+
+
Shares

रुपन्देहीमा माटोबिनै तरकारी खेती

माटोमा भन्दा तीन गुणा बढी तरकारी फल्ने दाबी

टोपराज शर्मा टोपराज शर्मा
२०७६ कात्तिक १५ गते ९:३१

१५ कात्तिक,बुटवल । कुनै पनि खेती गर्न माटो वा खेतबारी नै चाहिन्छ भन्ने आम नेपाली किसानहरुको मान्यता छ । तर, अब माटोविनै पनि तरकारी खेती गर्न सकिने प्रविधि विकास भइसकेको छ । विदेशमा धेरै वर्ष अघिदेखि प्रचलनमा आइसकेको हाइड्रोपोनिक प्रविधि रुपन्देहीको तिलोत्तमामा पनि भित्रिएको छ ।

तिलोत्तमा–३ विष्णुपुरामा तीन परिवार मिलेर डेढ करोड लगानीमा लुम्बिनी हाइड्रोपोनिक फार्म दर्ता गरी एकबिघा खेतमा हाइटेक प्रविधिबाट माटोविना नै तरकारी खेती शुरु गरेका हुन् ।

फार्ममा चारवटा ग्रीन हाउस र २ वटा नेट हाउस बनाएर गोलभेंडा, बियां नहुने कांक्रो, क्याप्सीकम, करेला र सलाद बनाउन प्रयोग हुने सागलगायतका तरकारी खेती गरिएको छ । यो प्रविधिमा व्यावसायिक तरकारी खेती शुरु गर्ने यो नै नेपालको पहिलो ठूलो फार्म भएको सञ्चालकहरुको दाबी छ ।

बिरुवालाई चाहिने खाद्य तत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधिलाई हाइड्रोपोनिक खेती प्रणाली भनिन्छ । हाइड्रोपोनिक इजरायली प्रविधि हो । ओमानमा दश वर्षसम्म तारे होटलमा काम गरेर फर्केका अर्घाखाँची डिभर्नाका ईश्वर पौडेलको अगुवाइमा यो प्रविधिमा तरकारी खेती शुरु भएको हो ।

ईश्वरले ओमानमा तारे होटलमा काम गर्ने क्रममा स्वाइललेस (माटोको प्रयोगबिना) नै हाइड्रोपोनिक प्रविधिबाट उत्पादन भएका विभिन्न थरिका तरकारी र सलाद बनाउन प्रयोग हुने सागपात देखेका थिए । उक्त प्रविधिबाट उत्पादित तरकारी र सागपात माटोमा उत्पादन भएका भन्दा गुणस्तरीय र खेती गर्न सजिलो,उत्पादन धेरै लिन सकिने भन्ने उनले बुझेका थिए । नेपाल फर्केपछि पौडेलले त्यही प्रविधिबाट तरकारी खेती गर्ने निधो गरे ।

पौडेललाई यो प्रविमिा खेती गर्न पौडेललाई उनका नातेदार पुष्पा आचार्य र चन्द्र अर्याल तथा पिताम्बर आचार्य र राधा आचार्यले लगानी साझेदार भई साथ दिए । ईश्वरले तरकारी खेतीको प्राविधिक पक्ष हेर्छन् भने व्यवस्थापनको पाटो पुष्पा अर्याल आचार्य र पिताम्बर आचार्यले हेरेका छन् । शुरुको वर्ष रंगीन क्याप्सीकम, बियां विनाको कांक्रा र गोलभेंडा खेती गरेर परीक्षण गर्दा सफल भएपछि यो वर्षदेखि व्यावसायिक खेती शुरु गरिएको पुष्पा आचार्यले बताइन् । यो प्रविधिमा काम गर्ने जनशक्ति एकदमै कम आवश्यक हुन्छ । परम्परागत प्रविधिमा एक बिघामा तरकारी खेती गर्दा कम्तीमा ७/८ जना कामदार चाहिनेमा यसमा जम्मा दुईजना कामदारले पुगेको छ ।

कसरी गरिन्छ खेती ?
यो प्रविधिको खेतीमा प्लाष्टिकको घर (टनेल) बनाइन्छ । जहाँ बाहिरको हावादेखि कुनै पनि किरा–फट्याङग्रा भित्र जान सक्दैनन् । टनेलभित्र गमलामा नरिवलको जटा पिसेर बनाइएको मसिनो धुलो (कोकोपिट) राखिन्छ । त्यसमा नर्सरीमा उत्पादन गरिएका बिरुवा रोपिन्छ । बिरूवा लगाइसकेपछि त्यसलाई हुर्कनका लागि आवश्यक पर्ने पोषक तत्व एमपिके र पानी पाइपमार्फत प्रत्येक बिरूवामा पुराइन्छ ।

टनेलभित्रको तापक्रम अटोमेटिक कम्प्युटराइज्ड सिस्टमबाट सन्तुलनमा राखिन्छ । तापक्रम बढी हुंदा पंखा आफै चल्छ,तापक्रम घट्दा पंखा बन्द हुन्छ । टनेलमा कुलिङ प्याड, एडजस्ट फ्यान र पानी झार्ने (फोगर) जडान गरिएको हुन्छ । यी सबै काम सफ्टवेयरले स्वचालित रुपले गर्छ । प्रत्येक बिरुवामा सिँचाइ गर्न ससाना पाइप सबै बिरुवाका गमलामा जोडिएको हुन्छ ।

दिनमा दुई पटक थोपा सिँचाइमार्फत सिँचाइ हुन्छ । बिरुवालाई चाहिने खाद्यतत्व पानीमा मिलाएर इलेक्ट्रिक सिस्टमबाट दिँदा बिरुवामा कुनै रोग कीराले आक्रमण गर्ने सम्भावना पनि हुँदैन । यो प्रविधिमा सिँचाइ गर्न धेरै पानी चाहिँदैन ।

माटोविना खेती गरिने हुंदा झार उम्रेर गोडमेल गरिरहनुपर्ने र किराको प्रकोपको समस्या यसमा हुँदैन । बजारमा विषादीयुक्त तरकारीको बिगबिगी बढेका बेला यस्तो प्रविधिबाट उत्पादित तरकारी शतप्रतिशत अर्गानिक मानिन्छ ।

यो प्रविधिमा खेती गर्दा भुईमा (ग्रो ब्याग) र तल्ला–तल्ला बनाएर पनि खेती गर्न सकिन्छ । एउटै क्षेत्रफलको जमिनमा सात तल्ला सम्म बनाएर तरकारी रोप्न सकिने भएकाले परम्परागत भन्दा सात गुणा बढी उत्पादन लिन सकिन्छ ।

थोरै जमिन हुने र बजारमा करेसाबारी नहुनेहरूका लागि यो प्रविधिको तरकारी उत्पादन प्रभावकारी हुने कृषि प्राविधिकहरू बताउँछन् । यो प्रविधिमा माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा तरकारी फल्छ । यो प्रविधिबाट सिंचाई सुविधा नभएको वा सुख्खाग्रस्त (गर्मी) ठाउँमा पनि खेती गर्न सकिन्छ ।

बजारको छैन समस्या

रुपन्देहीमा ठूला र तारे होटेलहरु खुल्ने क्रम बढेकाले आफ्ना उत्पादनलाई बजारको समस्या नहुने अर्का सञ्चालक पिताम्बर आचार्यले बताए । ‘हाम्रा उत्पादनहरुले विशेषगरी ठूला होटलहरूमा सलादका लागि प्रयोग हुने भएकाले बजारको समस्या हुंदैन’–पिताम्बर भन्छन्–‘हाम्रा उत्पादन विषादि रहित अर्गानिक समेत हुने भएकाले फार्ममै आएर खरिद गर्ने उपभोक्ता पनि उत्तिकै हुन्छन् ।’

यो प्रविधिबाट उत्पादन हुने तरकारी माटोमा फल्ने जस्तो ठूलो आकारका हुँदैनन् तर उत्पादन धेरै समयसम्म लिन सकिने भएकाले उत्पादन तीन गुणासम्म बढी हुन्छ । तरकारीका विरूवा फार्मले आफ्नै नर्सरीमा उत्पादन गर्छ । फार्मले हाइड्रोपोनिक प्रविधि अपनाएर तरकारी खेती गर्न चाहने किसानलाई ग्रीन हाउस निर्माणदेखि प्राविधिक पक्ष सिकाउने काम पनि थालेको छ ।

प्रदेश र स्थानीय सरकारबाट अनुदान

प्रदेशमै अत्याधुनिक प्रविधिबाट तरकारी खेती शुरु गरेको फार्मलाई स्थापनाको दोस्रो वर्षमै प्रदेश ५ सरकार अन्तर्गत कृषि ज्ञान केन्द्रले ग्रीन हाउन निर्माणका लागि २० लाख र तिलोत्तमा नगरपालिकाले दुई लाख ५० हजार रुपैयां अनुदान दिएका छन् ।

‘हामीले भित्राएको आधुनिक प्रविधिलाई प्रदेश र स्थानीय सरकारले प्रोत्साहन दिएका छन्’–सञ्चालक पुष्पा आचार्यले भनिन्–‘दुबै तहको सरकारको प्रोत्साहनले अब खेती विस्तार गर्न थप जग्गाको खोजीमा छौं,जग्गा पायौं भने अझै एक बिघामा गर्न सक्छौं ।’

तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आधुनिक प्रविधि भित्राउर व्यवसायिक तरकारी खेती गर्ने किसानहरूलाई नगरपालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति लिएको बताए । ‘नगरपालिकामा अत्याधुनिक प्रविधि र लगानी भित्राई नगरपालिकालाई तरकारीसहित कृषिमा आत्मनिर्भर बनाउन हाम्रो पूर्ण सहयोग सधै रहन्छ’–घिमिरेले भने । माटोमा धेरै परिश्रम गर्न नचाहने अहिलेका युवा पुस्ताले आर्थिक उपार्जनका नयाँ–नयाँ माध्यम खोजिरहेका बेला यो प्रविधिलाई देशव्यापी बनाउन सके कृषिमा युवा पुस्तालाई आकर्षित गर्न सकिने र तरकारीमा आत्मनिर्भर हुन सकिने प्रदेश ५ सरकारकी भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?