Comments Add Comment

भाइटीका लगाउँदा कता फर्किने ? कुन-कुन रंग प्रयोग गर्ने ?

१२ कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

उत्तम साइत ११ बजेर ५५ मिनेटमा

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । राज्य सञ्चालकले साइतमै टीका लगाउनु पर्ने र सर्वसाधारणले भने दिनभरी नै टीका लगाउन सक्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।

भाइटीका मध्याह्नमा लगाउनु पर्ने भएकाले ११ बजेर ५५ मिनेटको साइत निकालिएको गौतमले बताए । यस वर्ष अभिजित महूर्त परेकाले साइतमै टीका लगाउँदा उत्तम हुने छ ।

कता फर्किने ?

भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । पञ्चांग निर्णायक समितिका सदस्यसचिव सूर्य ढुंगेलका अनुसार टीका लगाउने व्यक्ति उत्तर फर्किनुपर्छ ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीका लगाउँदा टीका लगाउने व्यक्ति पूर्व फर्किनुपर्ने भनेको थियो ।

भाइटीकाको विधि

भाइटीका लगाउँदा केही विधिहरु पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा सबैभन्दा पहिले गर्नुपर्छ । त्यसपछि मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ ।

त्यसपछि दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार टीका लगाइदिनुपर्छ । टीका लगाइदिइसकेपछि मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

त्यसपछि सँघारमा ओखर फुटाउने चलन छ । ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा टुक्रा भएर नास हुने विश्वास छ ।

सप्तरंगी होइन, पञ्चरंगी टीका

तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीका पञ्चरंगी हुनुपर्ने पञ्चांग निर्णायक समितिले जनाएको छ ।

भाइटीकामा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा रंगको टीका लगाउने भनेर शास्त्रमा उल्लेख गरिएको समितिका अध्यक्ष गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment