Comments Add Comment

६ वर्षमा पनि नबनेको १९२ मिटरको एउटा पुल

१४ कात्तिक, काठमाडौं । धादिङको गल्छी गाउँपालिका–१ का वडा अध्यक्ष पूर्णप्रसाद खतिवडा आफ्नै वडामा बन्दै गरेको पक्की पुल हेर्न हप्ताको एक–पटक फोस्रेटार पुग्छन् । आफ्नो वडा र गल्छी–रसुवागढी राजमार्ग जोड्ने त्रिशूली नदी माथिको १९२ मिटर लामो निमार्णधिन पुल छिटो बनेमा त्यस भेगका जनतालाई सुविधा हुन्थ्यो भन्ने व्यग्रता छ उनलाई ।

तर ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पुल बन्ने छाँट नदेखिएको वडा अध्यक्ष खतिवडाले गुनासो गरे ।

‘मुख्य ठेकदार फिल्डमा आएको देखिदैंन, कामदार ३ चारजना खुसुखुस काम गरिरहेका छन् । टुलुटुलु हेर्यो फर्कियो । १० वर्षमा पुल बनाई सक्छन् कि ?’ खतिवडाले नैरश्यता पोखे ।

काठमाडौंबाट धादिङ जिल्लाको सदरमुकाम जोड्ने छोटो र वैकल्पिक मार्गको रुपमा निमार्णाधिन धादिङबेशी–कोशीखोला–फोस्रेटार सडकमा उक्त पक्की पुल बनिरहेको छ । निर्माणाधिन पुलवारी नेपाल–चीन जोड्ने एक्सप्रेस राजमार्ग बनिरहेको छ भने पारीपट्टी ग्राबेल सडक पनि बनिसक्यो ।

त्रिशूली नदीमाथि १९२ मिटर लम्बाइको पक्की पुल बनाउन मध्यमाञ्चल क्षेत्रिय सडक निर्देशनालय, डिभिजन सडक कार्यालय भरतपुरले २०७१ असार ३१ गते ठेक्का सम्झौता गरेको थियो । कुल १५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैयाँ ४२ पैसामा पुल निर्माण सक्ने गरी सपना/हिम्डुङ एण्ड थोकर/नार्गाजुन कन्स्ट्रक्सन जेभीले आयोजनाको ठेक्का पाएको थियो ।

सम्झौताअनुसार २०७४ असार ३० गते पुल बनिसक्नु पर्ने थियो, तर सम्झौता सकिएको गत असारमा दुई आर्थिक वर्ष सकिएर पनि चौथो महिना बित्दा पुल बन्ने कुनै टुंगो छैन् ।

डिभिजन सडक कार्यालय भरतपुरले तोकिएकै समयमा निर्माण गर्न ढिलाई भए पनि अहिले भने पुल तीब्र गतिमा बनिरहेको दाबी गरेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीले आफूले कार्यालय सम्हालेदेखि तीब्र गतिका काम गर्न ताकेता गरेको बताए ।

गत वर्ष हावाले फर्मा उडाएका कारण केही ढिला भएको भए भन्दै उनले अब पुलको दुई वटा स्पान निर्माण मात्रै बाँकी रहेको बताए । ६ महिनामा पुल बन्ने अधिकारीको दाबी छ ।

पुल निर्माण सक्न तोकिएको अवधिभन्दा साढे दुई वर्ष बितिसकेको भए पनि ठेकदारलाई कुनै कारबाही भने गरिएको छैन । पुलको ठेक्का पाउने ठेकदार कम्पनी तीनवटा छन् । जसमध्ये हिम्डुङ एण्ड थोकर नुवाकोटबाट २०७० सालमा प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्वाचित सांसद बहादुर सिंह लामा (तामाङ्ग) को हो ।

नेपाली कांंग्रेसका नेता लामा भने ठेकदार साथीहरुले आफ्नो कम्पनी प्रयोग मात्रै गरेर काम गरेको बताउँछन् ।

‘पुल निमार्णमा मेरो कुनै संलग्नता छैन । तर राजनीति गर्ने मान्छे भएकाले पुलको ढिलाइमा जोडेर मेरो बदनाम गराउन प्रयास भएकोे हो,’ उनले भने ।

निर्माणधीन पुलमा ४० मिटर लामो ४ वटा स्पान (खण्ड) र बाँकी भूभाग (पुलको लम्बाई १९२ मिटर) प्लास्टरसहितको ढलान गरिने छ । सवारी गुड्ने ११ मिटर चौडा रहेको यो पुललाई प्रिस्ट्रेस पुल भनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment