Comments Add Comment

विद्युतीय टिकटबारे पोखरामा महानगर र कम्पनीबीच विवाद

१९ कात्तिक, पोखरा । पोखरा महानगरपालिकाले निजी कम्पनी एनक्लाउडको सहकार्यमा महानगरभित्र चल्ने सार्वजनिक गरेको बसमा भदौदेखि विद्युतीय टिकट (इटिकेटिङ) प्रणाली लागु गर्‍यो । तर, लागु भएको २ महिना नबित्दै सवारी धनीले झन्झटिलो र मेसिनमा खराबी आएको भन्दै सेवा नै बन्द गरे ।

मेसिन चाँडै तातिने, ब्याट्री चाँडै सकिने र भनेको समयमा टिकट प्रिन्ट नहुनेजस्ता समस्या मेसिनमा देखिन थालेपछि बस व्यवसायीले दसैंअघि नै सेवा बन्द गरेका थिए । तामझामसहित लागु गरिएको स्मार्ट यात्रा कार्ड सेवा बन्द भएपछि महानगर र कम्पनी दुवैको एउटै भनाइ थियो, ‘हामी तिहार पछि परिमार्जित रुपमा आउँछौं ।’

महानगर भन्छ : अब ट्याप इन – ट्याप आउट

परिमार्जित रुपमा आउने घोषणा गरेका महानगर र कम्पनी एनक्लाउडबीच अहिले फरक मत देखिएको छ । महानगर इटिकेटिङलाई ‘ट्याप इन–ट्याप आउट’ सिस्टममा लैजाने पक्षमा छ भने एनक्लाउड इटिकेटिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छ ।

महानगरले इटिकेटिङ प्रणालीलाई व्यवस्थित गर्न समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा पोखरा १३ का वडाध्यक्ष दर्शन लामा छन् । संयोजक लामाले महानगरले छिट्टै नै ट्याप इन–ट्याप आउट सिस्टम लागू गर्न लागेको जानकारी दिए । ‘ट्याप इन–ट्याप आउट सिस्टममा बसमा रहेको मेसिनमा यात्रुले आफैंले एटीएम शैलीको कार्ड छुवाउछन् र त्यसपछि उनीहरुको खातामा रहेको पैसा अटोमेटिक काटिन्छ,’ उनले भने, ‘त्यसका लागि हामीले नयाँ रुट तयार पार्दैछौं ।’

नयाँ रुटका लागि १ हप्ताभित्र सम्बन्धित निकायसँग छलफल गर्न लागिएको र त्यसपछि नयाँ रुट पेश गरिने संयोजक लामाले जानकारी दिए । ‘अहिले रुट भएर पनि बस रोकिने स्टेसन कन्फर्म भएका छैनन् । त्यसले ट्याप इन–ट्याप आउट सिस्टम ल्याउँदा समस्या ल्याउँछ,’ उनले भने, ‘नयाँ रुटमा बस स्टेसन कन्फर्म भइसकेपछि यात्रु र चालक सबैलाई सजिलो हुन्छ ।’ उनले नयाँ रुट र बस स्टेसन तोक्न केही समय भने लाग्ने जानकारी दिए ।

संयोजक लामाले पहिले बिना तयारी इटिकेटिङ लागु गर्दा केही असफल जस्तो देखिए पनि अब भने पूर्ण तयारीका साथ आउन लागेको दाबी गरे । ‘अब हामीले १ महिना ट्रायल गर्छौं । त्यो १ महिनाबीचमा देखिएका समस्या समाधान गरेरमात्रै काम अघि बढाउने योजनामा छौंै,’ उनले भने ।

महानगर यातायात व्यवस्थापन समिति प्रमुख इन्जिनियर सुरेन्द्र पौडेलले पहिलो चरणमा ३ सय ४० बसमा ‘ट्याप इन–ट्याप आउट’ सिस्टम लागू गर्न लागिएको जानकारी दिए । ‘केही बसमा अहिले यो सिस्टम तत्काल लागू गर्न लागेका छौं । यो पोखरा बस व्यवसायी अन्तर्गतका सार्वजनिक बसमा लागु हुनेछन्,’ उनले भने । हाल महानगरभित्र करिब ८ सय सार्वजनिक बस चल्दछन् ।

कम्पनी भन्छ : ३ महिनासम्म इटिकेटिङ नै हुन्छ

महानगरले इटिकेटिङ नभई ट्याप इन–ट्याप आउट सिस्टम लागू गर्ने बताइरहँदा भने कम्पनी एनक्लाउडले तत्काल सम्भव नहुने जनाएको छ । कम्पनीका दीपेन्द्र श्रेष्ठले तत्कालीन समयमा आफूहरुले सम्झौता गरेको बैंक अर्को कम्पनीसँग गाँभिएपछि समस्या उत्पन्न भएको प्रष्ट्याए ।

‘बैंक पनि परिवर्तन भयो । त्यसमाथि चालक र कन्डक्टरको लापरबाहीले इटिकेटिङमा समस्या देखिएको हो,’ उनले भने, ‘३/४ महिनासम्म ट्याप इन–ट्याप आउट होइन, इटिकेटिङ नै हुन्छ ।’ उनले तत्काल पोखरा महानगरमा ट्याप इन–ट्याप आउट असम्भव भएकाले पनि इटिकेटिङ नै लागु गरिनुपर्ने मत राखे ।

श्रेष्ठले इटिकेटिङका लागि चिनबाट मगाइएको स्मार्ट कार्ड बिक्नै छोडेको बताए । ‘चीनबाट ठूलोमात्रामा स्मार्ट कार्ड ल्याएका छौं । तर, अहिले नकारात्मक समाचार आउँदा कार्ड बिक्नै छोडेको छ,’ उनले भने, ‘नेपालमा यो पहिलो प्रयोग हो । केही समस्या आउन सक्छ । त्यसलाई हामी परिमार्जित गर्दै लैजाने भनेका छौं ।’ उनले १ हप्ताभित्रै पुनः पोखरा महानगरभित्र चल्ने बसमा इटिकेटिङ लागु गरिने जानकारी दिए ।

श्रेष्ठले बस व्यवसायीका ‘कारण’ इटिकेटिङ असफल हुन पुगेको आरोप लगाए । बस चालक तथा कन्डक्टरले बढी भाडा असुल्न लागिपरेकै कारण ‘मिलेमतो’मा मेसिनलाई समस्या देखाएको जिकीर गरे । ‘मेसिन प्रयोग गरेपछि भाडा प्रष्ट हुने भयो । त्यसबाट पनि कन्डक्टर र चालकलाई समस्या पर्‍यो,’ उनले भने ।

पोखरा महानगरले गत चैत ३ गते एनक्लाउड, पोखराका बस व्यवसायीसँग सार्वजनिक बसमा बैशाखदेखि इटिकेटिङ लागु गर्न सम्झौता गरेको थियो । तर सम्झौताभन्दा करिब ४ महिना ढिलो सुरु भएको इटिकेटिङ २ महिनामै बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment