Comments Add Comment

वैज्ञानिकताको कसीमा सांस्कृतिक पर्व

भदौमा बकर ईद मनाइयो । असोजमा बडा दशैं मनाइयो । केही दिनअघि दीपावली सकियो अनि नेपाल सम्वत् ११४० को नववर्ष उत्सव मनाइयो । त्यसै दिन नेवार समुदायले म्हः पूजा गरे । अस्ति भाइटीका पनि सम्पन्न भयो । तराई मधेशका जनताले छैठ (छठ) पर्व मनाइरहेका छन् । यस्तो प्रतित हुन्छ, भदौ, असोज र कात्तिकमा साँस्कृतिक पर्वहरुको बाढी नै आउँछ ।

नेपाल एउटा बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक हो । यहाँ हरेक समुदायका आ-आफ्नै चाड पर्वहरु छन् । हरेकका आफ्नै संस्कारहरु छन् । विशेषतः शरद ऋतुका वरिपरी मनाइने यी चाडपर्वको समान विशेषता छ- मिठो खाने, राम्रो लगाउने र टाढाटाढा गएका एवम् देश विदेशमा भएकाहरु घर फर्किने र परिवार मिलन गर्ने । मनोरञ्जन, नाचगान पनि साझा विशेषता हुन् । युवाहरुमा छुट्टै रौनक हुन्छ । यी पर्वहरु हाम्रो एकता, सदभाव, भाइचाराका आधारहरु बनेका छन् । त्यसैले एक अर्काबीच खुसी साटासाट हुन्छन् ।

पछिल्ला केही वर्षमा राजनीतिक दलहरु पनि शुभकामना आदान प्रदान गरेर यी सांस्कृतिक पर्वलाई नयाँ ढंगले अगाडि बढाउन लागेका छन् । हाम्रा यी सांस्कृतिक पक्षहरु राष्ट्रका धरोहर हुन् । यी हाम्रा पहिचान हुन् । यिनीहरु हाम्रो समाजका तागत् हुन् । यी संस्कृतिको सकारात्मक पक्षलाई हामीले अघि बढाउनै पर्छ । यसरी अघि बढाउन हामीले तिनीहरुको ऐतिहासिकता, तात्कालीक आवश्यकता, तिनीहरुको विकास प्रक्रियाबारे विज्ञानसम्मत धारणा बनाउनु पर्छ ।

संस्कृतिको क्षेत्रमा योजनाबद्ध अध्ययन भएका भएका छैनन् । प्रतिष्ठान र विश्वविद्यालयहरुले पनि यथेष्ट महत्व दिएर अनुसन्धान गरेका छैनन् । पार्टीहरुका पनि व्यवस्थित धारणा देखिएका छैनन् । दीपावलीबारे थुप्रै प्रकारका कथाहरु छन् । दशैंका बारेमा चार प्रकारका विश्वासहरु पाइन्छन् । छठबारे पनि विविध विश्वास भेटिन्छन् । प्राज्ञ नयराज पन्तले नेपालको प्रमाणित इतिहास लेखिएको छैन भन्नुहुन्थ्यो । राजा महाराजालाई केन्द्रविन्दुमा राखेर लेखिएको इतिहास सामन्ती कालमा पढाइयो । संस्कृतिको क्षेत्रमा पनि त्यस्तै समस्या छन् ।

पारलौकिक र अलौकिक कथाहरु बुनेर ऐतिहासिक सत्यलाई समेत मिथ्याका रुपमा प्रस्तुत गरिएको छ । संस्कृतिको क्षेत्रका सकारात्मकतालाई निरन्तरता दिँदा तिनीहरुको वैज्ञानिकता, सान्दर्भिकता र आर्थिक व्यवहारमा पार्ने प्रभावलाई पनि मूल्याङ्कन गर्नैपर्छ ।

सबै सही हुन्छन् भन्ने छैन

सांस्कृतिक परम्परा भन्नेबित्तिकै सबैलाई यथावत् रुपमा ग्रहण गर्ने हाम्रो प्रवृत्ति छ । यस्तो देखिन्छ सताब्दीऔं पुराना मूल्य मान्यतालाई पनि निरन्तरता दिन खोजिन्छ । चाहे पुराना हुन्, चाहे नयाँ हुन् सबै सांस्कृतिक विषय सही हुन्छन् भन्ने छैन । एकथरीहरु इतिहासको कठघरामा अस्वीकृत भएका सामन्ती सोच र तिनका संस्थालाई पनि पुनर्जीवित गर्न खोज्दै छन् । संस्कृतिको क्षेत्रमा पनि हामीले सही र गलत छुट्याउनै पर्छ । जसले समाजलाई अग्रगति प्रदान गर्छ, जसले जनताको एकतालाई मजबुत पार्छ, जसले श्रम, समृद्धि र राष्ट्रिय भावनालाई पक्षपोषण गर्छ, त्यसलाई बचाउनुपर्छ र त्यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु पर्छ । जसले मान्छेलाई निम्न कोटीको स्वार्थी र पतीत बनाउन भूमिका खेल्छ, जसले अन्धविश्वास र अज्ञानताको पैरवी गर्न सहयोग गर्छ, जसले एक जाती र अर्को जातीको बीचमा बैमनष्यता श्रृजना गर्न बल प्रदान गर्छ त्यो त्याज्य छ र त्यसलाई अस्वीकार गर्नै पर्छ ।

आज पनि बोक्सी, चुडेल, छाउपडी, देउकी आदिको नाममा गरिने व्यवहार यसै कोटीमा पर्छन् । कुनै पनि पर्व र संस्कारहरु जुन आज पनि सान्दर्भिक छन्, बैज्ञानिक छन् र आर्थिक ढंगले पनि धान्न सकिन्छ तिनलाई निरन्तरता दिनुपर्छ, तिनको रक्षा र विकासमा सबै लागि पर्नुपर्छ । जुन आचार व्यवहार त्यस कोटीमा पर्दैन, तिनलाई परित्याग गर्नु पर्छ । मुख्य कुरा जीवनको आवश्यकतासँग नगाँसिएका औचित्यहीन विषयलाई त्याग गर्न तयार हुनैपर्छ ।

उपासनाको स्वतन्त्रतालाई सम्मान गरौं

चाडपर्वको क्षेत्रमा अलि धेरै प्रश्रय पाएको विषय धर्म पनि हो । संस्कृति एउटा विषय हो, धर्म अर्को विषय हो । धर्मबाट अलग गरेर संस्कृतिलाई हेर्न नसक्ने प्रवृत्ति पनि नेपालमा छ । धर्म इतिहासको एउटा खास कालखण्डमा मानिसलाई अनुशासित बनाउन पनि प्रयोग गरियो । दक्षिण एसियामा धर्मका एउटै परिभाषा छैन । कसैले यसलाई कर्तव्यसँग जोडेका छन्, कसैले अनुशासन, कसैले अन्धविश्वाससँग जोडेका छन् ।

धर्मको नाममा राजनीति गर्नेहरु त हरेक सामाजिक घटनालाई राजनीतिकरण गर्न पनि पछि पर्दैनन् । उनीहरु इतिहासलाई तोडमोड गर्छन् । तर्कलाई अस्वीकार गर्छन् र विज्ञानलाई निषेध गर्छन् । त्यस्ताहरुको एउटा काम धर्मनिरपेक्षताको विरोध हो । हाम्रो संविधानले अंगिकार गरेको धर्म निरपेक्षताको महत्वपूर्ण पक्ष भनेको उपासनाको स्वतन्त्रताको अबलम्बन हो ।

हाम्रो यहाँ धर्म मान्ने, नमान्ने, तटस्थ बस्ने धेरै प्रकारका मानिसहरु छन् ।  देश र समाजको एकता र प्रगतिका लागि आवश्यक शर्त हो- एकले अर्काको संस्कृतिको सम्मान गर्नु । हामीले उपासनाको स्वतन्त्रतालाई प्रत्याभूत गरेपछि कसैप्रति घृणा र विरोध पनि जरुरी छैन । त्यसमाथि एउटालाई अरुमाथि थोपर्ने कुरा त लोकतान्त्रिक पनि छैन र हुँदैन । त्यो संविधानसम्मत पनि हुँदैन । हामीले राम्रा र आज पनि सान्दर्भिक प्राचिन मूल्यको संरक्षण गर्दै नवीन मूल्यसँग जोड्नु पर्छ ।

सबै आधुनिक कुरा पनि ठीक छैनन्

अहिले पुराना विषयलाई मात्र समातेर हुँदैन, आधुनिक विषयलाई पनि आत्मसाथ गर्नैपर्छ । समकालीन विश्वमा हेर्ने हो भने विज्ञान र प्रविधिको यो हदसम्म विकास भयो जसले कतिपय मुलुकको अर्थतन्त्रमा कायापलट नै गर्‍यो । विज्ञान र प्रविधिबिना विकास र समृद्धि कल्पनै गर्न नसकिने भयो । त्यसैले विज्ञान र प्रविधिलाई उत्पादन शक्ति मानिएको छ र एकथरीले आउने समयलाई प्राविधिक क्रान्तिको युग भन्न थालेका छन् ।

साँच्चै अहिले हाम्रो जीवन पद्धति हेर्ने हो भने भान्सादेखि स्कूलसम्म, कार्यालयदेखि खेतखलियानसम्म प्रविधिले गहिरो जरा गाड्न थालेको छ । गर्भदेखि चिहानसम्म पनि प्रविधि हाबी हुँदै गएको छ । पछिल्लो समयमा विकास भएका वैज्ञानिक चिन्तन र प्रविधिलाई पुराना मूल्य मान्यतासँग जोड्दा कतिपय वर्णशंकर हुन पुगेका छन् । प्राचिनता र आधुनिकतालाई जोड दिन जरुरी छ तर त्यो सुविचारित, जीवनोपयोगी र दीर्घकालीन रुपमा टिकाउ हुनुपर्छ । हेक्का राख्नुपर्ने विषय के हो भने सबै आधुनिक विचार र प्रविधिहरुको प्रयोग पनि सही ढंगले भएको छैन ।

यस सन्दर्भमा दुईओटा दृष्टान्त उल्लेख गर्न चाहन्छु । पहिलो, हामीले उत्पादन वृद्धिको नाममा कृषि क्षेत्रमा विषादी भित्र्याउने जुन पद्धति अपनायौं त्यसको परिणाम अहिले किसानहरु असाध्य भनिने क्यान्सरसँग लडिरहेका छन् । कसैका मिर्गौला फेल भएका छन् । काम गर्न नसक्ने अवस्थामा छन् । कोहीमा मुटुका समस्या छन् । यो प्रविधिले मानिसको जीवन मात्र होइन, हाम्रो प्रकृतिको सुन्दर उपहार माटोको जीवन पनि समाप्त गरेको छ । त्यसैगरी बोटविरुवा र जीवजनावरहरुको पनि हत्या भएको छ ।  विषादी प्रयोग गरेपछि ५०/६० वर्षसम्म जमिनको उत्पादकत्व नष्ट भएको अध्ययनले देखाएको छ ।

दोस्रो, अहिले हामी डिजिटल युगमा छौं । नेपाललाई पनि हामी डिजिटलाइज्ड गर्दैछौं । दक्षिण एसियामा नै नेपाल मोबाइल फोन बढी प्रयोग गर्ने देशमा पुगेको छ । यसमा युवाहरुको महत्वपूर्ण भूमिका छ । साँच्चै युवाहरु परिवर्तनका बाहक हुन् । तर यो प्रविधिको प्रयोगसँगै युवाहरुलाई नयाँ ढंगले मार्गनिर्देश गर्नुपर्ने आवश्यकता भएको छ । अहिले युवा मष्तिष्कका लागि अनलाइनमा कस्तो व्यवहार देखाउने, कम्प्युटर गेमको कुलतबाट कसरी बचाउने, साइबर बुलिङबाट कसरी जोगाउने, इमोसनल हेल्थ कसरी राम्रो राख्ने जस्ता कुराहरु पनि समाजमा आउन थालेका छन् । Violent Video Gametyf Violent व्यवहारबाट जोगाउने जस्ता विषय पनि पनि उठ्न थालेका छन् ।

मान्छेको शारीरिक, मानसिक, सामाजिक, आत्मिक र संवेगात्मक स्वास्थ्य हुन्छ भनी विश्व स्वास्थ्य संगठनले  भनेको छ । संस्कृतिलाई यस कोणबाट पनि हामीले हेर्नुपर्छ । स्वस्थ संस्कृतिले मात्र स्वस्थ मान्छे निर्माण गर्न सक्छ । प्राचिनता र आधुनिकताका सकारात्मक र जीवनोपयोगी संस्कृतिले मात्र हाम्रा चाडपर्वलाई स्वस्थ र मनोरञ्जनात्मक बनाउन सक्छन् । त्यस्तो संस्कृति निर्माण गर्नु पनि हाम्रो दायित्व हो ।

प्रकृति र मान्छेको गहिरो सम्बन्ध

केही दिनदेखि छैठ पर्व धुमधामका साथ मनाइरहिएको छ । खास क्षेत्र र खास समुदायले मनाउने यो पर्व अहिले राष्ट्रिय पर्व बनेको छ । नेपाली संस्कृतिको महत्वपूर्ण अंग बनेको छ । उषा र प्रतिउषामा सूर्यको उपाशना गर्ने यो ‘कृतज्ञता’को छठ पर्व पनि मूल सन्देशबाट विषयान्तर त हुँदै छैन ? भन्ने प्रश्न उठेको छ । सूर्यलाई पूजा गर्ने यो पर्वको ऐतिहासिकतालाई हेर्दा किसानहरुले आ-आफ्ना उत्पादन सफा नदी र तलाउको वरिपरी प्रदर्शन गर्थे । कृषि युगको त्यो बेलामा त्यो ज्ञान चेतनाको प्रतीक थियो छठको पूजा । त्यो बेलाको संस्कृति र प्रविधिको त्यहाँ प्रदर्शन हुन्थ्यो । अहिले हाम्रा पोखरी र तलाउहरु कति स्वच्छ-सफा छन् ? हामी सूर्यलाई पूजा गर्ने सन्दर्भमा कस्तोे पानी प्रयोग गरिरहेका छौं । स्वास्थ्य र जीवनको कोणबाट संस्कृतिलाई हेरिएको छ कि छैन ? बजारमा गएर सामान ल्याएर हामी प्रदर्शन गर्दैछौं । के हामी उत्पादनसँग गासियौं त ? यो सवाल छठको मात्र होइन, अन्य पर्वहरुसँग पनि गाँसिन्छ ।

सामान्यतः जेठ असारमा महत्वपूर्ण खेतिपाती लगाएपछि कात्तिक, मंसिर र पुसमा बाली भित्र्याउनुपूर्व विभिन्न जातजातिले शक्ति आर्जनका लागि महत्वपूर्ण पर्वहरु मनाउँछन् । यी पर्वहरु कुनै न कुनै रुपमा प्रकृति केन्दि्रत थिए । आजको मानव जातीसँग फ्रान्सेली क्रान्ति, नोभेम्बर क्रान्ति, चिनियाँ क्रान्ति, पेरिस कम्युन्, मे दिवस, आठ मार्च, स्वाधीनता दिवसहरु आदि छन् । प्रजातन्त्र, गणतन्त्रका नयाँ नयाँ पर्वहरु थपिए । पहिले यस्तो थिएन । प्रकृति एउटा दुरुह बस्तु थियो । सूर्यकै कारण जीवन सम्भव भएको मानिसहरु ठान्थे । सूर्यकै आरधना गरी शक्ति प्राप्त गर्थे । पृथ्वी सूर्यको वरिपरी घुम्छ, उसकै कारण आफ्नो जीवन सम्भव छ भन्ने मानिसहरुलाई लाग्थ्यो । त्यसैले मानिसहरु सूर्यको पूजा गर्दथे । उपासना र आरधनामा एक प्रकारको सकारात्मक ऊर्जा प्रवाह हुन्छ । त्यसैले यसलाई जीवन पद्धतिमा ढालियो । गृहस्थ जीवनको तमाम् समस्याहरुको बीचमा यसले ‘राहत’ पनि दिन्थ्यो ।

ऋतु परिवर्तनको कोणबाट हेर्दा यो समय ज्यादै महत्वपूर्ण छ । सूर्यलाई केन्द्रविन्दूमा राख्दा मनाइने चारओटा उत्सवहरु ऋतु परिवर्तनसँग सम्बन्धित छन् । शरद उत्सव, बसन्त उत्सव, मकर सक्रान्ति र साउने सक्रान्ति यसका दृष्टान्त हुन् । सूर्यसँग सबभन्दा टाढा, सबभन्दा नजिक, उत्तरी गोलार्द्धबाट हेर्दा भूमध्य रेखा माथि सूर्यको किरण पर्ने दिन रात बराबर भएका समयलाई अनुभूत गरेर नै यी पर्व/उत्सव/सक्रान्तिहरु मनाइएका हुन् । पुस/माघ सामान्यतया December-22 देखि June-21बाट सूर्य उत्तरायण हुन्छ र असार/साउन सामान्यतया june-22 देखि december-22 बाट सूर्य दक्षिणायण हुन्छ । मार्च २१ र सेप्टेम्बर २३ मा दिन र रात बराबर हुन्छ । सूर्य, पृथ्वी र चन्द्रमासँग सम्बन्धित कथाहरु यही सेरोफेरोमा निर्माण भएका थिए । ब्रह्माण्डलाई बुझ्ने क्रममा यी उत्सवहरु मनाउन थालिए । कालान्तरमा शासकहरुले यसलाई आफ्नो स्वार्थलाई सहयोग पुग्ने गरी मलजल गरे । कतिले अन्धविश्वास र रुढी थपे, कतिले कर्मकाण्डका नयाँ पद्धति बसाले । साँच्चै अहिले हेर्दा हाम्रा चाड पर्वहरु कति शासकीय स्वार्थ अनुरुप निर्मित भए ? कति हाम्रो जीवन पद्धतिसँग सम्बन्धित भए ? तिनलाई छुट्याउन जरुरी छ । अर्थात् गहिरो अध्ययन र अनुसन्धान आवश्यक छ ।

योग र ध्यानलाई अंगीकार गरौं

पछिल्लो समयमा हामी अलि पश्चिमामुखी भएका छौं । विज्ञान र प्रविधिको क्षेत्रमा भएका प्रगतिलाई समात्न खोज्दा हाम्रा महत्वपूर्ण उपलब्धिहरु पनि बिर्सन थालेका छौं । हाम्रो जीवन पद्धति माथि नै त्यसले प्रभाव पार्दै लगेको देखिन्छ ।

कतिपयको के तर्क पनि सुनिन्छ भने पूर्वीय ज्ञान, विज्ञान, दर्शन, सभ्यता, साहित्य पछाडि पर्नुको एउटा कारण योग, ध्यानतिर लाग्नु हो । तर गहिराइमा गएर हेर्ने हो भने हामीले योग र ध्यानको अभ्यास गरेकै छैनौं । कर्मकाण्डी र सतही अवलम्बन मात्र गर्न खोजेका छौं । वास्तवमा योग, ध्यान हाम्रा वैज्ञानिक उपलब्धि हुन् । यिनीहरु वैज्ञानिक छन् । सही अर्थमा यिनीहरुलाई हामीले जीवन पद्धति बनाउन सकेका छैनौं । कथित आधुनिकताका नाममा पश्चिमा तडकभडक र उपभोक्तावादले सिर्जना गरेका मानवीय तनाव, बेचैनी, अहंकार, दम्भ जस्ता विषयबाट माथि उठ्न र एउटा मान्छेलाई शान्त, प्रेममय र आनन्दित बनाउन अहिले पनि ध्यान र योगले असाधारण भूमिका खेल्छ । त्यसैले योग र ध्यानलाई पनि हाम्रो संस्कृतिको अभिन्न अंग बनाउनु पर्छ ।

अन्तमा

मानव जातीले विजयका नयाँ कथाहरु लेखिरहेका छन् । नयाँ उत्सवहरु मनाइरहेका छन् । पुराना कतिपय पर्वहरु ओझेल परे । कतिपय धुमिल ढंगले मनाइए । नाफाको लागि पूँजीवादीहरुले प्रकृतिमाथि हमला र दोहन गर्न थालेपछि फेरि प्रकृतिको महत्वबारे बहस उठेका छन् । प्रकृतितर्फ फर्क (Back to Nature) र हरित अभियानहरु शुरु भएका छन् । मुख्य कुरा मान्छे र प्रकृतिको सम्बन्ध बहुआयामिक छ । विचलित भएको यो सम्बन्धलाई पुनर्जीवित गर्न जरुरी छ । यी सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा तिनीहरुको मर्म र सारलाई पनि पक्रनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment