Comments Add Comment

सुत्केरीको मृत्युपछि विराट नर्सिङ होममा तनाव

१५ कात्तिक, विराटनगर । उपचार गराउन भर्ना भएकी सुत्केरीको मृत्युपछि विराटनगरको विराट नर्सिङ होममा मृतकमा आफन्तले प्रदर्शन गरेका छन् ।

सामान्य प्रसुतिमार्फत छोरा जन्माएकी सुनसरी दुहरी नगरपालिका– ८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका हुन् ।

मंगलबार विराट मेडिकल कलेज टंकीशिनवारीमा छोरा जन्माएकी रमिलाको रक्तश्राव नरोकिएपछि चिकित्सकले सोही दिन दिउँसो पाठेघर फालिदिएका थिए । तर होस नखुलेपछि बुधबार दिउँसो विराट नर्सिङहोममा ल्याएर भेण्टिलेटरमा भर्ना गरिएको थियो ।

बिहीबार राति विरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै आफन्त र स्थानीयले नाराबाजी गरेका हुन् ।

मृतकका आफन्तले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र घटनाको छानबिन हुनुपर्ने माग राखेका छन् ।

रमिलाका श्रीमान भूपाल घिमिरेले दिउँसो ३ बजे शल्यक्रिया सफल भएको चिकित्सकले बताए पनि विरामीको अवस्थामा सुधार नआएको बताए । तर बुधबार बिहानसम्म होस नआएपछि टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा ल्याएको बताए ।

जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा राखिएको थियो । नवजात शिशुको पनि मृत्यु भइसकेको छ । सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको मृतककी काकी रिमला घिमिरेले बताइन् ।

अस्पतालका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रियामा कुनै लापरबाही नगरिएको विराट नर्सिङहोमका सञ्चालकसमेत रहेका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीले बताए ।

बिरामीको मृत्यूपछि स्थानीय प्रशासनको समन्वयमा दुबै पक्ष बार्तामा बसिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment