Comments Add Comment
विचार :

नगरपालिकामा दिगो फोहोर व्यवस्थापनका बाधक

भष्मीकरण विधि उपयुक्त छैन, उपयुक्त प्रविधि के हुन्छ ?

शहरी विकास मन्त्रालयमा सन् २०११ मा भएको एक कार्यक्रममा’विकसित देशहरुमा फोहोरको प्रकृतिअनुसार श्रोतमा नै छुट्टाएर रिसाइकल तथा कम्पोस्ट प्रविधिद्वारा व्यवस्थापन गर्न शुरु गरिएको’ भनी एक अनुसन्धानकर्ताले प्रस्तुति दिने क्रममा यस्तो प्रविधि जर्मनीमा रहेको भनी उदाहरण दिए ।

लगत्तै उनको प्रस्तुतिमा टिप्पणी गर्दै एक जिम्मेवार सरकारी अधिकारीले आफूले पनि जर्मनीमा नै पढेको बताउँदै टिप्पणी गरे,’जर्मनीमा सबै शहरी फोहोरलाई मिश्रितरुपमा भष्मीकरण प्रविधि (इन्सिनरेसन) मात्र प्रयोग गरी व्यवस्थापन गर्ने गरेकोले प्रस्तुतकर्ताको भनाई गलत छ ।’

टिप्पणीकर्ताले जर्मनीमा नै अध्ययन गरेको विवादको विषय थिएन तर सन् १९८० को दशकमा उच्च शिक्षा हासिल गरि फर्केका ती टिप्पणीकर्तालाई जर्मनीले फोहोर छुट्टयाई व्यवस्थापन गर्न सुरु गरेको १५ वर्षभन्दा बढी भइसकेको तथ्य भने जानकारी नभएको प्रष्टै देखियो । आफू अद्यावधिक (अपडेट) नभएकाले ती टिप्पणीकर्ताले अनुसन्धानकर्ताको सही तथ्यलाई पनि गलत भनिदिए ।

युरोपियन युनियनले प्रकाशित गरेको तथ्यांक अनुसार जर्मनीमा सन् २०१४ मा आइपुग्दासम्म झन्डै आधा अर्थात ४७ प्रतिशत शहरी फोहोर रिसाइकलमा पठाइएको छ भने १७ प्रतिशत कम्पोस्ट र ३५ प्रतिशत फोहोर मात्र भष्मीकरण गरिएको देखिन्छ । यसले पनि ती सरकारी अधिकारीको टिप्पणी कतिसम्म गलत छ भन्ने देखाउँछ ।

यो पनि पढ्नुहोस भ्रमण वर्षलाई गिज्याउने ‘गेटवे अफ नेपाल’

जापान भ्रमणको अवसरमा ‘ईन्सिनरेसन प्लान्ट’ देखेपछि काठमाडौं उपत्यकाभित्रको एक नगरपालिकाले उक्त प्रविधि किन्ने घोषणा मात्र गरेन, देशभरिको नगरपालिकाको फोहोर व्यवस्थानका लागि त्यो प्रविधि ‘रामबाण’ हुने निष्कर्ष निकाल्यो । यी त्यस्ता केही प्रतिनिधि उदाहरण हुन् जसले हाम्रा नीति निर्माण तहमा बसेकाहरुले सम्बन्धित विषयमा न्यूनतम् अध्यन र अनुसन्धान नगरी तालिम तथा अध्यन भ्रमणका क्रममा आफूले जे देख्यो, त्यसैलाई नै आफनो सन्दर्भमा समेत अन्तिम सत्य मानिदिन्छन् ।

नगरपालिकामा उत्पादन हुने फोहोरको विश्लेषण नै नगरी प्रविधि बेच्नेहरुको उक्साहटमा लागेर ‘आउटडेटेड’ महंगो प्रविधि भित्र्याउनु असफलता दोहोर्‍याउनु हो ।

अझ आफ्नो विषय बाहेक अरु सबै विषयमा जान्ने देखाउने, त्यसमा अरुलाई उपदेश दिनसमेत अघि सर्ने प्रवृति त हाम्रो समाजको रोग नै हो । र, यो प्रवृति नै हाम्रो दिगो विकासको मुख्य बाधक पनि हो ।

फोहोर व्यवस्थापनलाई शहरको मुख्य समस्याको रुपमा व्याख्या गर्ने तर शहरी पूर्वाधार हो भनि परिभाषित नगर्दा बिना योजना र लक्ष्य हचुवाको भरमा हरेक नगरपालिकाहरुले फोहोर व्यवस्थापन गर्दै आएका छन् । त्यसको लागि हाम्रा नीति तथा योजनामा फोहोर व्यवस्थापनलाई पनि सडक, खानेपानी तथा ढल निकास जस्तै शहरी पूर्वाधारको रुपमा परिभाषित गर्नु आवश्यक छ । अनि मात्र दीर्घकालीन रणनीति तथा अल्पकालीन कार्ययोजना तर्जुमा, लक्ष्य निर्धारण, आवश्यक बजेटसहितको ठोस कार्यक्रम र यसको कार्यान्वयनका आधारहरु तय गरी दिगोरुपमा फोहोर व्यवस्थापन गर्न सकिन्छ ।

त्यस्तै समुदायको चेतना अभावमा फोहोरलाई आम्दानीको श्रोतको रुपमा लिनुको साटो फ्याँक्ने वस्तु हो भन्ने ठान्छन् जुन सोचाईले पनि समस्या देखिएको छ । साथै नगरपालिकालाई कर तिरेकोले आफ्नो दायित्व नभई नगरपालिकाको काम हो भन्ने अधिकांश मानिसहरुको धारणाको कारण न त शहर सफा भएका छन् न त फोहोर व्यवस्थापन दिगो भएको छ ।

अर्कातिर ‘फोहोर भनेको पैसा नै पैसा हो’ भन्ने केही मानिसहरुको प्रचारले पनि फोहोर व्यवस्थापन दिगो हुनुको साटो झन् जटिल हुँदै गएको छ । फोहोर पक्कै पनि आम्दानीको श्रोत हो र यसको दिगोरुपमा व्यवस्थापन गरी शहर र टोल सफा राख्ने मात्र होइन यसबाट आम्दानी पनि गर्न सकिन्छ ।

तर, अन्य भौतिक पूर्वाधार जस्तो सञ्चालन पछि मनग्गे आम्दानी दिने व्यवसायिक परियोजनाचाहिँ होइन । फोहोरको परिमाण, गुण आदिको सहि तथ्यांक बिना नै हचुवामा र प्रविधि बेच्नेहरुको लहै लहैमा योजना बनाउनु गलत कार्य हो । त्यसमाथि नेपालको वस्तुस्थिति विचार नै नगरी प्रविधिको आयात जे जसरी गर्ने गरिएको छ, फोहोर व्यवस्थापन परियोजनाहरु सफल र दिगो नहुनुको मुख्य कारण पनि यही हो ।

भष्मीकरण विधि किन उपयुक्त छैन ?

भष्मीकरण विधि ९इन्सिनरेसन० गरिसकेपछि झन्डै ८० देखि ९० प्रतिशतसम्म फोहोरको परिमाण घट्ने, ईनर्जी पनि उत्पादन गर्न सकिने, ल्यान्डफिलले भन्दा कम वातावरणीय प्रभाव पार्ने भएकोले ७०-८० को दशकमा विकसित देशहरुमा यो प्रविधि निकै लोकप्रिय भयो र यस्ता सयौं प्लान्टहरु सञ्चालनमा आए । तर, यो प्रविधि स्थापना र सञ्चालन दुवैको हकमा अत्यन्तै महँगो हो ।

मिश्रित फोहोर बाल्दा उत्सर्जन हुने मानव स्वास्थ्य तथा वातावरणका लागि अत्यन्तै हानिकारक ग्यासहरुको न्यूनीकरण गर्न आवश्यक प्रविधिको जडानले त यो प्रविधिलाई अत्यन्तै महँगो बनाउँछ । त्यसकारण अव्यवस्थित फोहोर बिसर्जन गरिँदै आएको नेपालजस्ता अविकसित देशहरुको लागि यो प्रविधिको सञ्चालन दिगो बनाउनु अत्यन्तै चुनौतीपूर्ण छ ।

नेपालको सन्दर्भमा फोहोरबाट बिजुली उत्पादन गर्न अहिलेकै अवस्थामा व्यवसियकरुपमा सफल नहुन सक्छ

यो प्रविधिलाई व्यवसायिकरुपमा सहज तरिकाले सञ्चालन गर्न कम्तिमा वार्षिक १ लाख टन बल्ने फोहोर हुनुपर्ने अध्ययनले देखाउँछ जुन परिमाणको फोहोर नेपालमा काठमाडौं बाहेक अरु शहरमा उत्पादन नै हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा त यो प्रविधिको प्रयोग गरी फोहोर व्यवस्थापन गर्न प्रति के.जी. फोहोरको कम्तिमा ७ मेगाजुल क्यालोरीफिक मान हुनुपर्छ । विकसित देशहरुमा कुहिने फोहोरको मात्राको साथै पानीको मात्रा निकै कम हुने र प्लास्टिक, कागज लगायतका सुख्खा वस्तुहरु धेरै हुने भएकोले फोहोरको उच्च क्यालोरीफिक मान हुन्छ ।

त्यसकारण, यो प्रविधिले राम्रोसँग काम गर्छ । तर, हाम्रोमा ६० प्रतिशतभन्दा बढी कुहिने फोहोर हुने र पानीको मात्रा अत्यधिक हुने भएकाले यो प्रविधि सञ्चालनका लागि आवश्यक न्यूनतम क्यालोरीफिक मान भन्दा निकै तल छ, जसका कारण यथास्थितिमा हाम्रो नगरपालिकाहरुमा यो प्रविधिले काम नै गर्दैन । पछिल्लो समयमा त विकसित देशहरुमा पनि यो प्रविधि बिस्थापित हँदै गइरहेको कुरा सन् १९९७ पछि अमेरिकामा थप एक मात्र इन्सिनरेसन प्लान्ट स्थापना हुनु, युरोपियन युनीयनका धेरै देशहरुले रिसाइकल, कम्पोस्ट तथा बायोग्यास प्रविधिमा जोड दिनुले प्रस्ट पार्दछ । त्यसकारण प्रविधि बेच्नेहरुको उक्साहटमा आफ्नो क्षणिक स्वार्थ पूरा गर्नकै लागि यहाँका नगरपालिकाहरुमा उत्पादन हुने फोहोरको किसिम, गुणको विश्लेषण नै नगरी विकसित देशमा नै ‘आउटडेटेड’ भएका महँगो प्रविधि जस्ताको तस्तै भित्रयाउनु फेरि पनि असफलता दोहोर्याउनु हो ।

उपयुक्त प्रविधि के हुन्छ ?

फोहोर प्रशोधनका लागि प्रविधिको छनोट फोहोरको प्रकृतिअनुसार हुने भएकाले फोहोरको वर्गीकरण गर्नु नै पहिलो आवश्यकता हो । कुहिने फोहोरको व्यवस्थापनको लागि सबैभन्दा सजिलो र सस्तो विधि कम्पोस्ट प्रविधि नै हो । सही वर्गीकरण नहुनु र आवश्यक गुणस्तर कायम गर्न नसक्नुले नै दशकौ पहिलेदेखि सुरु गरे पनि हाम्रा नगरपालिकाहरुमा व्यवसायिक कम्पोस्ट प्लान्ट सफल भएका छैनन् । त्यसैले व्यवसायिकरुपमा मल उत्पादन गर्न कम्पोस्ट प्रविधिमा सुधार र फोहोरको वर्गीकरणमा ध्यान दिनु त पर्छ ।

यो पनि पढ्नुहोस प्रदूषणको असर मुटुरोगदेखि डिप्रेसनसम्म, मर्निङ वाकमा नजान विज्ञको सुझाव

साथै शहरी फोहोर मात्रै प्रयोग गरी मल बनाउँदा आवश्यक गुणस्तर नहुने भएकोले गुणस्तर बढाउनको लागि आवश्यक तत्वहरु थप्नुपर्ने पनि हुन सक्छ । दशकौ पहिलेदेखि नै सानो स्केलको (घर-घरमा) बायोग्यास प्रविधिको अत्यन्तै सफल सञ्चालन भइरहेको छ जसलाई ‘स्केल अप’ गर्न नसक्नु हाम्रो दूर्भाग्य हो । त्यसैले काठमाडौँ लगायतका ठूला शहरहरुमा वा एउतै क्लस्टरमा रहेका धेरै नगरपालिकाहरुमा संयुक्तरुपमा मध्यम तथा ठूला बायोग्यास प्लान्ट स्थापना गर्नु उपयुक्त हुन्छ । यस्ता बायोग्यास प्लान्टको स्थापना सार्वजनिक-नजी साझेदारीमा गर्न सकिन्छ ।

नेपालको सन्दर्भमा फोहोरबाट बिजुली उत्पादन गर्न अहिलेकै अवस्थामा व्यवसायिकरुपमा सफल नहुन सक्छ । तर, कुहिने फोहोरबाट बायोग्यास उत्पादन गरी यसलाई प्रशोधन गरेर बोटलिंग गर्ने वा ग्यास ईन्जिन भएका गाडीहरु सञ्चालन गरी व्यवसायिक रुपमा चलाउन अवश्य सकिन्छ जुन अहिलेको आवश्यकता पनि हो ।

नगरपालिका एक्लैले फोहोर व्यवस्थापन गर्ने हुँदै होइन । बरु समुदाय, नगरपालिका तथा निजी क्षेत्रको साझेदारीमा मात्र दिगो व्यवस्थापन सम्भव छ

नगरपालिकाले रिसाइकल सामग्री संकलन तथा भण्डारण केन्द्रको स्थापना गरी कच्चा पदार्थको रुपमा रिसाइकल उद्योगमा पठाउनुपर्छ । तर, दिगो व्यवस्थापनका लागि आफ्नै देशमा रिसाइकल उद्योग हुनु पनि उत्तिकै अनिवार्य हुन्छ ।

अन्त्यमा, नेपालमा फोहोर व्यवस्थापनमा प्रविधि नभएको पक्कै होइन तर भएका प्रविधिलाई ‘स्केल अप’ गर्न तथा आवश्यकता अनुसार सुधार गर्न नसकेको चाहिँ पक्कै हो । फेरि फोहोर व्यवस्थापन प्राविधिक विषय मात्रै होइन, यो त व्यवस्थापकीय कुरा हो । त्यसकारण हाम्रो लागि उपयुक्त प्रविधिको छनोट गरी त्यसको’स्केल अप’ गरी व्यवसायिक ढंगले फोहोर व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो ।

नगरपालिका एक्लैले फोहोर व्यवस्थापन गर्ने हुँदै होइन । बरु समुदाय, नगरपालिका तथा निजी क्षेत्रको साझेदारीमा मात्र दिगो व्यवस्थापन सम्भव छ । तर, सरकारी नीतिमा अस्पस्टता, अनुभवको कमि र व्यवसायिक ईमान्दारिताको अभावका कारण यी तिनै क्षेत्रमा एक-अर्काप्रति अविश्वास छ जसका कारण साझेदारी मोडेलमा फोहोर व्यवस्थापन गर्ने कुराले अहिलेसम्म पनि मुर्त रुप लिन सकेको छैन ।सन् २००९ देखि शुरु भएको काठमाडौं उपत्यका एकीकृत शहरी फोहोर व्यवस्थापन परियोजना अहिलेसम्म अन्योलमा नै रहनु यसको ज्वलन्त उदाहरण हो ।

त्यसैले चेतनशील समुदाय, जिम्मेवार सरकारी निकाय र व्यवसायिक तथा इमान्दार निजी क्षेत्र भएको अवस्थामा उपयुक्त प्रविधिको स्थापना गरी शहरी फोहोर व्यवस्थापनलाई व्यवसायीकरण समेत गर्न सकिन्छ । सरोकारवाला सबैले अब यो पक्षलाई ध्यान दिनैपर्छ ।

(डा. पाठक भू-वातावरण इन्जिनियरिङ तथा फोहोर व्यवस्थापन परियोजनामा परामर्श सेवा तथा अनुसन्धानमा संलग्न छन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment