Comments Add Comment

डिजेल र मट्टितेलको आयात घट्दा जोगियो साढे ५ अर्ब

किन घट्यो आयात ?

१५ कात्तिक, काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा डिजेल र मट्टितेलको आयातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तीन महिनाको विवरणअनुसार मुख्य चाडपर्व अघिको तीन महिना अवधिमा गत वर्षभन्दा कम आयात भएको हो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म ३० करोड ८२ लाख ३६ हजार लिटर डिजेल आयात भएको छ । अघिल्लो वर्ष समीक्षा अवधिमा आयल निगमले ३४ करोड २० लाख ९८ हजार लिटर डिजेल नेपालले आयात गरेको थियो । यस्तै गत वर्ष ६६ लाख ८२ हजार लिटर मट्टितेल आयात गरेको निगमले चालू आर्थिक वर्षको ३ महिनामा ६६ लाख १० हजार लिटर मट्टतिेल आयात गरेको छ ।

तथ्यांकअनुसार गत वर्षभन्दा ३ करोड ३८ लाख ६२ हजार लिटर डिजेल र ५ करोड ९४ लाख १९ हजार लिटर मट्टितेल कम आयात भएको हो ।

जोगियो साढे ५ अर्ब

नेपाल आयल निगमका अनुसार आयात घटेसँगै डिजेल र मट्टितेलको आयात घट्दा निगमको यो सिजनमा साढे ५ अर्ब जोगिएको छ । गत वर्षको पहिलो त्रैमासिकमा डिजेल किन्न नेपाल आयल निगमले २५ अर्ब ६१ करोड ७ लाख ४३ हजार रुपैयाँ खर्च गरेको थियो ।

चालू आर्थिक वर्षको तीन महिनामा निगमले २० अर्ब १६ करोड ३९ लाख ४ हजार रुपैयाँ खर्च गरेको छ । डिजेलमा मात्रै ५ अर्ब ४४ करोड ६८ लाख ३९ हजार रुपैयाँ जागिएको छ ।

यस्तै, गत वर्ष मट्टितेल आयात गर्न निगमले ४८ करोड ४५ लाख ७३ हजार रुपैयाँ करबाहेक खर्च गरेको थियो । चालू आर्थिक वर्षको तीन महिनामा ४२ करोड ५१ लाख ६० हजार रुपैयाँ खर्च भएको छ ।

आयात किन घट्यो ?

डिजेल र मट्टितेलको आयात घट्नुको मूख्य कारण नियमित विद्युत आपूर्ति हो । निगमका नायव प्रबन्धक सुशील भट्टराईका अनुसार अघिल्लो वर्षसम्म उद्योगहरुमा रहेको केही घण्टाको लोडसेडिङ हट्दा डिजेल आयात घटेको छ । अहिले डिजेल हालेर जेनेरेटर चलाउनुपर्ने अवस्था उद्योगहरुमा छैन ।

यस्तै लामो बर्खाका कारण ठूला आयोजनाका कामहरु सुचारु नहुँदा डिजेलको खपत कम भएको हुनसक्ने नायव प्रबन्धक भट्टराईको बुझाइ छ ।
‘बर्खाले गर्दा धेरै कच्ची सडकहरु छिटो सञ्चालनमा आउन नसक्नु, ठूला आयोजनाको काम सुरु नहुनु पनि डिजेल आयात घट्नुको कारण हो,’ उनले भने ।

पाइपलाइनमार्फत डिजेल ढुवानी सुरु गरेपछि भारतीय बजारसम्म पुग्ने करिब ३ सय ट्याकंरको ढुवानी डिजेल खर्च जोगिनु, भारत र नेपालमा डिजेलको मुल्यमा खासै फरक नभएका कारण नेपालीहरुबाट डिजेलको अपचलन घट्नुले पनि डिजेल आयातमा कमि आएको निगमको बुझाई छ । निगमले ढुवानीका ट्याङ्करमा हुने चुहावट रोक्न लकिङ प्रणालीमा गरेको कडाईका कारण पनि भारतीय बजारमा नेपालबाट हुने चुहावट घटेको निगमको आँकलन छ ।

पेट्रोल र ग्यास आयात बढ्यो

गत वर्षको तुलनामा खाना पकाउने ग्यास, हवाई इन्धन र पेट्रोल आयात भने बढेको छ । चालू आर्थिक वर्षको तीन महिनामा खाना पकाउने ग्यासको आयात झण्डै एक करोड किलो हाराहारीले बढेको छ ।

चालू आर्थिक वर्षको तीन महिनामा ११ करोड २३ लाख ५३ हजार ७६८ किलो खाना पकाउने एलपी ग्याँस निगमले आयात गरेको छ । गत वर्ष समीक्षा अवधिमा १० करोड २८ लाख ९२ हजार १५७ किलो एलपी ग्यास आयात भएको थियो ।

त्यस्तै, यस वर्ष पनि पेट्रोल र हवाई इन्धनको आयात बढेको छ । गत वर्ष एक लाख ३६ हजार ४३० किलोलिटर पेट्रोल आयात गरेको निगमले चालू आर्थिक वर्षको तीन महिनामा एक लाख ५७ हजार ४५६ किलो लिटर पेट्रोल आयात गरेको छ ।

गत वर्ष ४५ हजार ७०४ किलोलिटर आयात भएको हवाई इन्धन समिक्षा अवधिमा ३ हजार किलोलिटरले बढेर ४८ हजार १०४ किलोलिटर पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment