Comments Add Comment

मिथिलामा कलाकारको प्रतिस्पर्धा, एकै दिन दुई छठ गीत सार्वजनिक

१६ कात्तिक, जनकपुरधाम । एउटा समय थियो, धार्मिक, सांस्कृतिक गतिविधिहरूमा भारतीय कलाकारहरूले गाएको गीत तराई/मधेशका जिल्लाहरुमा गुञ्जिरहेको हुन्थ्यो । कसैको विवाह होस् या दशैं, दीपावली, छठ, सामाचकेवासहितका पर्व, विहारका गायकहरूका गीत नै बढी बजाइन्थ्यो । तर, अहिले अवस्था बदलिएको छ । भारतीय गायकका गीतको सट्टामा स्थानीय कलाकारको गीत बज्न थालेको छ ।

अहिले स्थानीयस्तरमै आफ्नै भाषामा गीत रेकर्डिङ्ग गराउन कलाकारहरूको प्रतिस्पर्धा नै चलेको छ । यो छठकै बीचमा स्थानीय कलाकारहरूले आफ्नै भेषभुषा, संस्कृति र भाषालाई उजागर गर्दै छठसम्बन्धी गीतहरु सार्वजनिक गरेका छन् ।

नाम चलेका दुई जना महिला कलाकारले आफ्नो सुमधुर स्वरमा छठको गीत सार्वजनिक गरेका हुन् । दुवै गीत एकै दिन सार्वजनिक गरिएको छ ।

सप्तरीका कलाकारहरुको सक्रियतामा छठ गीतको म्युजिक भिडियो निर्माण गरिएको छ ।

सप्तरी निवासी गायिका अञ्जु यादवको स्वर भएको र मैथिली, नेपाली एवं भोजपुरी सिनेमाकी चर्चित नायिका डोली सरकारद्वारा अभिनित छठ गीतको म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ ।

जननी फिल्मस् यु–ट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

चर्चित गीतकार अशोक दत्तको गीत रचना रहेको ‘दियौ आशिष भक्तके हे छठी मैया’ बोलको गीतको कोरियोग्राफीसमेत नायिका डोली सरकारले गरेकी छिन् । युवा संगीतकार दीपेन्द्र रामको संगीत रहेको म्युजिक भिडियो राजविराजस्थित युनाइटेड रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको छ । गीतको छायाङ्कन एवम् सम्पादन प्रेम राउतले गरेका छन् ।

हालसम्म सार्वजनिक भएका छठ गीतमध्ये यो म्युजिक भिडियो पृथक रहेको नायिका डोलीले जानकारी दिइन् ।

यता, सिंगिङ रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चित भएकी गायिका शान्ति सदाको स्वरमा ‘छठी मैयाके रे महिमा’ गीतको सर्वजनिक गरिएको छ ।

सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा सूर्यनारायाण सिंहद्वारा रचित ‘छठी मैयाके महिमा अगम अपार…’ बोल रहेको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदाको अफिसियल युट्युबमार्फत् शुक्रबार सार्वजनिक गरिएको छ ।

आदित्य ठकुरीको निर्देशन तथा संगीता श्रेष्ठको सहनिर्देशन रहेको गीतको म्युजिक भिडियोमा संगीत संयोजन पारसमणीले गरेका छन् । गीतको रचना सूर्यनारायण सिंहले गरेका छन् ।

मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिश दत्त सांस्कृतिक, पारम्परिक गीतहरुमा स्थानीय कलाकारहरूको प्रतिस्पर्धा बढ्नु अत्यन्तै सकारात्मक भएको बताउँछन् । ‘यसअघि भारतीय गायक/गायिकाको गीत मात्रै सुन्ने गरिएकोमा अब स्थानीय कलाकारकै गीत सर्वसाधारणले रूचाउन थाल्नु पनि सकारात्मक हो’, उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment