Comments Add Comment

ढाका टोपी शिरैमा ढलक्कै ढल्कियो 

चेलीले माइतीलाई स्नेहपूर्वक दिने सर्वोत्तम उपहार

गलामा सायपत्री र मखमलीको माला । निधारमा सप्तरंगी टिका । र, शिरमा ढाका टोपी । आहा कति सुहाउँछ ?

नेपाली ठाँटमा सजिएका दाजुभाई देख्दा चेलीको मन उमंगित हुँदो हो ।

ढाका टोपी हाम्रो आफ्नै चिनारी हो । आफ्नो गौरव हो । यो केवल शिर ढाक्ने बस्त्र मात्र होइन । नेपाली समाजमा ढाका टोपीको आफ्नै विशिष्ठ स्थान छ । यसलाई हाम्रा पूर्खाले शिरपोसको उपमा दिए । यो हाम्रो आस्थाको प्रतिक पनि हो । यसले हिमालका चुचुरालाई बिम्वित गर्छ । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मान प्रतिष्ठा बढ्छ भन्ने विश्वास गरिन्छ ।

तिहारमा चेलीले माइतीलाई स्नेहपूर्वक दिने सर्वोत्तम उपहार  हो यो ।

ढाका टोपी नै किन ?

चेलीले माइतीलाई ढाका टोपी नै पहिर्‍याइदिनुको अर्थ के ? खासमा ढाका टोपी एक सांकेतिक बस्त्र पनि हो । आफ्ना माइतीको शिर सधैं उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देश यसले बोकेको छ । साथसाथै यसले माइतीको स्वास्थ्यप्रतिको ख्याल पनि दर्शाउँछ ।

तिहार भनेको गर्मीको अन्त्य र जाडो यामको सुरुवात हो । जाडो याम आउँदै गर्दा टाउको सुरक्षाका लागि टोपी लगाउनु उपयुक्त हुन्छ । संभवत चेलीले आफ्ना माइतीको स्वास्थ्यको ख्याल राख्दै ढाका टोपी दिने प्रचलन सुरु गरेका हुन् ।

त्यसो त जति जति तिहार नजिकिदै जान्छ, ढाका टोपीको बजार फैलदै जान्छ । चोक, गल्ली जताततै ढाका टोपी बिक्रीका लागि सजाइन्छ । ढाका टोपी तिहारकै पर्याय जस्तो भएको छ । तिहारकै एक अंश जस्तै भएको छ । एकअर्काको परिपूरक झै भएको छ ।

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी कुनैबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यको दौरान निदार तथा शिर खाली राख्नु हुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्य पश्चात्त ढाका टोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटिकाको दिन हरेक दिदीबहिनीले दाजुभाईलाई ढाका टोपी लगाइदिने चलन रहेको बुझिदै आएको छ ।

ढाका टोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने ढाका टोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो । निदार सहति सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ । त्यस्तै, बंगलादेशको ढाका शहरबाट यस किसिमका कपडा आयायित भएकोल पनि यसलाई ढाका भन्ने गरेको पाइन्छ ।

ढाका टोपी दाउरा सुरुवालका साथमा माथमा लगाइने गरिन्छ । ढाका टोपी  नेपालीहरुको राष्ट्रिय पोशाक पनि हो ।

तर, अहिले ढाका टोपी पहिर्‍याइदिने चलन हराउँदै गएको छ । बरु अन्य किसिमको लुगाफाटो उपहार दिने क्रम झांगिएको छ । ‘भाइटिकामा माइतीको टाउको खाली राख्नहुँदैन’ भन्ने मान्यतालाई पनि अहिले बेवास्ता गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment