Comments Add Comment

अब जनवादी शिक्षा कि समाजवादी ? सी चिनफिङबाट सिकौं

शिक्षाशास्त्री पाउलो फ्रेरे भन्छन् “शिक्षा कहिल्यै पनि तटस्थ हुँदैन” । यसको मतलव राज्यको चरित्र, नेतृत्व र राज्यसत्ताको विचारधाराले शिक्षालाई निर्दिष्ट गर्दछ ।

नेपालका कम्युनिस्ट पार्टीहरुले स्थापनाकालदेखि जनवादी शिक्षाको वकालत गरे । अहिले संविधानमा समाजवाद उन्मुख समाज भनी उल्लेख भएपछि नेपाली समाजमा वामपन्थीहरुका वीच समाजवादी शिक्षाको थोरै बहस शुरु हुन थालेको छ । नेपाली परिवेसमा यी दुवै प्रकारका शिक्षाका विषेशता सन्दर्भमा केही मौखिक बहसका अलावा मूर्त मार्गचित्र भने आउन सकेन ।

जनवादी शिक्षाको अवधारणा चिनिया मोडेल हो । सन् १९४९ मा चिनियाँ क्रान्ति हुँदा त्यहाँको समाज अर्धसामन्ती र अर्ध औपनिवेसिक चरित्रको रहेको र त्यस्तो चरित्र रहेको समाजमा कम्युनिस्ट पार्टीको नेतृत्वमा गरिने पूँजीवादी क्रान्ति (शास्त्रीय होइन) जनवादी क्रान्ति हुने र क्रान्ति पश्चात कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा राज्यसत्ता सञ्चालन हुने पद्दती जनवादी राज्य पद्दती हुने भनिएको थियो । त्यस्तो समाजलाई समाजवादको प्रारम्भिक चरण भनिएको थियो ।

नेपालमा पुष्पलालले यही दृष्टिकोणबाट नयाँ जनवादी लाइनको चर्चा गरे र शिक्षाको बहसमा पनि सोही विचार प्रस्फुटित भयो । अब चीनमा समेत सी विचारधारालाई मार्गदर्शक सिद्धान्तका रुपमा अगाडि सारिएको र नेपालको पनि चरित्र फेरिएको अवस्थामा चीनले शिक्षामा के गर्दै छ र नेपालले के सिक्ने भन्ने सन्दर्भमा केन्द्रित भई हामीले यो बहस पस्कन चाहेका छौं ।

कता जाँदै छ चिनियाँ शिक्षा पद्दति ?

क्रान्तिपछिको चीनको शिक्षा विकासलाई तीन कालमा बाड्न सकिन्छ ।

माओ काल : माओले आफ्नो सम्पूर्ण उर्जा सामन्तवादी संस्कृतिलाई ध्वस्त पार्नमा खर्चिए । सन् १९५८ मा महान अग्रगामी छलाङ्को कार्यक्रम ल्याए जहाँ शिक्षा पद्दतिलाई सामन्तवादको भर्याङ भनी यसलाई उल्टाइदिने प्रयास गरे । सो अभियान सन् १९६१ मै असफल भयो । १९६६ मा फेरि सांस्कृतिक क्रान्ति शुरु गरियो । यस समयमा तमाम विद्यालयहरु बन्द भए । अहिलेका राष्ट्रपति सी समेत विद्यालयबाट बञ्चित भएका थिए ।

त्यतिबेला शहरका शिक्षक गाँऊमा शारीरिक श्रम गर्न पठाइयो । शिक्षकलाई टर्चर दिइयो । विदेशी प्रविधि प्रयोग नगर्ने नाममा हाते मेसिन बनाउन लगाइयो । उत्पादक शक्तिको स्वतन्त्रता भनियो । शिक्षामा त्यस समयलार्ई विनिर्माण (डिकन्स्टक्शन) कालका रुपमा चिनिन्छ भने आलोचकहरु यसलाई अन्धकारको समय पनि भन्छन् ।

तेङ स्याओपिङ काल : सन् १९७८ पछि २०१२ सम्मको समयलाई चिनियाँ शिक्षामा आधुनिक शिक्षाको काल मानिन्छ । तेङले बन्द आर्थिक नीतिको ठाँउमा समाजवादी बजार अर्थ नीति अंगाले । चारवटा क्षेत्र—कृषि, उद्योग, सुरक्षा र विज्ञान तथा प्रविधिमा आधुनिकीकरणको कार्यक्रम अगाडि सारे । उत्पादक शक्तिको स्वतन्त्रामात्रै नभएर विस्तार पनि गर्ने भने । विश्व बजारलाई खुला गरे । शिक्षामा प्रविधि प्रयोग र विकासमा निकै जोड दिइयो । वर्तमान चिनियाँ प्रविधिको अब्बलता यसैको परिणति हो ।

सी चिनफिङ काल : सन् २०१२ पछि सीले विगतप्रति कृतज्ञ हुँदै चीनलाई नयाँ मोडमा लैजान खोजेका छन् । मार्क्सवादलाई चिनिया परम्परागत मूल्य मान्यतासँग जोड्न खोजेका छन् । चिनियाँ विषेशतासहितको समाजवादको व्याख्या गर्दै सी भन्छन् “बैज्ञानिक समाजवादी सिद्धान्त र चीनका ऐतिहासिक समाज विकासका सिद्धान्तहरुको एकीकरण नै चिनियाँ समाजवाद हो । उनले शिक्षालाई नैतिकता, मेहनत र चौतर्फी विकासको मूख्य माध्यम मानेका छन् ।

यी ऐतिहासिक जगमा अहिलेको चिनियाँ शिक्षा पद्दति अगाडि बढेको छ । यी तीनवटै नेताले चीन समाजवादको प्रारम्भिक अवस्थामा रहेको बताएका छन् । यसको मतलव, चीन अहिले पनि समाजवादको प्रारम्भिक अवस्थामा छ । तीनै जनाले चिनियाँ विषेशता सहितको समाजवाद भनेका छन् । त्यस्तै ४ वटा मुख्य सिद्धान्तहरु समाजवादी मार्ग, जनवादी अधिनायकत्व, कम्युनिष्ट पार्टीको नेतृत्व र माक्र्सवाद, लेनिनवाद र माओवादमा प्रतिवद्ध रहेको छ चीन ।

सी भन्छन् “समाजवादले मात्रै चीनलाई बचाउँछ र चिनियाँ विषेशतासहितको समाजवादले मात्रै चीनको विकासको नेतृत्व गर्न सक्छ” । यसैगरी पार्टीको मुख्य मार्गनिर्देशक मान्यता एकल केन्द्रीय कार्य (आर्थिक विकास) र दुई आधारसुत्र (चार मुख्य सिद्धान्त र सुधार तथा खुला नीति) रहेका छन् ।

चारवटा प्रयोग–शासकीय अभ्यास, सुधार तथा खुला समाजको निर्माण, बजार अर्थतन्त्रको विकास र विश्वव्यापी विकासको अभ्यासप्रति दृढ छ भने चार जोखिम– आलस्यता, असक्षमता, जनताबाट अलग हुने सम्भावना र भ्रष्टाचारबाट सजग रहने मान्यता छ । यी सबै मान्यतालाई व्यवहारिक रुप दिने काम शिक्षाले गर्ने हुँदा शिक्षा पनि यी मान्यतामा उभिएको छ ।

चीनको शिक्षा आर्थिक विकास मात्र नभएर राजनीतिक, सामाजिक, सास्कृतिक र पर्यावरणीय विकासमा परिलक्षित छ । भारतीय विश्लेषक अमत्र्य सेनले भनेजस्तो ‘क्वालिटी एप्रोच’ मा आधारित छ । ज्ञानलाई पूँजीको रुपमा लिइएको छ । त्यसैले त्यहाँ विश्वस्तरका विश्वविद्यालयहरु खोल्ने प्रतिश्पर्धा चलेको छ । विश्वका ‘बिग माइन्ड’ आयात गर्न लालायीत छ । विदेशी विद्यार्थीलाई प्रशस्त छात्रवृत्ति दिइएको छ भने आफ्ना विद्यार्थी विदेशमा पढ्न पठाइएको छ ।

माओ भन्छन् ‘जनताका अगाडि हामी सधैं विद्यार्थी बन्नुपर्छ’ । यही मान्यताका आधारमा जनताबाट सिक्ने, किसानको घरखेतमा जाने, संगै काम गर्ने अनि कामबाट सिक्ने पद्धतिलाई निरन्तरता दिएको छ । सामाजिक सामञ्जस्यता र शान्तिपूर्ण विकासमा जोड दिइएको छ । बीआरआईजस्तो विकासको वीन वीन मोडेल अगाडि सारिएको छ । शिक्षा पद्धतिमा समेत ‘नो कपी, नो रिजेक्ट’ को नीति लिइएको छ । चीनले अरु कुनै अमूक देशको पद्धति जस्ताको त्यस्तै अयात गर्दैन । तर, अस्वीकार नगरी वैधानिकीकरण गर्छ ।

अहिले चीनले सबैभन्दा बढी जोड दिएको क्षेत्र कृत्रिम बौद्धिकता (एआइ) हो । व्यापारिक कुशलता, मिहिनेत, जीवनमूखी, प्राग्मेटिक, सामुहिक कार्यमा विश्वास आदि चिनियाँ जनताका विषेशता हुन् । शिक्षामा यी विषेशताहरुको भरपुर उपयोग गरिएको छ । बुद्ध दर्शन, ताओइजम, कन्फ्युसियनिजम जस्ता ऐतिहासिक दर्शनलाई नैतिकता र आचरण विकासका आधार मानिएको छ । अब चीन शिक्षाको हब बन्ने निश्चित छ ।

नेपालले के सिक्ने ?

नेपालमा न त चीनमा जस्तो अर्थतन्त्र छ, न त राजनीतिक व्यवस्था वा संस्कृति नै मिल्दो छ । संविधानमा समाजवादउन्मुख समाज भने पनि समाजवादका प्रारम्भिक आधार समेत तयार हुन सकेको छैन । अर्थतन्त्रमा दलाल पूँजीवाद हावी छ । राजनीतिमा बहुदलीय प्रतिश्पर्धा छ । संस्कृतिमा व्यापक विविधता छ । लोकतन्त्रका नाममा अराजकता मौलाएको छ । विदेशी संस्कृति र आयातीत प्रविधिले नेपालीपन खुइलिँदैछ । त्यसैले सीबाट नेपालले कपी होइन पाठ सिक्नु पर्छ, जुन निम्न हुन सक्छन् ।

१. नेपाली विषेशतासहितको समाजवादी शिक्षा : बहुलतामा आधारित लोकतान्त्रिक मूल्यसहितको राजनीतिक जगको विकास, हिमाल, पानी, जडिबुटी, बन, जस्ता प्राकृतिक स्रोतको उपयोग गर्ने शिक्षा जरुरी छ । उपनिषदले भनेजस्तो परा र अपरा विद्यालाई जोड्ने काइदा खोज्न सकिन्छ यहाँ । परम्परागत ज्ञान, सीप र प्रविधि भित्रको ऐतिहासिकता, बैज्ञानिकताको अध्ययन र विस्तार गर्न सकिन्छ । भूगोल सानो छ तर बुद्धिमा नेपाली अब्बल सावित भएका छन् । त्यसैले, मानवीय पूँजीको विकास गर्न सकिन्छ । अहिले हामीले अधिकारमा आधारित एप्रोचमात्र प्रयोग गरेका छौं यहाँ बहुआयामिक ‘क्वालिटी एप्रोच’ प्रयोग गर्न सकिन्छ ।

२. मार्क्सवाद र पूर्वीय दर्शनको मिलान : सीले जसरी बैज्ञानिक समाजवाद र चिनियाँ परम्परागत दर्शनको फ्युजनलाई चिनियाँ विषेशता सहितको समाजवाद भने, त्यसैगरी नेपालमा पनि मार्क्सवाद र पूर्वीय दर्शनको मिलान गर्न जरुरी छ । बुद्ध दर्शन, बेद, आदिमा संस्कार छ । नैतिकता छ । राजनीति छ र यी नेपालीका जीवन दर्शन पनि हुन् । त्यसैले जीवनलाई व्यवहारिक बनाउन र नेपाली चरित्र मुताविक पहिचान राखिराख्न शिक्षाको दार्शनिक आधार यी दुईको मिलानलाई मान्न सकिन्छ ।

३. राज्य निर्मित सामाजिक पूँजीको विकास : अहिले नेपालको शिक्षामा बड्र्युले भने जस्तो सांस्कृतिक पूँजीको प्रभाव बढी छ । पुनरुत्पादकीय पद्दति हाबी छ । कतैकतै सामाजिक पूँजीको पनि प्रभाव छ । यसले गर्दा निजी विद्यालय फस्टाउने र सामुदायिक अस्ताउने भएका छन् । शिक्षाले वर्ग निर्माण गरेको छ । धनी र गरिब बीचको खाडल गहिरिँदै गएको छ । जात, वर्ग, क्षेत्र आदिका आधारमा सिकाइको खाडल झन भासिँदो छ । यस्तो अवस्थामा कोर्नोयले भनेजस्तो राज्य निर्मित सामाजिक पूँजीको विकास गर्न जरुरी छ ।

राज्यले नै पछाडि परेका वर्गका वालवालिकाको शिक्षामा पद्धतिगत रुपमै उपयुक्त सिकाइ वातावरणको निर्माण गर्दछ भने त्यसलाई राज्य निर्मित सामाजिक पूँजी भनिन्छ । यही मान्यता चीनमा प्रयोग गरियो र राज्यले सबैको समान अवसरको निर्माणमा नेतृत्व गर्‍यो । शिक्षालाई निशुल्क गरियो । शिक्षाको सम्पूर्ण खर्च राज्यले व्यहोर्‍यो । यही नै सामाजिक विभेदीकरणको अन्त्य गर्ने अस्त्र बन्यो ।

राज्यले शिक्षामा प्राथमिकता दिने हो भने राज्यले विद्यालय शिक्षाको सम्पूर्ण जिम्मा लिन सक्छ । सबैलाई एउटै सेवा सुविधासहितको पठन पाठनको अवसर दिन सकिन्छ । यसबाटै विभेदीकरण हटाउन सकिन्छ । यसबाट सामाजिक न्याय स्थापित हुन्छ ।

४. नैतिक शिक्षा : चीनमा अहिले भ्रष्टाचार व्याप्त बन्दै गएको छ । सीले भ्रष्टाचार निवारणको मुख्य हतियार नैतिकता हो भनेका छन् । नैतिकता विश्वाससँग जोडिन्छ र विश्वास धर्म वा परम्परागत मान्यतासँग जोडिन्छ । त्यसैले चिनियाँ परम्परागत दर्शनलाई चरित्र निर्माणको आधार मानिएको छ जसलाई नैतिक शिक्षाको स्रोत भनिएको छ ।

नेपालमा पनि गीता, मनुस्मृति, उपनिषद्, कुरान, त्रिपिटक, मुन्दुम आदि नैतिक शिक्षाका स्रोत छन् । यिनीहरुलाई नैतिक शिक्षाका रुपमा सिकाउन सकिन्छ । वेलायतका वेरिष्टरले समेत गीता अनिवार्य पढ्नैपर्ने व्यवस्था गरेको छ भने नेपालले उपयोग गर्न सकेको छैन ।

सीबाट सिक्नुपर्ने मुख्य विषय देश अनुसारको भेष हो । त्यसैले हामीले पनि नेपालीपनको समाजवादी शिक्षाको विकास गर्नुपर्छ । चीनले जस्तै ‘नो कपी, नो रिजेक्ट’को नीति अवलम्वन गर्न सकिन्छ । अन्य देशका शैक्षिक मोडेलको ठाडो अनुशरण गर्दा नेपाली मौलिकता स्खलित हुँदै जाने र विद्यार्थीमा वास्तविक सिकाइसमेत नहुने अवस्था भयो । सी र चीनको कपी होइन, रणनीति बुझौँ र देशका सम्भावनाहरुको अधिकतम प्रयोग गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment