Comments Add Comment
अन्तरवार्ता :

‘अकुपाई टुँडिखेल अभियानले विद्यासुन्दरको छवि सुधार्छ’

रानीपोखरीदेखि रंगशालासम्म खुला नभएरसम्म अभियान जारी रहने

२२ कात्तिक, काठमाडौं । रानीपोखरीदेखि दशरथ रंगशालासम्म फैलिएको टुँडिखेललाई खाली र खुला गराउन सम्बन्धित निकायलाई दबाब दिनका लागि केही नागरिक अभियानकर्मीहरू आगामी शनिबारदेखि ‘अकुपाई टुँडिखेल’ नामको अभियान सुरु गर्दैछन् । र, यो अभियानका एक अभियन्ता हुन्-आलोक तुलाधार ।

यो अभियान पहिलो चरणमा शनिबार तीन हजारभन्दा बढी मानिसको हातेसाङ्लोले खुलामञ्च घेर्ने कार्यक्रम तय भएको छ ।

२०७२ सालमा गएको भूकम्पपछि धेरै काठमाडौंवासी टुँडिखेलमा ओत लागे । जसकाकारण पनि टुँडिखेललाई विपतको कुटी भन्न थालिएको छ । यसलाई जोगाउन सुरु गरिएको अभियानमा राजनीतिक रंग देखिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले प्रतिक्रिया दिएका छन् ।

पूर्वमन्त्री भीमसेनदास प्रधानसमेत अभियानमा सहभागी भएपछि मेयर शाक्यले भनेका छन्, ‘आफू रक्षामन्त्री रहेका बेला सेनालाई संरचना निर्माण गर्न अनुमति दिने अनि अहिले सरकारमा नभएको मौका छोपेर टुँडिखेल मिचियो भन्दै हल्ला गर्ने कुरा राजनीतिक पूर्वाग्रहबाहेक केही पनि होइन ।’

तर, मेयरको भनाइप्रति आलोक तुलाधर भने आपत्ति जनाएका छन् । यो अभियान कसैको विरुद्धमा नभएको र यसले मेयर विद्यासुन्दर शाक्यको छवि सुधार्न सहयोग गर्ने तुलाधरको जिकिर छ ।

आखिर के हो त अकुपाई टुँडिखेल अभियान ? अनलाइनखबरकर्मी रोयल आचार्यले अभियन्तामध्येका तुलाधरसँग गरेको कुराकानी-

अकुपाई टुँडिखेल अभियानको आवश्यकता किन पर्‍यो ?

हामीले टुँडिखेल जोगाउनका लागि यो अभियान सञ्चालन गर्दैछौं । टुँडिखेल भनेको सर्वजनिक जग्गा हो । सार्वजनिक सम्पत्ति सर्वसाधारणको पहुँचका लागि संरक्षण गरेर राख्नुपर्ने दायित्व सरकारको हो । तर, जसले संरक्षण गर्नुपर्ने, ऊ आफैं दोहनतर्फ लागेको छ । संरक्षण गर्नुपर्ने निकायले नै त्यसको अतिक्रमण, दोहन र व्यापार गरिरहेका कारण पब्लिक अहिले सडकमा आउनु परेको हो ।

भनेपछि यो सरकारको विरोधमा हुन लागेको अभियान हो ?

हामीले यहाँ बसैको विरोध गर्न खोजेको होइन । यहाँ कसैको विरोध वा समर्थनको कुरा छैन । सार्वजनिक सम्पत्ति जोगाउनपर्छ भन्ने उद्देश्यले हामीले दबाव दिनका लागि शान्तिपूर्ण अभियान सञ्चालन गर्न लागेका हौं ।

टुँडिखेल अतिक्रमण भएको लामो समय भइसक्यो, यतिबेला आएर यो अभियानको आवश्यकता किन ?

अभियान सांगठिकरुपले अहिले चल्यो । तर, लामो समयदेखि नै हामीले खबरदारी गरिरहेकं थियाैं । टुँडिखेल जोगाउनुपर्छ भनेर हामीले दबाव दिइरहेका थियौं । हाम्रो दबावपछि सरकारी निकायबाट केही कम अतिक्रमण भएको थियो ।

पछिल्लो उदाहरण हेर्ने हो भने दशैंको अष्टमीको दिन थियो । महानगरपालिकाले अस्थायी बसपार्क भनेर व्यापारिक कम्पनीलाई दिएको थियो । भ्यूटावर बनाउने ठेकेदार कम्पनीलाई ६ महिना लागि भन्दै केही भूभाग दिइएको थियो । तर, पनि अस्थायी बसपार्क होइन, स्थायी संरचना बनाउन थालियो । जनताबाट त्यसको विरोध भयो । दशैंमा सुनसान प्रायः बनेका बेला अष्टमीको दिन ढलान गर्न खोजिएको थियो । सर्वसाधारणको सक्रियतामा नै ढलान रोकियो ।

यो पनि पढ्नुहोस खुलामञ्च ! नेताको आसनमा को छ ? (१० तस्वीर)

त्यो भन्दा पहिले पनि ठेकेदार कम्पनीबाट खुलामञ्चमा २० औं सटरहरु बनिसकेका थिए । मिडियाको साथ र जनता चनाखो भएका कारण त्यहाँ डोजर लगाएर भत्काइएको हो ।

खुलामञ्चमा अस्थायी बसपार्क बनाउने भन्ने विषयमा महानगरले यसअघि नागरिक सुनुवाई गरेको थियो । नागरिक सुनुवाईमा हामीले त्यहाँ अतिक्रमण हुनुहुँदैन भन्दाभन्दै पनि महानगरले बसपार्क बनायो । त्यहीँ अस्थायी बसपार्क र ठेकेदार कम्पनीको सामाग्री राखिएका कारण अहिले खुलामञ्च सर्वसाधारणको पहुँच बाहिर पुगेको छ ।

यो अभियान काठमाडौंभित्र मात्र सीमित हुन्छ कि, बाहिर पनि ?

अहिले यो अभियान टुँडिखेलमा मात्रै केन्द्रित हुन्छ । ओरिजिनल टुँडिखेल जहाँसम्म थियो, त्यो पुरानै हालतमा फर्किनुपर्छ भन्ने हो । ३ सय वर्ष पुरानो लिखित इतिहास पनि भेटाइएको छ, त्यसले रानीपोखरीदेखि दशरथ रंगशालासम्म खुला थियो भन्ने प्रष्ट देखाएको छ । हाम्रो अभियान रानीपोखरीदेखि दशरथ रंगशालासम्म नै खुला हुनुपर्छ भन्ने नै हो ।

यस्तो माग पूरा होला त ?

यो ठूलो काम हो । सरकारलाई यो दबाव दिनैपर्छ । सहज पक्कै छैन । नीति नियम बनाएर खाली गर्नुपर्छ । यो अभियानबाट यति जनचेतना आओस, जसका कारण पुरानो टुँडिखेल पुनः बनोस् । टुँडिखेल जोगिएपछि यसको सन्देश देशभर फैलनुपर्छ । अहिले हामीले यो टुँडिखेलमा मात्रै योजना बनाएका छौं ।

अहिले देशभरका धेरै ठाउँमा यस्ता सार्वजनिक जग्गाहरु अतिक्रमण भएका छन् । जति अतिक्रमण भएको छ, देशभरि यही अभियानबाट सिकेर नेपाल भरि चलोस् भन्ने हाम्रो योजना हो ।

असम्भव छैन । हामीले धेरै सोचेर बुझेर यो अभियान शुरु गरेका हाैं । हाम्रो अभियानले सार्थकता पाउँछ । जनता र मिडिया सबैको समर्थन छ । ठूला नेताहरुको सपोर्ट पनि उत्तिकै छ ।

विकासका नाममा देशभित्र खाली जमीन सखाप पार्ने लहर चलेको छ । हरेक सचेत नागरिक सचेत हुनैपर्छ । सार्वजनिक जमीन राखेन भने भोलि हामी स्वस्थ भएर बाँच्न पनि पनि पाउँदैनाैं ।

कतिपयले यसलाई गुठी विधेयक जस्तो आन्दोलन पनि भनेका छन् नि ?

गुठी विधयेकजस्तो आन्दोलन होइन । गुठी विधेयक सरकारको एउटा निर्णयले सामसुप पार्न सफल भयो । तर, टुँडिखेलमा त्यस्तो हुँदैन । यो एकैचोटि हुँदैन । विस्तारै समाधान निकाल्ने योजना बनाउने हो । वर्षौं लाग्न सक्छ । तर, यसले राम्रो उदाहरण प्रस्तुत गर्न सक्छ । देशभर यस्ता खुल्ला ठाउँहरु चाहिन्छ भन्ने सन्देश जानुपर्छ ।

यस अभियानलाई राजनीतिक दलको समर्थन छ ?

राजनीतिक दलका धेरै व्यक्तिहरुले स्वतस्फूर्त रुपमा आफैं आएर समर्थन गर्नुभएको छ । हामीले वहाँहरुलाई सपोर्ट चाहिन्छ भनेका छौं । तर, यो मुद्दा एउटा कुनै नेता वा एउटा दलको मात्र नभएर सबै दलहरुको मुद्दा बन्नुपर्छ । यो अभियानमा सहभागी हुन दलको झण्डा बोकेर आउन पाउनुहुन्न भनेका छौं । वहाँहरु राजी हुनुभएको छ । हाम्रो अभियानमा जुनसुकै दलको जुनसुकै नेता पनि सहभागी हुन सक्नुहुन्छ । तर, नेता बनेर होइन, नागरिक बनेर ।

तर, काठमाडौंका मेयरले त यसमा राजनीतिक रंग देखियो भनेर प्रतिक्रिया दिनुभएछ नि ?

मेयर सा’पले राजनीतिक रंग देखियो भन्नुभएको छ । यो एकदमै दुःखद कुरा हो । हाम्रो दबाव सकारात्मक हो । महानगरले पनि यो जनताको चाहाना रहेछ भनेर गल्ती सच्याउन पाओस् भन्ने हाम्रो सोच हो ।

यो पनि पढ्नुहोस अकुपाई टुँडिखेल : कांग्रेस उत्साही, नेकपा कता ?

हामीले अभियानमा सहभागी हुन आग्रह गर्नका लागि मेयर सा’पलाई भेट्न पनि गएका थियौं, वहाँसँग भेट हुन पाएन । त्यसपछि हामीले वहाँलाई चिठी छाडेर आयौं । वहाँले त्यस्तो अभिव्यक्ति दिनुहुन्छ भन्ने सोचेका थिएनौं । महानगरको विपक्षबाट सञ्चालित भनेर नेगेटिभ सोच दिन खोज्नुभयो, त्यो विलकुल गलत हो ।

यो अभियान त मेयरसा’पको खस्कँदो छवि सुधार गर्ने यो मौका पनि हो । यसलाई राजनीतिक हिसाबले नभएर हाम्रो सम्पत्ति रक्षाका लागि सबै लागिपर्नु पर्छ । मेयर सापको भनाइ खेदजनक छ ।

शनिबार टुँडीखेलमा कति मानिस आउलान् ?

हामीले स्वतस्फूर्त रुपमा सहभागी हुन अनुरोध गरेका छौं । जनलहर राम्रै देखिएको छ । शनिबारको कार्यक्रमका लागि ३ हजार मान्छे सहभागी हुने अपेक्षा गरेका छौं ।

अभियान कहिलेसम्म चल्छ ?

यो अभियान तबसम्म चल्छ, जबसम्म पब्लिकको पहुँचमा टुँडिखेल पुग्दैन । पहिलो चरणमा तीन महिनासम्म चल्छ । तर तीन महिनामा अभियान सकिने होइन । हामी अब नियमित जमघट गर्नेछाैं ।

जमघटको नाम ‘श्रृंखला खरिबोट’ भनेर राखेका छौं । राजा त्रिभुवनले उहाँबाट प्रजातन्त्र घोषणा गर्नु ऐतिहासिक महत्व छ । अहिले खुला भएको सैनिक मञ्च र सहिदगेटको बीचमा पहिले खरिबोट थियो । अहिले त्यो छैन । त्यही खरिबोटको नाममा हामीले श्रृंखला खरीबोट राखेका छौं ।

इतिहासमा टुँडिखेल कस्तो थियो ?

पौराणिक कुरादेखि आउँछ । नेपाल मण्डल काठमाडौं उपत्यकाका पौराणिक वस्तीहरु छन् । त्यतिबेलाका राजा महाराजाले जनताका लागि के-के चाहिन्छ भनेर बनाएका संरचनामध्ये एउटा जावलाखेल, लगनखेल, जस्तै टुँडिखेल पनि हो ।

यस्तो खुल्ला ठाउँले आकाशको पानी सोचेर जमीनभित्र जम्मा हुने र सहरभित्रको पानीको श्रोतलाई बाह्रै महिना रिचार्ज गरेर राख्ने काम गरिदिन्छ । यो काम गर्ने भनेको टुँडिखेलले नै हो ।

यो पनि पढ्नुहोस ‘खुलामञ्चमा लाज भयो, अहिले नरोके कहिले रोक्ने ?’

मूर्तबाहेक अमूर्त सम्पदाहरु पनि त्यहाँ छन् । वर्षभरिमा मनाई विभिन्न जात्राहरु त्यहाँ मनाइने चलन थियो । हरेकको आस्थासँग जोडिएको कुरा छ । गुरुमाता भनेर त्यहाँ रहेको एउटा रुखलाई भात ख्वाउने चलन छ, त्यहाँ १२०० वर्षअघि दिनदिनै खाना खुवाउने चलन थियो । पछि-पछि त्यहाँ वर्षमा एकपटक खाना खुवाइन्थ्यो ।

यति धेरै महत्व बोकेको यो ठाउँलाई जोगाउन पहिलेदेखि नै यहाँ धार्मिक सम्पदाहरु पनि बनाइएको छ । महाकांल वा पहिले शाही सैनिक जाने ठाउँमा पनि मठमिन्दर थियो । सैनिक मञ्च बनेपछि त्यहाँ सर्वसाधारणलाई जान रोक गरियोे । खुला मञ्च परिसरमा पनि मल्ल राजाहरुको धार्मिक सम्पदा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment