Comments Add Comment

यस्तो बन्नेछ ग्रिनरीसहितको मुग्लिन–पोखरा सडक

आँबुखैरेनी–पोखरा खण्ड ४ लेनकोे बनाउने ठेक्का एक हप्ताभित्रै

१४ कात्तिक, काठमाडौं । मुग्लिनबाट पोखरासम्म पुग्न ४ लेनको सडक बन्ने सुनिश्चित भएको छ । एसियाली विकास बैंकले यो सडकखण्ड विस्तारका लागि करिब २२ अर्ब ऋण पारित गरेपछि यो खण्ड विस्तारको काम अघि बढ्ने भएको हो ।

सडक विभाग अन्तर्गतको एडीबी सडक निर्देशनालयका उपआयोजना निर्देशक सौरभ बज्राचार्यका अनुसार अबको एक हप्ताभित्रै मुग्लिन पोखरा सडकको आँबुखैरेनी–पोखरा खण्डको लागि टेन्डर आह्वान हुनेछ । करिब ८० किलोमिटरको यो खण्डलाई दुई प्याकेजमा विभाजन गरेर ठेक्का लगाउने तयारी छ ।

यो टेन्डरबाट छानिने कम्पनीले सडकसीमा भित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहित सडक विस्तार गर्नेसम्मका काम जिम्मा पाउनेछ । यो खण्ड विस्तार गर्दा करिब ६ हजार रुख काट्नुपर्ने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले देखाएको छ ।

बुटवल–नारायणगढ सडक खण्डमा पनि रुख काट्ने र पोल सार्ने लगायतका पूर्वतयारीका काम ठेक्काभित्रै समेट्दा सम्झौता भएको ९ महिनासम्म काम सुरु हुन सकेको छैन ।

आँबुखैरेनीदेखि मुग्लिनसम्मको करिब ८ किलोकिटरको खण्डको भने डिटेल इन्जिनियरिङ रिपोर्ट तयार गरिँदैछ, करिब ६ महिनामा यो काम सकिने अनुमान विभागको छ ।

‘यो आयोजना तीनवटा प्याकेजमा ठेक्का लाग्नेछ, दुई लेनको ठेक्का प्रक्रिया अघि बढिहाल्ने अवस्था छ,’ बज्राचार्यले भने, ‘बाँकी एउटा प्याकेजको डिटेल इन्जिनियरिङ भइरहेको छ । यो काम सकिनासाथ अर्को टेन्डर पनि आह्वान गर्छौं ।’

यो सडक बन्ने क्षेत्रको भौगोलिक, वातावरणीय र पर्यावरणीय अवस्थाअनुसार सडकको डिजाइन गरिएको छ । करिब २ वर्षअघि नै यो परियोजनाको विस्तृत डिजाइन भएको थियो ।

यस्तो बन्नेछ सडक

विस्तार भएपछि ‘मेडियन’ को दुईतर्फ ७–७ मिटरको सडक बन्नेछ । एउटा लेन ३.५ मिटरको हुनेछ ।

‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रुख विरुवा र फूल रोपिनेछ । दयाँबायाँ नै साँढे २ मिटरको सोल्जर (अतिरिक्त पिच) गरिनेछ । यसले मुख्य लेनबाट बाहिरिनुपर्दा पनि सवारीलाई दुर्घटनाबाट बचाउँछ भने मुख्य लेनलाई पनि बलियो बनाइराख्छ ।

सडकलाई आधुनिक प्रविधिबाट निर्माण गर्ने योजना बनेको छ । सरकारले विश्व बैंकको सहयोगमा मुग्लिन–नारायणगढ सडक दुई लेनमा विस्तार गरेपछि विभागले एडीबीको सहयोगमा नै बुटवल–नारायणगढ सडकखण्ड पनि ४ लनेको बनाउन ठेक्का लगाइसकेको छ । मुख्य राजमार्ग फराकिलो पार्ने योजना अब पोखरासम्म पुग्न लागेको हो ।

यो सडकको आँबुखैरेनी क्षेत्रमा पर्ने मर्स्याङ्दी जलविद्युत आयोजना क्षेत्रको सडक भने नयाँ ढंगले विस्तार गरिँदैछ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेको ठहर गर्दै आयोजनाको टलरेस सुरुङभन्दा मुनि पुल बनाएर आयोजना छल्ने गरी पारिपट्टिबाट अर्को दुई लेनको सडक बनाउन लागिएको छ । आयोजनाभन्दा पारिबाट बन्ने सडकका लागि अहिले डिटेल इन्जिनियरिङ भइरहेको निर्देशनालयले जनाएको छ ।

वारिपट्टिको हालको सडक पनि डेडिकेटेड दुई लेन बनाइनेछ । हाल यो आयोजना क्षेत्रमा पनि डेडिकेटेड दुई लेनको सडक छैन । यो क्षेत्रका सडक स्तरीकरण मात्रै गरिनेछ । आयोजनालाई प्रभाव पर्ने गरी सडक विस्तार नहुने विभागले जनाएको छ ।

यो खण्डका मुख्य बस्ती र शहरी क्षेत्रमा पनि सर्भिस लेन राखिनेछ । सर्भिस लेन भन्नाले सार्वजनिक सवारीले यात्रु ओराल्न/उकाल्न प्रयोग गर्ने बस्ती क्षेत्रको सडक हो । जसले यात्रुलाई मात्रै सहज हुने नै छ, राजमार्ग क्षेत्रमा शहरी सौन्दर्य पनि बढ्नेछ ।

विस्तार हुने सडकमा सुरक्षा फिचर्स चेतावनी लाइट सिस्टम पनि जडान हुने एसियाली विकास बैंकले जानकारी दिएको छ । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ तथा मोटरसाइकल प्रयोगकर्ताका लागि छुट्टै पूर्वाधार बनाइने बैंकले बताएको छ ।

मुग्लिनदेखि पोखरासम्मको सडक विस्तारको काम सन् २०२५ सम्म सक्ने लक्ष्य लिइएको छ । यो खण्डका लागि सरकारले करिब ५ अर्ब रकम आफ्नै स्रोतबाट पनि खर्च गर्नेछ ।

हाल काठमाडौं–पोखराको दूरी करिब २ सय किलोमिटर छ । यो खण्ड साँघुरो हुँदा दैनिक गुड्ने मालबाहक र तथा यात्रुबाहक सवारीलाई कठिनाइ छ ।

सडक विस्तारले के फाइदा ?

यो सडकमा दैनिक करिब साढे ७ हजार सवारी गुड्ने गरेका छन् । यो सडक नेपालको पर्यटकीय चहलपहल धेरै हुनेमध्ये एक हो ।

सडक ४ लेनको भएपछि भारतबाट आउने पर्यटकलाई पनि पोखरा पुग्न निकै सहज हुनेछ ।

सडकखण्ड विस्तारपछि पोखराको महत्व झनै बढ्ने अपेक्षा छ । त्यहाँ पुग्ने आन्तरिक तथा विदेशी पर्यटकलाई सडक यात्रा सहज हुनेछ ।

साथै पोखरामा बन्न लागेको बन्न लागेको अन्तर्राष्ट्रय विमानस्थललाई पनि यो सहयोगी हुने उपआयोजना निर्देशक बज्राचार्य बताउँछन् । यसले देशको यातायात सञ्जाल थप मजबुत र स्तरीय हुने उनको भनाइ छ ।

यो सडक विस्तारपछि नेपालको आर्थिक गतिविधि पनि बढ्ने दाबी बैंकको छ । यसले सडकको ट्राफिक क्षमता बढ्ने मात्रै नभई विश्वसनीय र सुरिक्षत सडकबाट पोखरा र काठमाडौंलाई जोड्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

‘राजमार्ग चार लेनमा विस्तार हुँदा यात्राको समय र लागत घट्नेछ,’ एसियाली विकास बैंकका यातायात विशेषज्ञ जोन जियोगिटले भनेका छन् । यो सडक विस्तारपछि आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारको पनि गेट–वे फराकिलो बन्ने छ बैंकको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment