Comments Add Comment

तामा खानी बन्द भए, सुरुङ मोटरबाटोले पुरियो

११ कात्तिक, रामेछाप । एक समय जिल्लामा दर्जनभन्दा बढी तामा खानी सञ्चालनमा थिए । स्थानीय उपकरण र प्रविधिकै प्रयोग गरी खानीबाट तामाको धाउ निकालिन्यो र गाउँमै भाँडा वर्तनहरु बनाउने गरिन्थ्यो । सुरुङ् बनाएर भित्र पसेको र धाउ निकाल्ने बुढापाकाहरु अहिले पनि सुनाउँछन् ।

उनीहरुका अनुसार स्थानीयस्तरमा बनाइएका छिनोले पहरो खोपेर तामाखानीको धाउ भएको ठाउँसम्म पुग्ने सुरुङ बनाइन्थ्यो ।

त्यतिबेला सुरुङभित्रबाट धाउ निकाल्ने प्रविधि स्थानीयस्तरमा नै विकास गरिएको भूगोलविद् एवम रामेछापका पूर्वसाँसद देवशंकर पौडेलले बताए ।

लिखु तामाकोसी गाउँपालिकाको खिम्ति, सैपु, बिजुलीकोटलगायतका स्थानहरु, खाँडादेवीको माकादुम, गागल, गोकुलगंगाको नामाडी, उमाकुण्डको पि्रति, दोरम्बा र सुनापति गाउँपालिका र रामेछाप नगरपालिकाको हिमगंगालगायतका स्थानहरुमा तामा खानी सञ्चालनमा थिए ।

जिल्लाको खिम्तिको शिवालायमा सञ्चालन भएको तामाखानीबाट उत्पादन भएको तामाबाट बनेका भाँडाहरु अहिले पनि खिम्तिका धेरै नागरिकको घरहरुमा प्रयोगमा रहेको साविको खिम्ति गाविसका पूर्वअध्यक्ष मुकुन्दप्रसाद कँडरिया बताउँछन् ।

शिवालयमा तामा निकालिएको खानीका सुरुङ्हरु अध्यावधिक छन् । सुरुङमा अझै पनि भित्रसम्म छिर्न सकिने स्थानीय भोजराज कँडरिया बताउँछन् ।

तर, धाउ निकाल्न छाडिएको छ । कतिपय सुरुङहरु केटाकेटीलाई खेल्ने ठाउँ बनेका छन् भने केही मोटरबाटो खन्दा पुरिएका छन् ।

तामा खानी पुनः सञ्चालनका लागि सम्बन्धित निकाय ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

विश्व बजारमा तामाको भाउ बढेको बेला खानीहरु सञ्चालनमा ल्याउन सके रामेछाप र आसपासका जिल्लाका नागरिकलाई रोजगारी र समृद्धि दिलाउन सकिने भूगोलविद् पौडेलको भनाइ छ ।

  • नवराज पथिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment