Comments Add Comment

कहाँ पुग्यो काठमाडौंमा रेल गुडाउने महानगरको योजना ?

१५ कात्तिक, काठमाडौं । काठमाडौंवासीलाई रेलको सपना देखाउँदै मेयरको चुनाव जितेका थिए विद्यासुन्दर शाक्यले । तर, उनको कार्यकालको आधा समय गुज्रिसक्दा रेलको सम्भाव्यता अध्ययन नै पूरा हुन सकेको छैन ।

चुनावमा अन्य उम्मेदवारजस्तै रेललाई प्राथमिकतामा राखेका मेयर शाक्यले निर्वाचित भएको डेढ वर्षपछि बल्ल सक्रियता देखाए । अहिले डीपीआर निर्माणको चरणमा छ । मेयर शाक्यले यही कार्यकालमा रेल उद्घाटन गर्न सक्ने सम्भावना शून्यप्राय छ ।

थोरै खर्च र छिटो बनाउन सकिने भन्दै महानगरले मोनो रेलको योजना अघि सारेको छ । जसअनुसार चिनियाँ कम्पनी सीआरसीसीलाई डीपीआरको जिम्मा दिइएको छ । सीआरसीसीका नेपाल प्रतिनिधि नविन पोख्रेल डीपीआर बनाउने काम जारी रहेको बताउँछन् ।

‘दशैं–तिहार बिदाका कारण केही समय काम रोकिएको थियो, बिहीबारदेखि सञ्चालन भएको छ,’ उनले भने । काम निर्धारित समयमा सम्पन्न हुन्छ वा हुँदैन भन्न नसकिने उनले बताए ।

प्रारम्भिक अध्ययन प्रतिवेदन निर्धारित समयभन्दा अगाडि बुझाएको यो कम्पनीले डिपीआर अध्ययनमा भने ढिलाई गर्ने संकेत महानगरका अधिकारीले पाएका छन् । एक अधिकारीले भने, ‘डीपीआर समयमा नबन्ने निश्चितप्राय छ, विद्यासुन्दर सरको कार्यकालमा रेल गुड्दैन ।’

जति चाँडो गरे पनि ५ वर्ष समय लाग्ने भन्दै मेयर शाक्यको कार्यकालमा रेल गुड्ने सम्भावना ०.१ प्रतिशत पनि नरहेको दावी उनले गरे ।

मेयर शाक्यको कार्यकाल अब तीन वर्षजति बाँकी छ । डीपीआर बनिसकेपछि टेण्डर प्रक्रिया सम्पन्न हुन कम्तीमा पनि ५/६ महिना लाग्छ । त्यसपछि २ वर्ष बाँकी रहन्छ । रेल बन्नका लागि कम्तीमा ३ वर्ष लाग्छ भने सञ्चालनमा आउन ५ वर्ष लाग्ने जानकारहरु बताउँछन् ।

काठमाडौं र ललितपुर दुई महानगरपालिका मिलेर मोनोरेलको विस्तृत अध्ययन परियोजना प्रतिवेदन (डीपीआर) बनाउन चिनियाँ कम्पनीलाई जिम्मा दिएका थिए । ६ महिना अवधि तोकिएको प्रारम्भिक अध्ययन चाइना रेल्वे २५ औं ग्रुप (सीआरसीसी)ले ३ महिनामा नै सकेर महानगरलाई प्रतिवेदन बुझाएको थियो । पछि सोही कम्पनीसँग डीपीआर सम्झौता दुई महानगरले गरेका थिए ।

४ पुस २०७५ मा डीपीआरको जिम्मा पाएको उक्त कम्पनीले आगामी पुस पहिलो सातामा डीपीआर बुझाउनुपर्नेछ । त्यसका लागि अब २ महिनामात्रै समय छ ।

प्रारम्भिक अध्ययनअनुसार चक्रपथको सडकमाथि बनाइने मोनोरेलको लम्बाई कुल २७ दशमलब ५ किलोमिटर हुनेछ । २१ स्थानमा यात्रु चढाउने र ओराल्ने स्टेशन रहने प्रारम्भिक अध्ययनले देखाएको छ । जसअनुसार मोनोरेलको स्टेशन कोटेश्वर–कलंकी, कलंकी–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा हुनेछ ।

चक्रपथमा ईपीसीएफ मोडलबाट सञ्चालन हुने भनिएको मोनोरेल दुई वा पाँच वर्ष सम्पूर्ण प्राविधिक सेवासहित निर्माण कम्पनीले नै सञ्चालन गर्ने प्रस्ताव छ । उक्त अवधिमा काठमाडौं र ललितपुर महानगरपालिकाले सीआरसीसीलाई वार्षिकरुपमा सम्झौता अनुसारको रकम भने बुझाउनुपर्नेछ ।

के भन्छन् मेयर शाक्य ?

महानगरका मेयर शाक्यले अहिले डीपीआर अध्ययनको काम धमाधम भइरहेको भन्दै डीपीआर सकिए लगत्तै टेण्डर प्रक्रियामा जाने बताए । सरकारका विभिन्न निकायहरुले सकारात्मक ढंगले सहयोग गरे रेल निर्माण सहज हुने उनको प्रतिक्रिया छ ।

‘महानगरवासीलाई रेलको सपना देखाउनुभएको थियो, तर तपाईंका पालामा त सम्भव देखिएन नि ?’ भन्ने अनलाइनखबरको प्रश्नमा मेयर शाक्यले भने, ‘हामी एक्लैको प्रयासले सम्भव हुने कुरा होइन । यहाँ बुद्धिजीवीहरु कस्ता छन् भने, काम नगरेसम्म किन गरिनस् भन्छन्, सम्झौता गरेपछि योभन्दा अर्को विकल्प राम्रो थियो भनेर आलोचना गर्छन् । यो काम गर्न नदिने नियत हो । हाम्रो योजना कार्यान्वयन भयो भने अर्को चुनाव पनि जित्छौं भनेर असफल बनाउन लागपरेका छन् । तर, हामी रोकिँदैनौं ।’

डीपीआर सकिएपछि टेण्डर प्रक्रियामा जाने र अहिले डीपीआर बनाइरहेको कम्पनी सीआरसीसीलाई टेण्डर नपरे उसलाई अध्ययन खर्च दिएर बिदा गरिने मेयर शाक्यले बताए ।

मेट्रोरेलको च्याप्टर बन्द भएको हो ?

काठमाडौंमा मेट्रो रेल चलाउने कि मोनोरेल चलाउने भन्ने विषयमा बहस अहिले पनि टुंगिएको छैन । काठमाडौंमा मोनोरेल भन्दा मेट्रो रेल नै चलाउनुपर्ने कतिपय विज्ञहरुको मत छ ।

मोनो रेलका लागि खर्च कम लाग्छ र निर्माण अवधि पनि कम हुन्छ भने मेट्रो रेलका लागि खर्च पनि धेरै लाग्ने र निर्माणका लागि समय पनि धेरै लाग्ने हुन्छ । समय र खर्च बढि लागे पनि दीर्घकालिन रुपमा मेट्रो रेल नै उपयुक्त हुने ट्राफिक इन्जिनियर आशिष गजुरेल बताउँछन् ।

धेरै देशहरुको अभ्यासले पनि मोनोभन्दा मेट्रो रेल नै उपर्युक्त देखाएको भन्दै उनले मोनो रेलबाट महानगर ब्याक हुनुपर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment