Comments Add Comment

सुनकोसी २ आयोजनाबाट सदरमुकाम मन्थलीसमेत डुब्ने

१५ कात्तिक, रामेछाप । सुनकोसी २ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कनको लागि निर्धारित क्षेत्रमा मन्थली बजारसहित रामेछापको सुनकोसी र तामाकोसी किनारका अधिकाँश वस्ती परेका छन् ।

यसबाट आयोजना बन्दा उल्लेखित वस्तीहरु डुब्ने हल्ला चलेर बेघरबार हुने त्रास फैलिएको छ । डुबान हुने हल्लाले जग्गा किनबेच समेत प्रभावित भएको छ ।

आयोजनाले सार्वजनिक गरेको सुचना अनुसार जिल्ला सदरमुकाम रहेको मन्थली नगरपालिका वडा नं १, २, ६, ७, ८ र ११ का वस्ती बाँधको डुबानमा पर्नेछन् ।

त्यस्तै, खाँडादेवी गाउँपालिकाको १, २, ३ र ४, रामेछाप नगरपालिकाको ५, ७, ८ र ९ तथा लिखु तामाकोसी गाउँपालिकाको ७ नं वडा पनि डुवानमा पर्ने छन् । काभ्रे जिल्लातर्फ तिमाल गाउँपालिका वडा नं ९, सिन्धुलीको गोलञ्जोर गाउँपालिका १, २, ३, ६ र ७, सुनकोसी गाउँपालिकाको १ देखि ७ नं वडासम्म र फिक्कल गाउँपालिकाको २ नं वडा पनि डुबानमा पर्नेछ ।

आयोजना निर्माणका लागि विद्युत विकास विभागमार्फत वातावरणीय प्रभाव मूल्यांकन क्षेत्रसम्बन्धी सूचना स्थानीय तहमा टाँसिएको छ । आयोजनाको बाँधले समुन्द्र सतहबाट ६०० मिटर माथिसम्मको भाग डुबाउने छ । यसबाट माडी फाँट, खुर्काेटको फाँट, ग्वालटार, देउरालीटार लगायतका उर्वर जमिनहरु डुब्ने छन् ।

सिन्धुली र रामेछापको सीमा नदी सुनकोशीको चाकुटारमा १६१ मिटर अग्लो बाँध बनाएर पानी जमाउँदा तामाकोसी र खिम्ती खोलाको दोभानसम्म पानी जम्ने छ । त्यसबाट विपीमार्ग र निर्माणाधिन मध्पहाडी लोकमार्ग क्षेत्रका बजार र फाँटहरु डुवानमा पर्नेछन् । ३५ वर्ष अघिदेखी चर्चामा रहेको सुनकोशी २ आयोजनाबाट ११ सय ५० मेगावाट विद्युत उत्पादन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment