+
+

डेपुटी गभर्नरको बर्खास्तीबारे छलफल गर्न राष्ट्र बैंकको बोर्ड बैठक बस्दै

डेपुटी गभर्नर श्रेष्ठ भन्छन्– गभर्नर बन्न नदिन चलखेल भाे

रोयल आचार्य रोयल आचार्य
२०७६ कात्तिक १७ गते १०:२९

१७ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्ने/नगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको आज बोर्ड बैठक बस्ने भएको छ । श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा. चिरञ्जीवी नेपालले आइतबार सञ्चालक समित बैठक बोलाएका हुन् ।

नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठको काम–कारवाहीबाट अर्थमन्त्री डा. युवराज खतिवडा असन्तुष्ट थिए । अर्थमन्त्रीको सन्देश डा. राजन खनालमार्फत गभर्नर कार्यालयसम्म पुर्‍याएको स्रोतले बताएको छ ।

डा. खनाल अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्ने राष्ट्र बैंक सञ्चालक समितिका सदस्य हुन् । स्रोतका अनुसार, डेपुटी गभर्नरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप छ ।

राष्ट्र बैंकका दुई डेपुटी गभर्नरमध्ये बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षणलगायत श्रेष्ठको जिम्मामा छ भने अर्का डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको नियमनलगायत हेर्दै आएका छन् ।

०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । सिवाकोटी भने नेकपा लाइनका हुन् । बर्खास्त गर्नका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ ।

आइतबारको बैठकमा सोही विषयमा छलफल हुने भए पनि निर्णय भने नहुने गभर्नरको कार्यालयका एक अधिकारीले बताए । ‘आज बस्ने बैठकमा बैंकको मर्जर मुख्य एजेण्डा हो । यद्यपि, यो विषयमा पनि छलफल हुनेछ’ ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर आजै निर्णय हुँदैन । सबै सञ्चालकहरूको राय लिएर गभर्नर सा’पले छानबिन समिति बनाउन सक्नुहुनेछ ।’

‘गभर्नर बन्न नदिन चलखेल शुरु भयो’

डेपुटी गभर्नर श्रेष्ठले भने आफूलाई गभर्नर बन्न निदन चलखेल भएको बताएका छन् । उनले आफूमाथि सुनियोजित तरिकाले षड्यन्त्र भएको समेत दाबी गरे ।

आफूसँगै सिवोकाटीसमेत गभर्नरको लाइनमा रहेको र दुवै जनालाई ‘ब्याक’ गराउनका लागि निराधार हल्ला फिजाइएको उनले दाबी गरे । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा लगाइएको आरोप निराधार भएको भन्दै उनले भने, ‘जबकि त्यो विषय सबै गभर्नर सापले हेर्ने हो, ममाथि कसरी आरोप लाग्यो ? यो सबै फसाउने षड्यन्त्र हो ।

बैंक तथा वित्तीय संस्था नियमनमा अर्का डेपुटी गभर्नर सिवाकोटीको जिम्मामा पर्छ । तर, यस विषयमा पनि आफूलाई जोडेर गलत प्रचार गरिएको उनले बताए । आधिकारिक रूपमा कतैबाट यस्तो जानकारी नआएको भन्दै उनले यसलाई अहिले नै आफूले नपत्याएको बताए । ‘मैले पनि सञ्चारमाध्यममा आएकाले थाहाँ पाएँ, कतैबाट यस्तो जानकारी आएको छैन’, उनले भने, ‘यो हुनै नसक्ने कुरा हो, जुन आरोप लगाए मेरो जिम्मामा त्यो छैन भन्नेले नै गलत प्रचार गरिएको हो भन्ने पुष्टि हुन्छ ।’

उनले भने, ‘यस अघि पनि सिवाकोटी सर र मेरो विषयमा हरेक कुराहरु गर्ने गरिएका थिए, गभर्नरको दाबेदार भएका कारण यस्तो भएको हुनसक्छ, अन्य आकांक्षले यस्तो गरेको हुनुपर्छ ।’

राष्ट्र बैंकका गभर्नर डा. नेपालको कार्यकाल आगामी चैतमा सकिँदैछ । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका नेपाल सल्लाहकार पदबाट राजीनामा दिएर गभर्नरमा नियुक्त भएका थिए । उनी ५ वर्षे कार्यकाल पूरा गरेर आगामी चैत्रदेखि राष्ट्र बैंकबाट बाहिरिँदैछन् ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?