा केन्द्रका प्रतिनिधिबीच वार्ता भएको थियो । वार्तामा उनीहरुको सेवा सुविधा वृद्धि गर्ने सहमति भएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

ढकालले अनलाइनखबरसँग भने, ‘उनीहरुको माग धेरै वर्षदेखि नबढेको पारिश्रमिक बढ्नुपर्‍यो भन्ने थियो । हामीले एउटा शव जलाएवाफत पाउने १२ सय रुपैयाँबाट १५ सय र औषधि उपचार खर्च पाँच हजारबाट १५ हजार रुपैयाँ बनाइदिएका छौं ।’

यसका साथै अवकास पाउँदा उपदानवाफत् पाउने डेढ लाख रुपैयाँबाट पाँच लाख रुपैयाँ पुर्‍याउने र दुई लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गर्ने सहमति पनि भएको सदस्य सचिव ढकालले जानकारी दिए । यससँगै आन्दोलनरत पक्षले आन्दोलनका सबै कार्यक्रम फिर्ता गरेका छन् ।

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह, दाउरा ओसारपसार लगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका थिए । तर, काम भने रोकिएको थिएन । बिहानैबाट शव जलाउने लगायतका काम भने जारी थियो ।

काम ठप्प पारेर वार्तामा बस्ने उनीहरुको तयारी भए पनि कोषले त्यसो गरिए वार्ता नहुने र कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी दिएको थियो । त्यसपछि शवदाहको काम जारी राख्दै घाट सेवा केन्द्रका कर्मचारीका प्रतिनिधिहरु वार्तामा बसेका थिए ।

घाट सेवा केन्द्रका कर्मचारीको आन्दोलन घोषणापछि कोषको निर्देशनमा विद्युतीय शव दाह गृहको दुईवटै मेसिन प्रयोगमा ल्याइएको थियो । यसअघि एउटा मात्र मेसिन प्रयोग हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment