Comments Add Comment

निसानले डाट्सन गाडीको उत्पादन बन्द गर्ने

जापानी कार निर्माता कम्पनी निसानले डाट्सन ब्राण्डका कारको उत्पादन भारतमा रोक्ने निर्णय गरेको छ । विश्वबजारमा लोकप्रियता कम भएसँगै मुनाफामा समेत भारी गिरावट आएपछि डाट्सन ब्राण्डका कारहरुको उत्पादन बन्द गर्न लागेको समाचार पहिलो पटक अटोकार इण्डिया नामक म्यागाजिनको अक्टोवरको अंकमा प्रकाशित भएको थियो ।

त्यो समाचारपछि विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले निसानले डाट्सनसहित अरुपनि घाटामा गएका ब्राण्डलाई बन्द गर्ने तयारीमा रहेको समाचार प्रकाशित गर्न थालेका छन् ।

निसानले डाट्सनसँगै टाइटन फुलसाइज पिकअप मोडल पनि बन्द गर्ने तयारी गरेको समाचार स्रोतलाई हवाला दिँदै रोयटर्सले जनाएको छ । निसानको यसबाहेक सिंगल क्याब र डिजल मोडल पनि नोक्सानीमा रहेको ब्राण्ड हो । यसलाई पनि बन्द गर्ने तयारीमा कम्पनी छ ।

नेपालमा पनि सन् २०१४ मा पुनः डाटसुन गाडी विक्री गर्न थालिएको थियो । सुरुमा केही राम्रो संख्यामा गाडी विक्री भएपनि पछिल्लो समयममा डाट्ससन गाडीको विक्री घटेको सरकारी तथ्यांकमा देखिन्छ ।

कम्पनीले केही समयअघिदेखि चीनलाई छाडेर अरु सबै बजारका आफ्नो उद्योगलाई कम क्षमतामा चलाउँदै आएको छ । व्यापक मात्रामा कर्मचारी कटौती गर्दा पनि कम्पनीले मुनाफा बढाउन नसकेपछि निसानले भटाभट उत्पादन र नाम चलेका ब्राण्डहरु नै बन्द गर्न थालेको हो ।

डाट्सन कारको बजार खस्किएसँगै निसानको नाफामा पनि पछिल्लो समय उल्लेख्य कमी आएको छ । कम्पनीका प्रमुख कार्लोस गोनको आर्थिक अनियमितताको मुद्दापछि अहिले निसान आफ्नो व्यापारमा सुधारको लागि संघर्ष गरिरहेको छ । सन् २०११ यता पाँच वर्षको अवधिमा पाँच अर्ब जापानी यन (४ करोड ४० लाख अमेरिकी डलर) बराबरको रकमबारे पूर्ण जानकारी नदिएको आरोपमा एक वर्ष अघि कम्पनीका प्रमुख गोनलाई प्रहरीले हिरासतमा लिएर छानविन सुरु गरेको थियो । हिरासतमा पुगेसँगै गोन बर्खास्तीमा परेका थिए । त्योसँगै कारको मुनाफा पनि निरन्तर ओरालो लागिरहेको छ ।

विभिन्न मुलुकमा पठाउने निसानका गाडीहरुमा धेरै आकर्षक फिचर नभएका कारण विश्वभर यसको बजार खस्किँदै छ । पछिल्लो समय अन्य कम्पनीले आकर्षक फिचर ल्याउन थालेपछि निसान बजारमा पछि पर्न थालेका कारण ८५ वर्ष पुरानो ब्राण्ड समेत बन्द गर्नुपर्ने स्थितिमा पुगेको हो ।

निसानले व्यापारमा आएको समस्यासँगै गत जुलाई महिनामा कम्पनीको उत्पादन क्षमता र सिरिजको संख्या पनि घटाउने निर्णय गरेको थियो । कम्पनीले भारतलगायतका १४ मुलुकबाट १२ हजार ५०० कामदारको रोजगारी समेत कटौती गरिसकेको छ । यसले पनि निसानको बजार ओरालो लाग्दै गएको संकेत गरेको छ ।

सन् २०१९ को अपि्रलदेखि जुन महिनासम्मको अवधिमा मात्र विश्वभर निसान कम्पनीको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९४ दशमलव ५ प्रतिशतले घटेको थियो । पछिल्लो एक वर्षको अवधिमा कैयौं बजारमा यसको बिक्री खस्किएको छ । यस सालको मे महिनामा मात्रै निसानले ३१९ बिलियन येन (लगभग २०००० करोड भारतीय) को शुद्ध वाषिर्क लाभ उठाएको जनाएको छ । जुन पछिल्लो वर्षको तुलनामा ५ प्रतिशतले कम हो ।

पछिल्लो समय आफ्नो मुनाफामा गिरावट, अमेरिका र युरोपको वैश्विक बिक्रीमा गिरावट, एशियामा मन्दी कार्लाेस घोसन घोटालाको प्रभाव, विद्युतीकरण र स्वायत्ततामा लगानी गर्ने आवश्यकतासँग निसान जुधिरहेको छ ।

आफ्नो मुनाफामा आएको गिरावट हटाउनको लागि पटक पटक गरेको प्रयासबाट समेत निकास ननिस्किएपछि निसान कम्पनीले नाम चलेका ब्राण्ड नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ । निसानको यो आम्दानीको आँकडा सन् २००९/२०१० पछिको सबैभन्दा कम हो । वैश्विक वित्तीय संकट र विश्व बजारमा निसान ब्राण्डको अलोकप्रियतालाई मध्येनजर गर्दा सो कम्पनीको चालू आर्थिक वर्षमा यो स्थिती झनै खराब हुने विश्लेषण गरिएको छ ।

निसानले अमेरिका र चीनको बजारमा बढी ध्यान केन्द्रित गर्ने लक्ष्य राखेको छ । यो महिनाको अन्तमा व्यापक वैश्विक बृद्धि योजना आधिकारिक रूपमा प्रकट गर्ने तयारी निसानको छ । जसबाट ड्याटसन ब्रान्ड उपेक्षामा पर्ने सम्भावना बढी छ ।

सन् १९३४ मा निसानको अधिनमा आएको कम्पनीको नाम डिएटीएसओएनबाट डिएटिएसयुएन बनाइएको थियो । एसओएनको जापानी अर्थ घाटा भन्ने हुने भन्दै निसानले सूर्य अर्थ राखेर डाट्सन नामाकरण गरेको थियो । तर, ८५ वर्षपछि सो ब्राण्ड त्यतिबेलाको परिकल्पना जस्तैगरी विश्वबजारबाट पलायन हुँदैछ ।

बन्द गर्ने घोषणा गरेका छैनौः निसान

डाटसन ब्राण्ड बन्द हुने विषयमा लेखिएका समाचारप्रति निसानले असहमति जनाएको छ । ‘ निसान मोटर तपाइँहरुलाई विश्वस्त गराउन चाहन्छ कि हामीले यो ब्राण्ड बन्द गराउने विषयमा कुनैपनि घोषणा गरेका छैनौं ,’ कम्पनीले भनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment