Comments Add Comment

मिथिला क्षेत्रमा मनाइयो भरदुतीया पर्व

१२ कात्तिक, जनकपुरधाम । तिहारको पाँचौ तथा अन्तिम दिन मंगलबार मिथिला क्षेत्रका जिल्लामा भरदुतीया पर्व मनाइएको छ ।

दाजुभाई आफ्ना दिदी बहिनीको घरमा पुगी न्यौता लिदैं भरदुतिया पर्व मनाउने गरिन्छ ।

कात्तिक शुक्ल पक्षको द्वितीया तिथिका दिन मनाइने यो पर्वमा भाइ बहिनीको प्रेम, स्नेह झल्किन्छ । भरदुतीयासहित भ्रातृद्वितीया, भाइदुजको नामले पनि मनाउने गरिन्छ ।

यो पर्वमा दिदी बहिनीले आफ्ना दाजुभाइलाई निमन्त्रणा दिई आफ्नो घर बोलाउने गर्छन् । यसपछि दिदी बहिनीले आफ्नो आँगनमा अरपन बनाउने गर्छन् ।

चामलको पिठोबाट अरपन बनाएर एउटा पिंढिया राखी दाजुभाइलाई त्यसमाथि बसाउने गरिन्छ । यसपछि दाजुभाइको निधारमा टीका र गालामा माला लगाइदिएर हातमा अरपन, पान, सुपाडी राखी दिदीबहिनीले एक पटक उठाउने गर्छन् ।

विवाहित दाजुभाइ भए चामलको पिठोसँगै सिन्दूर पनि लगाइदिने चलन छ । त्यसपछि हातमा पानी हालेर दिदी बहिनीले नै हात पखालिदिन्छन् ।

यो गरेसँगै दिदीबहीनीले एक पंक्तिको उच्चारण गर्ने गर्छिन् –
‘गंगा नोतय छैथ यमुना के, हम नोतय छी भाई कें !
जहिना जहिना गंगा-यमुना केँ धार बहय,
तहिना हमर भाय सबहक औरदा बढ्य’

आफ्नो दाजुभाइको दीर्घायुको कामना यसरी नै गर्दै दिदीबहिनीले यो पर्व मनाउने गर्छिन् ।

यस दिन दाजुभाइ आफ्नो सामथ्र्य अनुसार दिदी बहिनीलाई लत्ता, कपडा, मिठाई, फलफूलसहितका कोसेली दिने गर्छन् । यसबाहेक ग्रामीण क्षेत्रमा अहिले पनि खिर, पुरी, पडुकियासहितका पकवान समेत दिदीबहिनीलाई लगिदिने चलन छ ।

दिदीबहिनीले दाजुभाइलाई मीठा मीठा परिकारहरु बनाएर खुवाउने गर्छन् ।

यमराजलाई आफ्नी बहिनी यमुनाकहाँ जाने समय मिलिरहेको थिएन् । एक दिन यमुनाले निमन्त्रणा दिई यमराजलाई आफ्नो घर बोलाइन् । र, मीठा-मीठा परिकारहरु बनाएर खुवाइन् । यो दिन कात्तिक शुल्क पक्षको द्वितीया तिथि थियो ।

यमुनाद्वारा गरिएको आतिथ्यबाट प्रसन्न हुँदै यमराजले यमुनालाई वरदान माग्न भने । यमुनाले प्रत्येक वर्ष यो तिथिमा आफ्नो घर आउनका लागि भनिन् ।

उनले दिदी बहिनीले यो दिनमा आफ्नो दाजु भाइलाई आदर सत्कार गरी टीका लगाउने गरे तपाईंको भय नहुने वरदान मागिन् ।

यमराजले तथास्तु भनेर यमुनालाई अमूल्य वस्त्राभूषण दिएर यमलोक फर्केको किंदन्तीहरुमा उल्लेख छ । सोही दिनबाट यो पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment