Comments Add Comment

रुपन्देहीमा ५० करोड लगानीमा अत्याधुनिक दुग्ध प्रशोधन केन्द्र बन्ने

२० कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा करिब ५० करोड रुपैयाँ लगानीमा आधुनिक दुग्ध प्रशोधन केन्द्र बन्ने भएको छ । प्रदेश ५ का जिल्लाका एक सयभन्दा बढी सहकारी संस्थाहरुको सामूहिक लगानीमा तिलोत्तमा नगरपालिका-६ पश्चिम पहुनीमा अत्याधुनिक दुग्ध प्रशोधन केन्द्र बन्न लागेको हो ।

सहकारी ऐन २०७४ अनुसार बचत तथा ऋण, बहुउद्देश्यीय र दुग्ध सहकारीहरु मिलेर विशिष्टीकृत सहकारी संघ बनाउन सकिने र त्यसले ठूला परियोजनाहरुमा लगानी गर्न सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार नेपालमै पहिलोपटक धेरै सहकारी संस्थाहरुको संयुक्त लगानीमा दुग्ध प्रशोधन केन्द्र बनाउन लागिएको हो ।

लुम्बिनी विशिष्टीकृत सहकारी संघ रुपन्देहीका अध्यक्ष डा. खगराज शर्माका अनुसार दुग्ध प्रशोधन केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन शुरु भइसकेको छ । डेढ वर्षभित्र भौतिक संरचनाहरु निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य छ । यो प्रशोधन केन्द्र नेपालकै अत्याधुनिक हुने शर्माको दाबी छ ।

अल्ट्रा हाइटेम्प्रेचर पाष्सचराइजेसन प्रविधिबाट प्रशोधन भई उत्पादन हुने तरल दूध ६ महिनादेखि ८ महिनासम्म खानयोग्य हुने अध्यक्ष शर्माले बताए । प्रशोधन केन्द्रबाट प्याकेट दूधसँगै आइसक्रिम, चकलेट, कुराउनी जस्ता दर्जन बढी परिकार पनि बनाइने शर्माले जानकारी दिए । ‘पहिलो चरणमा प्याकेजिङ दुध र आइसक्रिम, चकलेट लगायत उत्पादन गर्छौं,’ शर्माले भने, ‘पछि पाउडर दूधसमेत उत्पादन गर्न सकिनेछ ।’

प्रशोधन केन्द्रमा दुई सय जनाले प्रत्यक्ष र पाँच सय जनाले अप्रत्यक्ष रोजगारी पाउने छन् । उपभोक्तालाई गुणस्तरीय दूध उपलब्ध गराउने, दूधको आयात प्रतिस्थापन गर्ने र रुपन्देहीसहित प्रदेश ५ का सबै जिल्लामा उत्पादित दूधको बजार सुनिश्चित गरी किसानलाई दूध उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले दुग्ध प्रशोधन केन्द्र स्थापनाको अवधारणा अघि सारिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

दूध उत्पादन हुने मुख्य सिजनमा किसानले मिल्क होलिडेको समस्या भोग्नुपरेको, लागतअनुसारको मूल्य पनि पाउन नसकेको र उपभोक्ताले शुद्ध दूध उपभोग गर्न नपाइरहेको अवस्थामा प्रशोधन केन्द्रबाट किसान र उपभोक्ता दुवै लाभान्वित हुने भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल बताउँछिन् । दुग्ध प्रशोधन परियोजनाको स्थापनाले दूध उत्पादन, प्रशोधन र बिक्री वितरण सहज हुने भएकाले यसमा प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने उनले बताइन् ।

दुग्ध प्रशोधन परियोजनासम्बन्धी अवधारणा तयार पारेका पशुपंक्षी तथा मत्स्य निर्देशनालयका प्रमुख तुलसीराम भण्डारीले सहकारीले नै प्रवर्द्धन गर्ने परियोजना आफैंमा सबैका लागि प्रेरणादायी बन्ने बताए ।

तिलोत्तमा नगरपालिकाले गत असोजमा गरेको लगानी सम्मेलनमा दुग्ध प्रशोधन केन्द्र परियोजनालाई प्राथमिकतामा राखेको थियो । दुग्ध प्रशोधन केन्द्र बनाउन नगरपालिकाले चार बिघा जग्गा उपलव्ध गराउने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment