Comments Add Comment

डा केसीको समर्थनमा डडेल्धुरामा मौन जुलुस

२१ कात्तिक, डोटी । सोमबारदेखि डडेल्धुरा जिल्ला सदरमुकाममा अनसन बसेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा बिहीबार डडेल्धुरामा मौन जुलुस निकालिएको छ ।

नागरिक समाज डडेल्धुरा र डडेल्धुरास्थित पेशागत संघसंगठनले मौन जुलुस निकालेका हुन् । डा केसीले उठान गरेका माग आम नेपाली जनताको पक्षमा भएकाले सरकारले तत्काल सम्बोधन गर्नु पर्ने भन्दै जुलुश प्रदर्शन गरिएको नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाका अध्यक्ष मानबहादुर साउँदले बताए ।

डडेल्धुराको सदरमुकाम बागबजारबाट निस्किएको मौन जुलुस डा केसी अनसन बसेको घर अगाडि पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नागरिक समाज डडेल्धुराका संयोजक रमेशप्रसाद जोशीले शुक्रबारदेखि नारासहितको जुलुस प्रदर्शन गरिने जानकारी दिए ।

डा केसी अनसन बसेको डडेल्धुरा तुफान डाँडास्थित निर्मल क्लिनिक भएको घरको तेश्रो तलाको घरको बाहिर उनका समर्थकहरुको बाक्लै उपस्थिति रहेको छ ।

डा केसी अनसनरत कोठामा उनको अभियानलाई समर्थन गर्नेहरु नियमित आइरहेको उनका सहयोगी लवराज चटौतले जानकारी दिए ।

स्वास्थ्य अवस्था स्थिर

चार दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । ‘आजसम्म उहाँको स्वास्थ्य अवस्थामा कुनै खराबी देखिएको छैन,’ डडेल्धुरा जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा जितेन्द्र कँडेलले भने, ‘हालसम्म स्वास्थ्य अवस्था स्ट्यावल छ ।’

डा केसीले बुधबार केही कमजोर अनुभव गनरेको भए पनि बिहीबार भने सामान्य अवस्थामा रहेको डा कँडेल बताए । बिहीवार डा केसीले आफ्ना समर्थकहरुसँग सामान्य कुराकानीसमेत गरेका थिए ।

‘हालसम्म त स्वास्थ्य अवस्थामा त्यस्तो खराबी छैन तर स्वास्थ्य अवस्था बिगि्रन थाल्यो भने हामीले यहाँ केही गर्न सक्ने अवस्था हुँदैन,’ डा कँडेलले भने, ‘यस बिषयमा मैले नेपाल मेडिकल काउन्सिल र डा केसीका समर्थकहरुलाई जानकारी गराइसकेको छु ।’

डा केसीको पिसाबमा किटोन पोजेटिभ देखिएको डा कँडेल बताउँछन् । उनले भने, ‘किटोन पोजेटिभ देखिनुको अर्थ अव शरीरले आहार खोज्दैछ । अरु रक्तचाप, नाडीको गति, मुटुको चाल सामान्य छ ।’

हामसम्मकुनै औषधि चलाउनु नपरेको डा कँडेल बताउँछन् । उनले डडेल्धुरामा चिसो धेरै र चिसोका कारण समस्या आउन सक्ने बताए ।

डा केसीको स्वास्थ्य अवस्था सामान्य रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए । उनले भने, ‘मैले चिकित्सकसँग सल्लाह गर्दा अहिलेसम्म उहाँको स्वास्थ्य अवस्था सामान्य छ भन्ने जानकारी आएको छ ।’ उनले डा केसीको अनसन स्थलमा सुरक्षा प्रबन्ध मिलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment