Comments Add Comment

राजपुर विष्फोटः तत्कालीन अनुसन्धान अधिकृतसँग सोधपुछ थालियो

प्रदेश प्रहरी प्रमुख कार्की भन्छन्– जरुरी परे जोसुकैलाई बोलाउँछौं

Photo Credit : मोहमत अफ्ताब आलम

१० साउन, काठमाडौं । रौतहटको राजपुर–४ मा १२ वर्षअघि भएको विष्फोटका वेला राजपुर क्षेत्रमा खटिएका प्रहरी निरीक्षक इन्द्र सुवेदीसँग प्रहरीले सोधपुछ गरेको छ ।

हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा खटिएका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवेदीले जिल्ला प्रहरी कार्यालय, रौतहतका अनुसन्धान अधिकृतलाई घटना भएको दिनबारे जानकारी गराएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका एक अधिकृतका अनुसार सुवेदीले घटना भएकै दिन राति सरुवा भएकाले विस्तृत बुझ्न नपाएको बताएका छन् । त्यसवेला उनी इलाका प्रहरी कार्यालय, राजपुरमा खटिएका थिए ।

राति १० बजे सरुवा भएको उनको भनाइ छ । तर, घटना २७ चैत ०६४ मा साँझ ६ः१५ बजे भएको थियो । सरुवा हुनु अघि करिब पौने ४ घन्टासम्म नजिकै रहेको प्रहरी कार्यालयका इञ्चार्ज सुवेदी किन त्यहाँ पुगेनन् भन्ने पनि प्रश्न उठेको छ ।

‘उहाँले आफू घटनास्थलमै नपुगेको बताउनु भयो’, ती अधिकृतले सुवेदीको बयान उदृत गर्दै भने । सुवेदीपछि राजपुरमा खटिएका प्रहरी निरीक्षक राजीव बस्नेत भने अनुसन्धान अधिकृतको सम्पर्कमा आएका छैनन् ।

तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेको एसएसपीका रुपमा सेती अञ्चल प्रहरी कार्यालय, धनगढीमा कार्यरत् रहँदा झडपमा मृत्यु भइसकेको छ । प्रहरीले घटना भएको वेलाका मध्य क्षेत्रीय प्रहरी प्रमुख डीआईजी किरणकुमार गौतम (एआईजीबाट अवकाश प्राप्त) लाई पनि सोधपुछका लागि बोलाएको छ । तर, उनी सम्पर्कमा आएका छैनन् ।

प्रहरीले सशस्त्र प्रहरीका तत्कालीन एसपी रामकृष्ण लामा, प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारी, सरकारी वकिल कार्यालय, रौतहटका प्रमुख ध्रुवमणि ज्ञवाली लगायतलाई पनि सोधपुछका लागि बोलाएको छ । तर, हालसम्म अनुसन्धान अधिकृतसँग सम्पर्क भएको छैन ।

सशस्त्र प्रहरीका एसपी लामाको गाडीले विष्फोटका घाइतेलाई हालिएको ट्याक्टरलाई स्कटिङ गरेर इँट्टाभट्टातिर लगेको आरोप छ । उनले ०७० सालमा सशस्त्र प्रहरी बलबाट अवकाश पाइसकेका छन् । तर, उनलाई हालसम्म प्रहरीले भेट्न सकेको छैन ।

यो पनि पढ्नुहोस ‘इँटाभट्टाको आगोमा बोरा हाल्दा प्रहरी सँगै थिए’

विष्फोटकका घाइतेलाई जिउँदै इँटाभट्टामा हालेर पोलिएको विवरण पनि आएका छन् । तर, कति जनालाई पोलियो भन्ने यकिन विवरण आइसकेको छैन ।

भारतको सीतामढीमा पढ्ने २२ वर्षका त्रिलोकप्रताप सिंह पिन्टु र २१ वर्षका वसी अख्तर आलम हालसम्म बेपत्ता छन् । उनीहरुसहित कम्तिमा ११ जना घाइतेलाई जिउँदै जलाइएको प्रत्यक्षदर्शीको बयान छ ।

आईजीपी राणा पनि घटनास्थल गएको दाबी

प्रहरी निरीक्षक सुवेदीलाई जिल्ला प्रहरी कार्यालयमा तान्न मध्य क्षेत्रका डीआईजी गौतमले आदेश दिएको एक अनुसन्धान अधिकृतले बताए । त्यसपछि उनी आफैं रौतहट पुगेको बताइएको छ ।

उनले तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणालाई घटनाबारे विफ्रिङ गरेको स्रोतले बतायो । त्यसपछि राणामा पनि रौतहट पुगेको स्रोतको दाबी छ ।

तर, प्रहरीले उनलाई सोधपुछको दायरामा राखेको छैन ।

२ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी प्रद्युम्न कार्की भने अनुसन्धानका क्रममा बुझ्नु पर्ने जो कोहीलाई पनि पत्र काटिने बताउँछन् । उनले अनुसन्धान जारी रहेकाले सोधपुछको दायरामा आउन सक्ने व्यक्तिको नाम भने किटान गरेनन् ।

‘यो केशमा बुझ्नु पर्ने कुरामा हामी कन्जुस्याइँ गर्दैनौं । जरुरी परे जो सुकैलाई बोलाउँछौं । अनुसन्धानमा सहयोग गर्नु सबैको कर्तव्य हो’, उनले अनलाइनखबरसँग भने ।

रौतहटका प्रहरी प्रमुख भुपेन्द्र खत्रीले भने अनुसन्धान जारी रहेको बताउँदै विस्तृत विवरण बताउन मानेनन् । यद्यपि, तिहारपछि प्रहरीको रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइने उनले अनलाइनखबरसँग भने ।

यो पनि पढ्नुहोस आलम संलग्न अर्को अपराध : जिविस सदस्यलाई झुन्ड्याएर मार्ने उद्योग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment