Comments Add Comment

शिलान्यासको ७ महिनासम्म पनि अघि बढेन नारायणगढ–बुटवल सडक विस्तार

Photo Credit : गत चैतमा नारायणगढ–बुटवल सडक आयोजना उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ।

६ कात्तिक, काठमाडौं । गत ८ चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडक विस्तार आयोजना तामझामका साथ शिलान्यास गरे । कार्यक्रममा उनले भनेका थिए, ‘अब सुरु भो काम, कसैले रोकेर रोकिन्न, ७५ देखि ८० सम्म सडक युग, ८० देखि सुरुङ युग सुरु हुन्छ ।’

तर, प्रधानमन्त्रीले शिलान्यास गरेको ७ महिना बित्दा पनि आयोजना अगाडि बढेको छैन । जबकि, आयोजनाको ठेक्का सम्झौता गत पुसमा नै भएको थियो ।

आयोजनाको काम अबको पुसमा पनि सुरु हुन्छ कि हुँदैन भन्ने अन्योल छ । अझै केही महिना काम सुरु गर्न सक्ने अवस्था नरहेको सडक विभाग स्रोतले बतायो ।

आयोजनाको पूर्वी खण्ड प्रमुख सुवास अधिकारीको भनाइमा रूख कटानको अनुमति नपाएकाले विस्तारको काम सुरु हुन नसकेको हो । रूख कटानका लागि अनुमति आउन समय लागेको दाबी उनको छ । विभागले वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट स्वीकृत गरेर रूख काट्ने अनुमतिका लागि वातावरण मन्त्रालयमा फाइल पेस गरेको लामै समय भयो । तर, स्वीकृतिमा ढिलाइ गरिएकाले यो आयोजना अलपत्र रहेको छ ।

सडक विभागका अनुसार अहिलेसम्म ठेकेदारले फिल्डमा उत्रिएर निर्माणको काम गरेको छैन । आयोजनाको दुई प्याकेजकै जिम्मा पाएको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन अहिले फिल्ड सर्भेको काममा सीमित छ । ठेक्का लिएको एक वर्षसम्म विस्तारका लागि काम थाल्न नपाउँदा कम्पनी असुन्तुष्ट छ ।

आयोजनाको काम थाल्नै एक वर्षभन्दा बढी लागेपछि उसले समयकै काम नसकिने संकत विभागसँग गरिसकेको छ । कम्पनीले विभागसँग ठेक्का मूल्य समायोजनको माग राख्न सक्ने विभागका एक अधिकारीले बताए ।

निर्माण कम्पनी विभिन्न ठाउँमा क्रसर तथा प्याचिङ प्लान्ट स्थापना गरेर तयारी अवस्थामा बसिसकेको सडक विभाग अन्तरगतको एडीबी आयोजना निर्देशनालयले जनाएको छ । तर, रूख कटानको काम सुरु हुन नसक्दा बिजुलीको पोल सार्ने काम पनि सुरु भएको छैन ।

यो आयोजनामा ११३ किलोमिटर क्षेत्रमा पोल सार्दा मात्रै ५० करोड बढी खर्च हुने अनुमान छ । विद्युत् प्राधिरकणले दिएको लागत स्टमेटमा सडक विभागले संशोधन गर्न माग गर्दै पुनः पत्राचार गरेको छ । रूख काट्ने र पोल सार्ने कामलाई पनि चिनियाँ कम्पनीले पाएको ठेक्काकै हिस्सा बनाइएको छ । बुटवलदेखि गैंडाकोटसम्म सडकको दुवै किनारामा रहेका झण्डै ५० हजार रुख काट्नुपर्ने अवस्था छ ।

सरकारले ठेकेदारलाई फिल्डमा पूर्वतयारी नसकी ठेक्का दिँदा देशभरका धेरै सडक आयोजनाहरुमा समस्या आउने गरेको छ । यो समस्या यो खण्डमा पनि देखिएको छ ।

यो आयोजना निर्माण अवधि साढे ३ वर्ष मात्रै हो । हालको अवस्थामा डेढ वर्ष समय ठेकेदारले आयोजनाको पूर्वतयारीमै बिताउनुपर्ने अवस्था देखिएको छ ।
सरकारले आयोजनाको पूर्वतयारी नगरी काम गर्दा ढिलाइ हुने समस्या पुरानै हो । तर, धेरै वर्ष अघिबाट चर्चा भएको यो आयोजनामा पनि निर्माण थाल्नुपूर्वको तयारी गर्न नै आधा समय बिताउनुपर्ने अवस्था आउनु दुखद् भएको विज्ञहरु बताउँछन् । यसैलाई ध्यानमा राखेर सरकारले यो खरिद नियमावली संशोधन गर्दै पूर्वतयारी नसकी ठेक्का लगाउन नपाउने नियम ल्याएको छ ।

कसरी हुन्छ काम ?

सरकारले पूर्व–पश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने काम यसै खण्डबाट सुरु गर्न लागेको छ । गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज १ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज २ मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम सुरु गर्न लागिएको छ ।

एसियाली विकास बैंकको ऋण सहयोग हुन लागेको सडक विस्तारको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको छ ।

कूल लागतमध्ये एडीबीले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी रकम नेपाल सरकारकै हुनेछ । एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो । साढे तीन वर्षमा सडक निर्माणको काम सके पनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नु पर्ने गरी सम्झौता भएको छ ।

विस्तार हुने सडकको गैंडाकोट–दाउन्ने खण्डको शहरी क्षेत्र (१७.७ कि.मि.) मा दुवैतर्फ ६ मिटरको सर्भिस लेन पनि हुनेछ । ग्रामीण क्षेत्र (४२.७ कि.मि) सर्भिस रोड विना ४ लेनकै हुने छ ।

जटिलो भूगोलको दाउन्ने उकालोमा ४.१ किलोमिटर क्षेत्र भने ३ लेनको हुने छ । यो खण्डमा १२ वटा ठूला पुल र ६ वटा वन क्षेत्र पर्छ । सडकलाई सुन्दर बनाउन मुख्य सडकको दुई लेनको बीचमा तीन मिटरको हरियाली भाग (ग्रिनरी बेल्ट) रहने छ । जहाँ बाह्रैमास हरियाली बनाउने भनिएको छ ।

विस्तारित सडकको दुईतर्फको लेनको चौडाई ७–७ मिटर हुनेछ भने एक लेन साढे ३ मिटरको हुनेछ । विस्तारपछि दाउन्ने उकालोमा गुड्ने सवारीसाधनले २ लेन र ओरालोमा गुड्नेले १ लेन प्रयोग गर्ने छन् ।

सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने दाबी सडक विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment