Comments Add Comment

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

११ कात्तिक, सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै ठाउँमा सोमबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु  भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्लाको सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा भएको दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सप्तकोशी नगरपालिका ५ गंगाजली टोलस्थित कञ्चनपुर फत्तेपुर सडक खण्डमा कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को ३३ प ५२७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री सप्तकोशी नगरपालिका १ नयाँ बजारका ४० बर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

शर्मालाई ठक्कर दिने क्रममा मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका ११ ठेलिया बस्ने २६ बर्षीय दिपेशकुमार गोजेवार पनि घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

यस्तै, राजविराज ९ मलेठस्थित राजविराज रुपनी सडक खण्डमा ट्याक्टरले दिएको ठक्करबाट एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स १ त ४३६९ नम्बरको ट्याक्टरले दिएको ठक्करबाट बा ३८ प ७१९५ नम्बरको मोटरसाइकल चालक रुपनी गाउँपालिका ५ मुसहरनिया बस्ने अन्दाजी बर्ष १९ को दिपेश यादवको मृत्यु भएकोृ छ ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका २२ बर्षीय रुपेशकुमार खंग घाइते भएका छन् । उनको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय, राजविरावजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment