
६ कात्तिक, काठमाडौं । बसुन्धारास्थित गि्रनसिटी अस्पतालको आकस्मिक कक्षमा ऐया… दुख्यो… भन्दै रोइरहेका बालकालिकाको कोलाहल छ । स्कुल ड्रेसमै रहेका बालबालिकामध्ये कसैको खुट्टामा पट्टी लागेको छ, कसैको हातमा । कतिको नाक र मुखमा चोट लागेको छ ।
धर्मस्थलीस्थित विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भाँचिँदा ३९ जना विद्यार्थी घाइते भएका हुन् ।
स्कुलमा पछिल्लो फुटबल प्रतियोगिता भइरहेको थियो । फुटबल खेल हेर्न बालबालिकालाई बार्दलीमा राखिएको थियो । खेल हेरिरहेका बेला बुधबार एक्कासी बार्दलीको रेलिङ भाँचियो । त्यहाँ भएका सबै विद्यार्थी भूईँमा बजारिए ।
शिक्षक र अभिभावक मिलेर घाइते विद्यार्थीहरुलाई तत्काल ग्रिनसिटी अस्पताल ल्याइएको छ ।
विद्यार्थीहरुको उपचार चलिरहेको छ । उनीहरु मध्ये एकको अवस्था निकै गम्भीर छ । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
एकजनाका दुबै हात भाँचिँएको छन् भने दुईजनाका खुट्टा । तीनजनाको एक/एकवटा हात भाँचिँएको अस्पताल स्रोतले जनाएको छ । धेरै विद्यार्थीको अनुहारमा चोट लागेको छ ।
घाइतेमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर राखिएको छ भने केही उपचारपछि घर फर्किएका छन् । अस्पतालमा भेटिएका अभिभावक प्रकाश अर्यालले भने, ‘स्कुलले उपचारको जिम्मेवारी हाम्रो हो भनेको छ ।’
महानगरीय प्रहरी वृत्त बालाजुका इन्स्पेक्टर बालनरसिंह राणाले घटनाको अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया 4