Comments Add Comment
प्रधानमन्त्रीलाई एसिडपीडित मुस्कानको चिठी :

प्रधानमन्त्रीलाई मुस्कानको चिठी : तपाईंको ठाउँमा म भए तेजाब हान्नेलाई फाँसी दिन्थेँ

पहिल्यै कडा कानून बनाइदिएको भए म अस्पतालमा हुने थिइनँ

८ कात्तिक, काठमाडौं । एसिड आक्रमणमा परेर कीर्तिपुर अस्पतालमा उपचाररत किशोरी मुस्कान अन्सारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठी लेखेकी छिन् । र, आफूमाथि एसिड हान्नेलाई फाँसीको सजय माग गरेकी छन् ।

कक्षा ९ मा अध्ययरत वीरगञ्जकी खातुनमाथि स्कुल जाने क्रममा २० भदौमा एसिड आक्रमण भएको थियो ।

एसिड आक्रमण गर्ने माजिद मियाँ र सम्साद मियाँ पक्राउ परिसकेका छन् । प्रहरीले दुवैजनामाथि ज्यान मार्ने नियत तथा तेजाबलगायत अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरूप पारेको मुद्दा दर्ता गरेको थियो । र, मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अनुसार मजिलाई १० वर्ष कैद र रु १ लाख जरिवाना तथा सम्सादमाथि ५ देखि ८ वर्ष कैद र रु १ लाखदेखि ५ लाखसम्म जरिवाना मागदाबीसहित जिल्ला अदालतमा फाइल दर्ता गरेको थियो ।

यो पनि पढ्नुहोस मुस्कानको मुहारमा मुस्कान ल्याउनेहरु …. तर जिल्ला अदालतले दुबै नाबालिग (उमेर १६ देखि १८ वर्ष) रहेको भन्दै सुधार गृहमा पठाइएको छ ।

प्रधानमन्त्रीलाई लेखेको चिठ्ठीमा खातुनले त्यसप्रति असन्तुष्टि जनाएकी छन् । उनले भनेकी छन्, प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।’

उनले केही वर्ष पहिले सीमा बस्नेत र संगीता खड्कामाथि एसिड आक्रमण भएको बेला नै कडा कानुन बनाइदिएको भए आफू अहिले यो अवस्थामा नै आउने थिइन होला समेत भनेकी छन् ।  

यस्तो छ चिठी

मिति :२०७६/७/५

माननीय प्रधानमन्त्रीज्यू
म मुस्कान खातुन अन्सारी

मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घट्यो । यो घटनाको पीडा भनेको ठुलो पीडा हो । पहिले सीमा बस्नेत र संगीता खड्कालाई एसिड आक्रमण भएको बेला कडाभन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुने थिइन होला । प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई सरकारको ठाउँमा म भइदिएको भए तेजाब हान्ने अपराधीलाई फाँसी दिन्थे होला ।

यसपाली एसिड आक्रमणकारीले ठुलो भन्दा ठुलो सजाए पाओस् ता कि म जस्तो एउटा बलिकामाथि या चेलीबेटी कसैमाथि तेजाव आक्रमण नहोस् । मैले जति पीडा  खपेको छु, त्यो पीडा अरु कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशको ठूलो पीडा हो । आमा र बुवाको पनि पीडा धेरै ठुलो पीडा हो । यो पीडा  कसैको आमा र बुवाले खप्नु नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो भन्दा ठुलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस्। यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलीबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment