Comments Add Comment

तारे होटलमा व्यापारिक घरानाको नालीबेली

होटेल व्यवसायमा किन आकर्षित भए व्यापारिक घराना ?

१४ कात्तिक, काठमाडौं । एक दशक अगाडिसम्म होटेल व्यवसायमा आवद्ध व्यवसायीको पृष्ठभूमि जेरीपुरी–समुसा पसल, पेडा, सेकुवासँग जोडिएको थियो । सानो व्यवसायबाट प्रारम्भ भएको उनीहरुको विजनेश जब बिस्तार भयो, त्यसपछि क्रमशः ठूला होटेल र रेष्टुराँतिर हात हाले ।

होटेल संघ नेपाल (हान) का पूर्वअध्यक्ष अमरमान शाक्य सम्झन्छन्, पहिले होटेल वा रेष्टुराँमा मानिसले आफ्नो ढुकुटीमा जम्मा गरेको पैसा लगानी गथ्र्यों । निकै मिहेनत गरी काम गथ्र्यो र पाहुनालाई खुसी राख्थ्यो । उनका अनुसार अब ट्रेन्ड परिवर्तन भएको छ । मानिसले विजनेशमा आफ्नो ‘आइडिया’ मात्र लगाउने हो । पैसा बैंकले लगानी गर्छ ।

सोहीअनुसार पछिल्लो समय अधिकांश व्यापारिक घराना आतिथ्य सेवाततर्फ आकर्षित भएको व्यवसायीहरु बताउँछन् । ‘अब नयाँ नयाँ क्षेत्रमा लगानी गर्न तपाईसँग नगद नै हुनुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘जुन क्षेत्रमा हात हालेपनि सजिलै चलाउछु भन्ने आत्मविश्वास बढेपछि अन्य पृष्ठभूमिका व्यवसायी पनि आतिथ्य सेवामा होमिएका हुन् ।’
त्यसो त सरकारले सन् २०२० मा वार्षिक २० लाख पर्यटक भित्राउने लक्ष्यसहित घोषणा गरेको भ्रमण वर्षलाई व्यवसायीले निकै आशाका साथ हेरेका छन् । मुलुकभित्र आउने २०–२५ लाख पर्यटक धान्न सक्षम हुने गरी होटेल पूर्वाधार निर्माण भइसकेको व्यवसायीहरुको भनाइ छ ।

नयाँ पुस्ताको आकर्षण आतिथ्यमा

विश्वभर चौधरी ग्रुप हस्पिटालिटी ग्रुपका रुपमा चर्चित छ । यद्दपि नेपालमा भने होटेलभन्दा बढी चाउचाउ र अन्य उद्योगका कारण चौधरी ग्रुपको पहिचान बनेको छ । तर, पछिल्लो समय यस समूहले हस्पिटालिटीमा लगानी बढाएको छ । त्यो पनि नेपालभित्रै । विदेशमा चौधरी ग्रुपको स्वामित्वमा डेढ दर्जन मुलुकमा होटेल तथा रिसोर्ट संचालनमा छन् । ती मुलुकमा १ सय २५ भन्दा बढी प्रोपर्टी यस ग्रुपको स्वामित्वमा छ ।

चितवनको मेघौली सेराई ।

विदेशमा स्थापित त्यो पहिचानलाई क्रमशः चौधरी ग्रुपले नेपाल भित्राउने प्रयासमा छ । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीका माइला छोरा राहुल चौधरीले हस्पिटालिटीमा राम्रो दख्खल राख्छन् । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स, चीन, अफ्रिकासम्म यस समूहको स्वामित्वमा होटेल खुलेका छन् ।

नेपालमा भने निकै ढिला मात्र चौधरी ग्रुपको प्रवेश भयो । ग्रुपले समिट होटेलको स्वामित्व किनेपछि नेपालमा पनि चौधरी ग्रुपको लगानी शुरु भयो । त्यसपछि चौधरी ग्रुपले चितवनको मेघौलीमा मेघौली सेराई नाममा एक लक्जरी रिसोर्ट स्थापना गर्‍यो । ललितपुरमा ताज भिभान्ता स्थापना गरी यो समूहले क्रमशः नेपाली आतिथ्य सेवामा आफूलाई स्थापित गराउँदै लगेको छ । चौधरी ग्रुपले खाद्यान्नसहित जलविद्युत, रियल इस्टेट, टेलिकम, मोवाइल, विद्युतीय सामग्री, वियर, सिमेन्टलगायत दर्जनौं उद्योगमा लगानी बिस्तार गरिसकेको छ ।

एमएस ग्रुप नेपालमा कपडा व्यापारबाट फस्टाएको व्यापारिक समूह हो । त्यसपछि उत्पादनमुलक उद्योगमा यस समूहको लगानी बिस्तार भयो । एमएस ग्रुपको तेस्रो पुस्ता व्यवसायमा आएपछि यो समूह होटेल व्यवसायतर्फ आकर्षित भयो । एमएस ग्रुपका प्रवन्धक निर्देशक शशिकान्त अग्रवाल टेक्सटाइल, स्टील, चिनी, स्पिनिङ मिल लगायतमा लगानी गरि उदाएका व्यवसायी हुन् । उनले एकै पटक दुई ठूला होटेलमा लगानी बिस्तार गर्दै हस्पिटालीटीमा आफ्नो बलियो उपस्थिति देखाएका छन् ।

एसएस ग्रुपले ठमेलमा फेयरफिल्ड मारियट होटेल संचालनमा ल्याएको एक वर्षपछि यसै वर्ष नक्सालमा मारियट होटेल सञ्चालनमा ल्यायो । पाँचतारे होटेल मारियटले धेरैपछि राजधानीमा एक अत्याधुनिक प्रोप्रटीसहित नयाँ पाँचतारेका रुपमा उदाउने होटेलको पहिचानसमेत प्राप्त गर्‍यो । एमएस ग्रुपका अनुसार यी दुई होटेलमा करीव ४ अर्ब रुपैयाँ लगानी भएको छ ।

चन्द्रागिरि हिल्स रिसोर्ट

रेमिट्यान्स व्यवसायबाट अगाडि बढेको आईएमई ग्रुपले चन्द्रागिरिमा अत्याधुनिक रिसोर्ट संचालनमा ल्याएको छ । रिसोर्ट यसै वर्षबाट संचालनमा आएको हो । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा चन्द्रागिरिमा दर्जनौं प्रडक्ट बनेका छन् । त्यसमध्ये एक हो चन्द्रागिरी रिसोर्ट । करीव १ सय कोठा रहेको यस रिसोर्टसँगै केवलकार, फनपार्क, रेष्टुरेन्टसमेत यस स्थानमा सञ्चालनमा आइसकेका छन् । यहाँ करीव ५ अर्ब लगानीमा विविध संरचना बनिसकेको ग्रुपको भनाइ छ ।

चन्द्र ढकालले आतिथ्य सेवामा आउनु अगाडी रेमिट्यान्स, बैंक, सहकारी, सूचना प्रविधि, ट्राभल, अटोमोवाइल, जलविद्युतजस्ता विविध क्षेत्रमा लगानी बिस्तार गरिसकेका छन् । चन्द्रागिरिको यो रिसोर्ट संचालनमा आएसँगै पर्यटकको कम्तिमा एक दिनको बसाई अवधि लम्बिने विश्वास कम्पनीको छ ।

नक्सालमा निर्माणाधीन डबल ट्री बाई हिल्टन

नक्साल भगवती मन्दिर नजिकै धमाधम बनिरहेको भवन डबल ट्री बाई हिल्टन होटेलको हो । यो होटेलमा शंकर ग्रुपको लगानी छ । यो होटेल पनि पाँचतारेको स्तरमा बनिरहेको छ । चर्चित होटेल चेन ब्राण्ड हिल्टनलाई व्यवस्थापनका लागि भित्राएको यो ग्रुपको पनि आतिथ्य उद्योगमा पहिलो पाइला हो । करीव ३ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको यो होटेल पछिल्लो समय काठमाडौंमा शुरु भएको ‘हाइराइज’ ट्रेन्डको अर्को नमुना बन्ने छ ।

होटेलसँगै यस समूहले स्टील, चाउचाउ, पाइपपोल उत्पादन गर्छ । जगदम्बा स्टिल यही समूहको लोकप्रिय उत्पादन हो । यसबाहके व्यापारमा पनि यो समूह राम्ररी जमिसकेको छ ।

अष्ट्रेलियामा जमेका धनाढ्य शेष घलेको लगानीमा काठमाडौंको कान्तिपथमा अर्को ठूलो होटेल बनिरहेको छ । घले गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष समेत हुन् । यो होटेलको निर्माण सन् २०१४ मै शुरु भए पनि विविध कारणवश  केही ढिला भएको छ । तर, अहिले निर्माणको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

होटल शेराटन

होटेलमा शुरुमै ८ अर्ब लगानीको घोषणा गरिएको थियो । होटेल अन्तरराष्ट्रिय होटेल चेन ब्राण्ड शेराटनले व्यवस्थापन गर्ने भएको छ । घले अष्ट्रेलियामा जमेका व्यवसायी हुन् । यद्यपि उनको पनि पृष्ठभूमि भने होटेल होइन । उनी रियल इस्टेट र सूचना प्रविधिसम्बन्धी जनशक्ति उत्पादन गर्ने शैक्षिक कम्पनीमार्फत व्यवसायमा होमिएका हुन् ।

यो परियोजना सञ्चालनमा आएपछि गैरआवासीय नेपालीको तर्फबाट नेपालमा सबैभन्दा ठूलो लगानीको परियोजना सञ्चालनमा आउनेछ ।

हाेटल अलफ्ट

बैंकर पृथ्वीबहादुर पाँडेले लगानी बिस्ताका क्रममा ठमेलमा एक अध्याधुनिक व्यापारिक कम्प्लेक्स छाँया सेन्टर खोलेका छन् । यसको माथिल्लो भागमा भने पाँचतारे होेटल अलफ्ट खुलेको छ । यो होटेल पनि यसै वर्षबाट संचालनमा आएको हो । विभागले यसै वर्ष होटेललाई पाँचतारे मान्यता दिएको छ । विश्वचर्चित होटेल चेन ब्राण्ड अलफ्टले व्यवस्थापन गरेको हो होटेलसहित पुरै कम्प्लेक्स निर्माणमा करी ५ अर्ब लगानी भएको कम्पनीले यसअघि नै घोषणा गरेको थियो ।

व्यवसायी पाँडे छायाँ सेन्टरलाई मिनी ठमेलका रुपमा स्थापित गराउने अभियानमा छन् । यस भवन भित्र होटलसँगै विभिन्न ब्राण्डेड पसल, ट्राभल एजेन्सी, वायुसेवा कम्पनी, सिनेमा हलजस्ता सुविधा उपलब्ध गराइएको छ । यस होटेलमा बैंक, निर्माण, जलविद्युत, पर्यटनजस्ता विविध क्षेत्रमा जमेका व्यापारी तथा उद्योगीले संयुक्त रुपमा लगानी गरेका छन् ।

नेपाली व्यवसायिक क्षेत्रमा स्व. प्रभाकर शमशेर राणाको निकै उच्च स्थान छ । उनले खडा गरेको व्यवसायिक धरातलमा उभिएर उनका सन्तानहरुले व्यवसायलाई अगाडी बढाइरहेका छन् । प्रभाकर शमशेरको भने गत जेठमा निधन भयो । आतिथ्य सेवाबाटै व्यवसाय थालेका उनले अहिलेको सोल्टी होटेललाई अन्तर्राष्ट्रिय स्तरमै स्थापित बनाए । उनका परिवारले अहिले व्यापारदेखि जलविद्युतमा समेत लगानी बिस्तार गरेका छन् ।

नेपालमा चर्चित टाटा गाडी आयात गर्ने सिप्रदीका नामबाट धेरै क्षेत्रमा लगानी गरिरहेको छ । प्रभाकर राणाका छोरा सिद्धार्थ शमशेर राणाको नेतृत्वमा अहिले धेरै व्यवसाय संचालनमा छन् । यस घरानाले रविभवनमा सिप्राभ्य होटेल संचालनको घोषणा गरिसकेको छ । यसबाहेक बर्दियामा पनि राणा घरानाले होटेल निर्माण गर्ने गरी योजना बनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष रविभक्त श्रेष्ठको समूह एनई ग्रुपले होटेल र आतिथ्य सेवामा आफ्नो लगानी विस्तार गरिरहेको छ । एनइ ग्रुप आफैंले होटेल सञ्चालनमा ल्याउनुभन्दा अन्य समूहसँगको साझेदारीमा लगानी बढाइरहेको छ । सोल्टी, चौधरीलगायत समूहसँगको साझेदारीमा यो समूहले हस्पिटालिटीमा लगानी बढाएको हो ।

गोल्यान समूहले सोल्टीमोडमा पाँचतारे होटेल निर्माण थालेको छ । यो समूहको व्यापारिक पृष्ठभूमि व्यापार हो । कपडा, स्टेशनरी, मसलाजस्ता वस्तुको व्यापारबाट उदाएको यो समूहले अहिले भने दर्जनौं उद्योगमा लगानी बिस्तार गरिसकेको छ ।

रियल इस्टेट, बैंक वित्तीय संस्था, मिल तथा अन्य उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेको यस कम्पनीले अब आतिथ्य उद्योगमा पनि आफ्नो बलियो उपस्थितिको तयारी गरिरहेको छ । गोल्यान ग्रुपको होटेलमा हायात होटेल कर्पोरेशनको व्यवस्थापन रहने बताइएको छ ।

दुगड समूहले पनि आतिथ्य उद्योगमा हात हालेको छ । बिराटनगरमा होटेल ह्यारिसन प्यालेस निर्माण गरी आतिथ्य उद्योगमा प्रवेश गरेका मोदी दुगडको जमेको उत्पादन भने सेन्चुरी मसला हो । तर, उनी पछिल्लो समय आतिथ्य उद्योगमा उदाइरहेका छन् ।

विराटनगरमै निर्माणाधीन द सेञ्चुरियन होटेल पाँचतारे स्तरको हुने कम्पनीले जनाएको छ । त्यसो त विशाल ग्रुप र गोल्छा समूहले पनि होटेलमा लगानी गर्न थालिसकेका छन् ।

अजयराज सुमार्गीले पाँचतारे होटेल बनाउने घोषणा गरेपनि ठोस काम भने शुरु गरिसकेका छैनन । भ्रमण वर्षको संयोजकका रुपमा चुनिएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्यले पनि पाँचतारे होटेल खोल्ने अभिव्यक्ति सार्वजनिक गरेका थिए । तर, उनी पनि अझै तातिइसकेका छैनन् ।

आफ्ना लागि पाहुना आफै‌ं भित्र्याउँदै होटेल

अधिकांश तारे र ठूला होटेलका पाहुना स्वयम होटलको मार्केटिङबाट बढी भित्रन्छन् । त्यसमाथि पछिल्लो समय नेपालमा बहुराष्ट्रिय चेन होटेलको बाढी आएको छ । ख्यातीप्राप्त ताज ग्रुपदेखि मारियट, हिल्टन, सेराटन, अलफ्ट, होलिडे इन, हायात इन्टरनेशनजस्ता ब्राण्डले नेपाललाई लक्षित गरी धमाधम होटेल व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका छन् ।

यसले एकातर्फ मुलुकको ब्राण्डिङ गरिरहेको हुन्छ भने पर्यटक बढाउन समेत महत्वपूर्ण भूमिका खेल्छ । होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्य चेन होटेलको प्रवेशले समग्र पर्यटन व्यवसायमा सकारात्मक भूमिका खेल्ने बताउँछन् ।

किन आकर्षित भए व्यापारिक घराना ?

२० वर्ष अगाडि काठमाडौंमा प्रतिआना १ लाख रुपैयाँमा किनेको जग्गाको मूल्य अहिले १ करोड पुगेको छ । होटेल विजनेशले सञ्चालन खर्च मात्र धानेको अवस्थामा पनि सम्पत्तिको मूल्य निरन्तर बढ्ने प्रवृत्तिले धेरै व्यापारिक घरानालाई यस तर्फ आकर्षित गरेको व्यवसायीहरुको भनाइ छ ।

त्यसमाथि होटेल बिजनेश ग्लामर व्यवसाय मानिन्छ । राष्ट्रिय–अन्तरराष्ट्रिय रुपमा चर्चा परिचर्चा हुन्छ । किनकि धेरैजसो ठूला र रणनीतिक कार्यक्रम होटेलमै हुन्छन् । अन्तर्राष्ट्रिय भेटघाट पनि होटेलमै हुन्छ । होटेल मालिकका रुपमा व्यवसायीले सबै तहका मानिससँग पहुँच राख्न सक्छन् । होटेल विजनेशको यही ग्लामर छविका कारण हिजो गुमनाम व्यापार–व्यवसाय गरिरहेका धेरै व्यापारी यसतर्फ आकर्षित भएको पाइन्छ ।

महासचिव शाक्य समेत यस विषयमा सहमत छन् । ‘पूर्वाधार बनाएर सञ्चालन खर्च मात्र धान्न सके पनि होटेलको लगानी डुब्दैन,’ उनी भन्छन्, ‘त्यसमाथि यसले दिने पहिचान अर्को महत्वपूर्ण पाटो हो ।

चुनाैती अस्वस्थ प्रतिस्पर्धाको

होटेलको बाढी आएसँगै होटेल व्यवसायमा चुनाैती पनि उत्तिकै छ ।

अथाह सम्भावनाका बावजुद नेपालमा पर्यटक आगमन अपेक्षाअनुसार बढेको छैन । त्यसले गर्दा आएका पर्यटक धेरै होटेलमा बाँडिनु पर्ने अवस्था छ । मुख्य पर्यटकीय सिजनमै धेरै होटेलहरुको अक्कुपेन्सी ५०–५५ प्रतिशत हाराहारी मात्र रहेको होटेलहरुको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment