Comments Add Comment

नारायणहिटी भित्रका केही कक्ष व्यवसायिक प्रयोगमा ल्याउने गृहकार्य

१७ कात्तिक, काठमाडौं । शाहकालीन इतिहास बोकेको ऐतिहासिक धरोहर नारायणहिटी दरबार संग्रहालयभित्रका केही कक्षलाई सरकारले व्यवसायिक प्रयोजनमा लगाउने तयारी गरेको छ । दरबारभित्रको लमजुङ कक्ष, फोहरा बगैचालगायतलाई व्यवसायक प्रयोगमा ल्याउन पुरातत्व विभागले गृहकार्य गरेको हो ।

संग्रहालयको आम्दानी बढाउने उद्देश्यले यस्तो सम्भावनाबारे प्रारम्भिक अध्ययन-अवलोकन थालिएको पुरातत्व विभागका कायममुकायम महानिर्देशक दामोदर गौतमले जानकारी दिए । उनका अनुसार करिब दुई साता अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायत उच्चस्तरीय टोलीले नारायणहिटीको स्थलगत अवलोकन गरेको थियो ।

‘दरबार संग्रहालयको ऐतिहासिक महत्वलाई कायम राख्दै यसबाट आम्दानी पनि बढाउने सोच हो,’ उनले भने, ‘त्यसबारे के गर्न सकिन्छ भनेर एक चरण स्थलगत अध्ययन अवलोकन भएको छ ।’

लमजुङ कक्षमा रात्रीकालीन डिनर सञ्चालन गरी बढीभन्दा बढी पर्यटक आकर्षित गर्न सकिने सम्भावनाबारे छलफल भएको गौतमले जानकारी दिए । ‘संग्रहालयलाई रातमा समेत खुलै राख्न सकियो भने त्यसबाट पर्यटकको बसाइँ अवधि पनि लम्बिने र संग्रहालयको आम्दानी पनि बढ्ने छ’ उनले भने, ‘सरकारले अध्ययन गरी थप कक्ष खुला गर्ने र आम्दानीको स्रोत बढाउनेबारे थप अध्ययन हुनेछ ।’

लमजुङ कक्षमा तत्कालिन राजाहरुले विदेशी पाहुनाका लागि रात्री भोज दिँदा प्रयोग गर्ने डाइनिङ हल छ । यस हललाई व्यवसायिक प्रयोजनमा लगाएर आम्दानी गर्न सकिने योजना सरकारले बनाएको हो । हलमा ९० जनासम्मले एकै पटक बसेर डिनर खान सक्छन् ।

अहिले दरवार संग्रहालयका ३१ कक्ष सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ । यी कक्षसमेत उचित व्यवस्थापनको अभावले जीर्ण बन्दै गएका बेला दरवार भित्रकै केही कक्ष व्यवसायिक प्रयोजनमा दिने तयारी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment